+
+
Shares

दसैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन तयारी अवस्थामा विद्युत् प्राधिकरण

दसैंको समयमा विद्युत् आपूर्ति सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापन थप प्रभावकारी बनाउन समेत निर्देशन दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले दसैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन देशभरका वितरण केन्द्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
  • कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले अवरोध भए तत्काल मर्मतसम्भार गरी सेवा सुरु गर्न प्राविधिक टोली तयारीमा राख्न र बाँकी निरीक्षण तथा मर्मतसम्भार पूरा गर्न भनेका छन् ।
  • प्राधिकरणले उपभोक्तालाई विद्युतीय उपकरण र तार जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र समस्या भए नजिकको वितरण केन्द्र वा ‘नो लाइट’ सेवामा सम्पर्क गर्न आग्रह गरेको छ ।

३० असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दसैंमा विद्युत आपूर्ति अवरुद्ध हुन नदिने गरी तयारी थालेको छ ।

उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरिका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन प्राधिकरणले निर्देशन दिएको छ ।

दसैंका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपत प्रकृति फरक हुने भएकाले विद्युत् प्रणाली सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ तथा वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख राजन ढकालले आज प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय वितरण केन्द्रका प्रमुखहरूसँग भर्चुअल बैठक गरी दसैं अवधिभरि विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न निर्देशन दिएका हुन् ।

कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा अवरोध भइहाले तत्काल मर्मतसम्भार गरी सेवा सुरु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।

प्रसारण लाइन तथा वितरण प्रणाली निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेको भए तत्काल सम्पन्न गरी विद्युत् आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्नसमेत निर्देशन दिए ।

दसैंको समयमा विद्युत् आपूर्ति सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापन थप प्रभावकारी बनाउन समेत निर्देशन दिइएको छ ।

विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल प्राविधिक टोली परिचालन गरी यथाशीघ्र सेवा सुरु गर्ने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरूलाई भनिएको छ ।

प्राधिकरणले विद्युत् माग तथा आपूर्ति अवस्था निरन्तर निगरानी गर्दै विद्युत् प्रणालीमा समस्या आउन नदिन आवश्यक सतर्कता अपनाएको छ ।

दसैंभरि विद्युत् आपूर्ति नियमित बनाउन सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई आवश्यक समन्वय र तयारी सहित परिचालन व्यवस्था गरिएको छ ।

यसैगरी चाडपर्वका समयमा विद्युत् सुरक्षित प्रयोग गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैं मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र गराउन प्राधिकरणले अनुरोध गरेको छ ।

विद्युत् आपूर्ति सम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित ‘नो लाइट’ सेवामा सम्पर्क गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?