+
+
Shares

आशिका तामाङको ‘आशिकी’ : दाम्पत्य प्रेममा चुर्लुम्मै डुबेपछि

ढाका टोपीमा ठाँटिएका थोमस शानदार शैलीमा हिँड्छन् । पृष्ठभूमिमा गीत बज्छ– ‘यो नेपाली शीर उचाली…..।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आशिका तामाङले आफ्ना श्रीमान थोमसलाई स्वागत गरेको, घुमाएको र प्रेमिल गीतहरूमा भिडियो बनाएको देखिन्छ।
  • सन् २०१२ मा जर्मनीमा उनीहरुको विवाह भएको थियो । आशिका र थोमसका दुई सन्तान छन्।

‘अशिकी’ नाम सुनिरहँदा तपाईंको स्मृतिमा बलिउड फिल्मको झल्को आयो होला । त्यसका सर्वकालीन गीतहरू सुन्दा तपाईंको मस्तिष्कमा अक्सिटोसिन अर्थात् प्रेम हर्मोन पैदा भयो होला । त्यसपछि तपाईंको बैंसालु मनमा अनेक हलचल भयो होला ।

यहाँ फिल्म र प्रेमको कुरा किन आयो ?

किनभने आशिका तामाङको जीवनचक्रमा यी दुई कुरा अभिन्न रूपमा जोडिएका छन् ।

तपाईंलाई थाहा छ ? कुनैबेलाकी हिरोइन हुन् आशिका । आर्यन सिग्देलसँग उनले स्क्रिन सेयर गरेकी छिन् । आर्यन सिग्देल को हुन् भनेर त चिनाइरहनु परेन । नेपाली सिनेमाले खोजिरहने रोमान्टिक हिरो हुन् ।

उनै आर्यनसँग अभिनित आशिकाको फिल्म हो, ‘सुश्री’ । युट्युबमा सात अक्षर राखेर खोज्नुभयो भने, सजिलै भेट्नुहुन्छ । अर्थात् राजनीतिमा आउनुअघि उनी ‘दबंग गर्ल’ थिइन् । त्यसअघि ‘हिरोइन’ । त्यसअघि ? त्यो चाहिँ दैव जानुन् ।

तर अहिले उनी घामजस्तै छर्लङ्ग छिन् । पारदर्शी, स्पष्ट र हक्की । मनमा जे आउँछ, त्यो उनको बोली वा अनुहारमा देखिन्छ । बोली वा अनुहारमा जे देखिन्छ, त्यो सोसल मिडियामा देखिन्छ ।

किनभने उनी दृश्यभाषामा अभ्यस्त पात्र पनि हुन् ।

उनै आशिका पछिल्ला दिनहरूमा भने एकदम प्रेमिल देखिएकी छिन् । तपाईंले त सोसल मिडियातिर छ्यापछ्याप्ती देख्नुभएकै होला, आशिकाको प्रेम जीवन । यस्तो लाग्छ कि भर्खर उनी माया–पिरती गाँस्दैछिन् ।

कोसँग ? यो त भनिरहनै परेन । आफ्नै जीवनसाथीसँग, जो हेर्दै भलाद्‍मी छन् । इमानदार र शान्त पनि । यो अन्तरदेशीय जोडीमा कति कुरा असमान पनि देख्नुहुन्छ होला । तर, प्रेमको रसायनले ती सब कुरा खारेज गरिदिन्छ । एउटा हिन्दी गीत नै छ:

‘ना उम्र की सीमा हो ना जन्म का हो बन्धन
जब प्यार करे कोई तो देखे केवल मन ।’

प्रेममा देखिने एउटै अजम्बरी चिज हो, मन । त्यही मनले त हो आशिका र थोमसलाई एकाकार बनाइदिएको ।

यतिबेला आशिकाले आफ्ना जीवनसाथीलाई माइतीदेशमा निम्त्याएकी रहिछन् । त्यसैले त कहिले उनी एयरपोर्टमा फूलको बुके बोकेर स्वागत गर्न पुगेकी देखिन्छिन् भने कहिले ढाका टोपी लगाइदिँदै गरेको ।

हरियो घाँसे चौर । पृष्ठभूमिमा परम्परागत घर । सेतो दौरा, कालो सुरुवाल र इस्टकोटमा ठाँटिएका थोमसलाई रातो साडीमा सजिएकी आशिकाले ढाका टोपी लगाइरहेको भिडियो राखेकी छिन् । यतिबेला पृष्ठभूमिमा गीत बज्छ–

‘अलि अलि शंका लाउने, हिँड्छौ जता भनी
राम्रो नि छौं, मिठो बोल्छौ के भर हुन्छ त नि
राम्रैले हो….’

