+
+
Shares

गोरखामा आकस्मिक बाढी, कुन–कुन क्षेत्र छन् जोखिममा ?

सरकारले सिर्दिबासदेखि आरुघाटसम्मका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ।
  • प्राधिकरणले सिर्दिबासदेखि आरुघाटसम्मका तटीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
  • मौसम विभागले आरुघाटसम्म बाढी आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमानसहित एसएमएस पठाएको छ।

२५ असोज, काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ ।

यो बाढीले तल्लो क्षेत्र आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने आशंका गरिएको छ । त्यसैले तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतिका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने जोखिम छ । त्यसैले यी क्षेत्रमा रहेका बासिन्दा सतर्क हुनुपर्ने उनले बताए ।

मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाबाट पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएस पठाइसकिएको छ । महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान छ । त्यसैले आरुघाटसम्मै सतर्क रहन आग्रह गर्दै एसएमएस पठाइएको उनले बताए ।

गोर्खाको चुमनुम्ब्री गाउँपालिका वडा नम्बर ६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको छ । बूढीगण्डकी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्ने गरेको छ ।

बाढीको कारण अहिलेसम्म खुलेको छैन । माथिल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । कतै पहिरो गएर बहाव रोकिएको र पछि बाँध फुटेर आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?