+
+
Shares
बूढीगण्डकी बाढी :

उत्तरी गोरखावासी भन्छन् – पहिले यस्तो बाढी देखेका थिएनौं

बूढीगण्डकी नदीमा यस्तो बाढी पहिलो पटक देखेको भन्दै स्थानीय गणेश कार्कीले थपे, ‘केही समय रोकिने अनि फेरि एक्कासी बाढी आउने भइरहेको छ, यस्तो बाढी जन्मेदेखि आजसम्म देखेको थिइनँ ।’

विकास मरहट्टा विकास मरहट्टा
२०८३ असोज २५ गते ९:१४

२५ असोज, गोरखा । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले उत्तरी गोरखाको सल्लेरी, बगर, घट्टेखोला लगायतका स्थानका घरहरु बगाएको छ ।

क्षतिको यकिन विवरण प्राप्त नभए पनि हालसम्म करिब ३५ भन्दा बढी घर बगाएको चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए । त्यस्तै चुरीमा गएको पहिरोले चुम्चेतमा पाँच गोठ सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।

बाढीले सल्लेरीमा निर्माणाधीन हाइड्रोमा समेत क्षति पुगेको छ । मान्वु र सोती जोड्ने मोटरेवल पुल बगाएको छ । त्यस्तै चुमनुव्री गाउँपालिका ३ नाग्चेत र सिर्दिवास तथा धार्चे गाउँपालिका ५ माछाखोला र केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरी निरीक्षक आकाश कडेलले बताए । आरुघाट गाउँपालिका २ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल समेत बाढीले बगाएको उनले जानकारी दिए ।

सो क्षेत्रका स्थानीयहरु अहिले घर छाडेर सुरक्षित स्थान खोज्दै डाँडातिर उक्लेका छन् । ‘हामी डाँडातिर उक्लेर बसेका छौ,’ जगतका स्थानीय गणेश कार्कीले भने, ‘टुलुटुल घर बगाएको हेर्ने वाहेक केही बिकल्प छैन ।’

बूढीगण्डकी नदीमा यस्तो बाढी पहिलो पटक देखेको भन्दै उनले थपे, ‘केही समय रोकिने अनि फेरि एक्कासी बाढी आउने भइरहेको छ, यस्तो बाढी जन्मेदेखि आजसम्म देखेको थिइनँ ।’

सिर्दिवासकी स्थानीय कुमारी गुरुङका अनुसार बाढी अझै रोकिएको छैन । स्थानीय त्रसित छन् । पहिरोका कारण थुनिएर स्यार खोला एक्कासी खुलेपछि बुढीगण्डकी नदीमा बाढी आएको बताइएको छ । स्यार खोला बुढीगण्डकी नदीमा जोडिने शाखा खोला हो ।

क्षतिको विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द कुमार मिश्रले बताए । हालसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?