+
+
Shares

ट्रम्पले भने- युक्रेनलाई नयाँ राष्ट्रपतिको आवश्यकता छ, पुटिन शान्ति चाहन्छन्

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले नयाँ राष्ट्रपति चुन्नुपर्ने बताउँदै भोलोदिमिर जेलेन्स्कीले रुससँगको वार्ताको अवसर गुमाइरहेको आरोप लगाए।
  • जेलेन्स्कीले अमेरिकाले रुसी डिजेल खरिद प्रतिबन्ध फुकुवा गर्नु कमजोर कदम भएको भन्दै रुसलाई युद्ध जारी राख्न थप पैसा मिल्ने बताए।
  • युक्रेन र रुसले एकअर्काविरुद्ध आक्रमण तीव्र पारेका छन्, जसमा जापोरिज्जियामा २३ जनाको मृत्यु र ब्रियान्स्कमा एकजनाको मृत्यु भएको छ।

२५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार युक्रेनले नयाँ राष्ट्रपति चुन्नुपर्ने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता गर्न चाहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको अवसर गुमाइरहेको आरोप लगाए ।

ट्रम्पले शुक्रबार अमेरिकाले अब रुसबाट डिजेल खरिद गर्ने बताएलगत्तै उनको यो भनाइ आएको हो। जेलेन्स्कीले यस निर्णयको विरोध गरेका छन्। यसबाट रुसले युद्ध जारी राख्न थप पैसा पाउने उनको भनाइ छ।

ट्रम्पले युक्रेनले रुसका तेल रिफाइनरीहरूमा गरिरहेको आक्रमणको पनि आलोचना गरेका छन्। यी आक्रमणहरूले विश्वमा इन्धनको समस्या बढाउन सक्ने उनले बताए।

युक्रेनले रुसको तेलसँग सम्बन्धित सुविधाहरूलाई निसाना बनाइरहेको छ। यसले गर्दा रुसको तेलबाट हुने आम्दानी र उसको सेनासम्म इन्धन पुर्‍याउने व्यवस्थामा क्षति पुगेको छ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो। त्यसयता दुई देशबीच निरन्तर युद्ध जारी छ।

जेलेन्स्की भन्छन्- रुसले चाहेमा आजै आक्रमण रोकिन सक्छ

जेलेन्स्कीले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै रुसले युक्रेनका ऊर्जा केन्द्रहरूमा आक्रमण बन्द गरेमा युक्रेन पनि रुसका तेल रिफाइनरीहरूमा आक्रमण रोक्न तयार रहेको बताएका छन्।

उनले ऊर्जा केन्द्रहरूमाथिको आक्रमण आजैबाट रोक्न सकिने भए पनि रुसी राष्ट्रपति पुटिनले त्यस्तो नचाहेको बताए। जेलेन्स्कीका अनुसार, तनाव कम गर्न दुवै देशले एकअर्काविरुद्धको आक्रमण रोक्नुपर्छ र यसका लागि ठोस ग्यारेन्टी पनि आवश्यक छ।

युक्रेनका विदेशमन्त्री आन्द्रिय सिबिहाले पनि ट्रम्पको भनाइको विरोध गरेका छन्। उनले शनिबार राति एक्समा लेख्दै जेलेन्स्कीलाई युक्रेनी जनताको समर्थन प्राप्त रहेको र आफ्नो नेता चुन्ने अधिकार उनीहरूसँगै रहेको बताएका छन्।

अमेरिकाद्वारा रुससँग डिजेल खरिदको प्रतिबन्ध फुकुवा

इरान-अमेरिका र इजरायलको युद्धका कारण यस वर्ष इन्धनको मूल्य वृद्धि भएको छ। यसैबीच अमेरिकाले रुसी डिजेल निर्यातमा लागेको प्रतिबन्ध आगामी वर्षको अप्रिलसम्मका लागि हटाएको छ। यस निर्णयले रुसका लागि अमेरिका र अन्य देशहरूलाई डिजेल बेच्ने बाटो खुला गरेको छ।