अलि द्विअर्थी जस्तो सुनिने यो गीत थोमसले बुझे कि बुझेनन् ? थाहा छैन । तर आशिकाले उनलाई यसमा राम्ररी मोडलिङ गराएकी छिन् । कहिले लहलह काँस फुलेको ठाउँमा, कहिले धानको बाला झुलेको ठाउँमा, कहिले उकालो जंगलभित्र, कहिले रंगीन चौतारीमा ।

सम्भवतः आशिका आफ्ना श्रीमानसँग राम्रै ख्यालठट्टा गर्छिन् । पशुपतिनाथको गेटैमा उनले सयपत्री फूलको माला लगाइदिएको फोटो खिचाएकी छिन् । सो फोटोको क्याप्सनमा लेखेकी छिन्, ‘हे भोलेनाथ ! हजुरजस्तै अर्को भोलालाई हजुरको ढोकासम्म ल्याएकी छु ।’

‘दबंग गर्ल’ आशिकाका जीवनसाथी वास्तवमै ‘भोला’ देखिन्छन् । निष्कपट, सोझा र भलाद्‍मी ।

उनै भोला श्रीमानसँग यसपालि आशिकाले पारिवारिक समय बिताएकी छिन् । उनको पछिल्लो टिकटकले त्यसै भन्छ ।

‘वेलकम टु नेपाल’ भन्दै विमानस्थलमा खादा र माला बोकेर पुगेकी आशिका भन्छिन्, ‘विचरा थोमसजी दुई घण्टा अघि नै आउनुभएको रहेछ । १० बजे आइपुग्नुपर्ने मान्छे, ८ बजे ल्यान्ड हुनुभएको रहेछ ।’

त्यहाँ एक युवाले थोमसलाई देखेछन् र आशिका तामाङलाई फोन गरेछन् । आशिका भन्दै थिइन्, ‘उहाँ भाइले चाहिँ थोमसजीलाई सहयोग गर्नुभएछ । तपाईंले हजुरबा भन्दै हुनुहुन्थ्यो, खासमा चाहिँ मेरो हजबेन्ड हुन् ।’

त्यसपछि उनले आफ्ना जीवनसाथीलाई गाडीमा राखेर कतै लैजान्छिन् । दुवै एकदमै रोमान्टिक मुडमा देखिन्छन् । थोमस मख्ख छन् र मोबाइलबाट भिडियो बनाउँदैछन् । पृष्ठभूमिमा गीत बज्छ, ‘मायाले संसार थाम्दैन ….।’

त्यसपछिका दिनमा यस्ता यस्तै प्रेमिल गीतहरू राखेर आशिकाले थोमसजीलाई घुमाएको, रमाएको भिडियो राखेकी छिन् ।

‘तिमी हुन्छ जे सुकै सहुँला’, ‘माया के होला ?’, ‘माया नै माया छ’, ‘हाम्रो सानो घर होला’, ‘बादलपारि गाउँमा हामी रमायौं’ । यी प्रेममय गीतहरूमा उनी थोमसलाई नचाउने यत्न पनि गर्छिन् ।

उनी त हिरोइन परिन्, जसको शरीरका अवयव स्वाभाविक नृत्यमय हुन्छन् । तर, थोमस ? न उनले नेपाली गीत बुझे होलान्, न नाच्ने मेसो पाए होलान् ।

एक अर्को भिडियोमा चाहिँ आशिकाले थोमसलाई आफ्नो चालमा चाल मिलाएर फटाफट हिँडाएकी छिन् । ढाका टोपीमा ठाँटिएका थोमस शानदार शैलीमा हिँड्छन् । पृष्ठभूमिमा गीत बज्छ, ‘यो नेपाली शीर उचाली…..।’

थोमसजीसँग आशिकाको विवाह सन् २०१२ मा जर्मनीमा भएको रहेछ । थोमस जर्मन नागरिक हुन् । उनीहरूको कोखबाट दुई सन्तान जन्मिएका छन्, आना र आरोन ।

थोमसलाई आशिकाले कति माया गर्छिन् ?

त्यो त भनिरहनै पर्दैन । किनभने आशिकाको मन कोमल, प्रेमिल र करुणाले हराभरा छ । कुनैबेला दशैंमा काटिने खसीको पीडाबोध गरेर रोएकी उनी जेनजी आन्दोलनपछि घाइतेहरूकी प्यारी दिदी बनिन् । घाइते भाइबहिनीहरूको कोठा–कोठामा पुगिन् । यसो भन्दै, ‘भाइ…. कान्छा …।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?