जेलेन्स्कीले यस निर्णयलाई ‘कमजोर कदम’ भनेका छन्। रुसलाई तेल र डिजेल बेच्ने छुट मिल्दा उसको आम्दानी बढ्ने र उक्त पैसा युद्ध जारी राख्न प्रयोग हुने उनको भनाइ छ।

मियामीमा युद्ध रोक्ने वार्ता निष्कर्षविहीन

अमेरिका र युक्रेनका अधिकारीहरूबीच अक्टोबर ९ मा मियामीमा युद्ध रोक्ने विषयमा करिब ६ घण्टा वार्ता भएको थियो। तर, त्यसबाट कुनै ठोस निष्कर्ष निस्किएन। बैठकमा ट्रम्पका दूत जेरेड कुशनर र स्टिभ विटकफ पनि सहभागी थिए।

जेलेन्स्कीले युक्रेनी टोली वार्ताका लागि गए पनि त्यसपछि रुसलाई राहत दिने निर्णय गरिएको बताएका थिए। रुसलाई दबाब नदिई युद्ध अन्त्य गर्न गाह्रो हुने युक्रेनको बुझाइ छ।

रुसलाई मनाउन अमेरिकाले राखेको थियो आर्थिक प्रस्ताव

सेप्टेम्बरको अन्त्यमा संयुक्त राष्ट्रसङ्घको महासभाको बैठकका क्रममा अमेरिकाले रुससँग युद्ध रोक्ने सम्झौता गराउन केही प्रस्तावहरूमाथि छलफल गरेको थियो।

यसको बदलामा रुसलाई आर्थिक राहत दिने विकल्पहरू राखिएका थिए। यसको उद्देश्य ऊर्जासँग सम्बन्धित स्थानहरू र समुद्रमा हुने आक्रमण रोक्नु थियो।

प्रस्तावहरूमा पश्चिमी देशहरूमा जफत गरिएको रुसको सरकारी सम्पत्तिको केही हिस्सा फिर्ता गर्ने, रुसी कम्पनी ‘लुकोइल’ का केही सम्पत्तिहरू मध्यपूर्वका लगानीकर्ताहरूलाई बेच्न अनुमति दिने र बेलारुसलाई पोटास बेच्ने छुट दिने कुरा समावेश थियो।

युक्रेन यी प्रस्तावहरूको पूर्ण रूपमा विपक्षमा भने थिएन। तर, रुसले युद्ध रोक्ने सम्झौता तोडेमा त्यसको मूल्य चुकाउनुपर्ने उसले बताएको थियो। युक्रेनले रुसको जफत गरिएको सम्पत्तिबाट प्राप्त हुने रकम युक्रेनको सहयोगका लागि प्रयोग गरिनुपर्ने सुझाव पनि दिएको थियो।

रुस-युक्रेनद्वारा एकअर्काविरुद्ध आक्रमण तीव्र

युक्रेनले आइतबार रुसको भ्लादिमिर सहरमा ड्रोन आक्रमण गर्‍यो, जसले टेक कम्पनी ‘यान्डेक्स’ को डेटा सेन्टर बन्द भयो। चार दिनमा उक्त कम्पनीका केन्द्रहरूमा यो तेस्रो आक्रमण थियो।

यसले गर्दा रुसका धेरै सहरका साथै कजाखस्तान, बेलारुस र आर्मेनियामा ट्याक्सी बुकिङ र बैंकिङ सेवाहरू प्रभावित भए।

उता, युक्रेनको जापोरिज्जिया सहरमा रुसी आक्रमणमा चार बालबालिकासहित २३ जनाको मृत्यु भएको छ। ३० भन्दा बढी मानिस घाइते भएका छन्। अर्कोतर्फ, रुसको ब्रियान्स्क क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन्। (एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?