+
+
Shares

टाइटानिकमा सवार एकमात्र अश्वेत यात्रीको कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाइटानिकको पहिलो यात्रामा सवार जोसेफ फिलिप लेमर्सियर लारोश एकमात्र अश्वेत यात्री थिए र दुर्घटनामा उनको मृत्यु भयो ।
  • लिभरपुलको मेरिटाइम म्युजियम भ्रमणका क्रममा डाक्टर कारलेट नोरवुडलले लारोशको कथा पत्ता लगाइन् र पछि उनको जीवनमाथि नाटक लेखिन् ।
  • लारोश, पत्नी जुलियट र दुई छोरीसहित हाइटी फर्कने क्रममा सेकेन्ड क्लास टिकट लिएर टाइटानिक चढेका थिए ।
  • १४ अप्रिल १९१२ को रात आइसबर्गसँग ठोक्किएपछि लारोशले परिवारलाई लाइफबोटसम्म पुर्‍याए, तर उनको शव भेटिएन ।

१० अप्रिल १९१२ । त्यो दिन आफ्नो समयकै सबैभन्दा आधुनिक जहाज पहिलो यात्राका लागि इङ्गल्याण्डको साउथह्याम्प्टनबाट निस्किँदै थियो । न्युयोर्क गइरहेको त्यस आरएमएस टाइटानिक जहाजमा २ हजार २०१ जना सवार थिए । चार दिनपछि उत्तरी आन्ध्र महासागरमा यो जहाज एउटा आइसबर्गसँग ठोक्कियो । त्यसपछि हृदयविदारक घटना भयो ।

टाइटानिकको यो कथा अनगिन्ती पटक र धेरै तरिकाले भनिसकिएको छ । त्यस समयको अखबारका रिपोर्टदेखि लियोनार्डो डिकार्प्रियोको हलिउड फिल्मसम्म – त्यस दुर्घटनामाथि धेरै कुरा लेखिएको र देखाइएको छ ।

तर यस दुर्घटनामा ज्यान गुमाउने करिब १५०० व्यक्तिहरूमध्ये एक व्यक्तिको कथा लामो समयसम्म लगभग ओझेलमा पर्यो । तर एक जना समाजशास्त्री लिभरपुलको एउटा संग्रहालय पुगिन् । र उनको नजर यो कथामा पर्‍यो ।

को थिए ती यात्री, कहाँ जाँदै थिए ?

उनको नाम जोसेफ फिलिप लेमर्सियर लारोश थियो । टाइटानिकको पहिलो यात्रामा सवार यात्रीहरूमध्ये उनी एकमात्र अश्वेत व्यक्ति थिए । यो कुरालाई प्रमाणित गर्ने प्रमाणका कागजातहरू पाइन्छ ।

लारोशको जन्म १८८६ मा हाइटीको क्याप हाइतीयनमा भएको थियो । उनी हाइटीका पहिलो सम्राट जाँ जाक देसालिनका पनाति थिए । देसालिनले फ्रान्सेली औपनिवेशिक शासनविरुद्ध हाइटीको स्वतन्त्रताको लडाइँको नेतृत्व गरेका थिए ।

लारोश प्रतिष्ठित र सम्पन्न परिवारमा हुर्किए । १५ वर्षको उमेरमा उनी एक शिक्षकसँग फ्रान्स पुगे । उनको उद्देश्य त्यहाँको एक विश्वविद्यालयमा इन्जिनियरिङको अध्ययन गर्ने थियो ।

फ्रान्स पुगेको करिब ११ वर्षपछि टाइटानिक दुर्घटनामा लारोशको मृत्यु भयो ।

कसरी थाहा भयो उनको कथा ?

लामो समयसम्म ओझेलमा परेको लारोशको कथा बाहिर ल्याउने श्रेय डाक्टर कारलेट नोरवुडललाई जान्छ । उनी एक दिन लिभरपुलको मेरिटाइम म्युजियमको भ्रमणको क्रममा यो कुरा थाहा पाएकी हुन् ।

वाशिंगटन डीसीमा जन्मिएकी नोरवुडले त्यसपछि लारोशको जीवनमाथि काम सुरु गरिन् । दुई वर्षअघि उनले लारोशमाथि एक नाटक लेखिन् र त्यसको निर्देशन पनि गरिन् ।

नोरवुडका अनुसार लारोश १९०१ मा फ्रान्स पुगेका थिए । त्यसबेला फ्रान्सेली उपनिवेशहरूमा दासता अन्त्य भएको करिब ५० वर्ष भएको थियो । फ्रान्स पुगेपछि पेरिस नजिकैको बोभेमा विश्वविद्यालयको अध्ययन गरे र इन्जिनियर बने ।

१९०० को दशकको सुरुमा फ्रान्समा कुनै पनि अश्वेत व्यक्तिले ठूलै भेदभाव खेप्नुपर्थ्यो । त्यसबेला फ्रान्समा मानिसहरू ‘अश्वेत मानिसहरूको पुच्छर हुन्छ’ भन्ने कुरा साँच्चै विश्वास गर्थे ।

यही कारण उनले त्यहाँ धेरै तनाव र भेदभावको सामना गर्नुपर्‍यो ।

त्यसैक्रममा उनको भेट जुलियट लाफार्ग नामकी केटीसँग भयो । जुलियट एक श्वेत फ्रान्सेली महिला थिइन् । पछि उनीहरूले विवाह गरे । त्यसबेला कुनै अश्वेत व्यक्तिसँग श्वेत व्यक्तिले प्रेम सम्बन्ध राख्नु सामान्य कुरो थिएन । तर, जुलियटलाई त्यो बेला उनको परिवारले पनि साथ दिएको थियो ।

नश्लभेददेखि आजित थिए 

फ्रान्समै हुँदा उनीहरूबाट दुई छोरीहरू जन्मिए । उनीहरूको नाम सिमोन मारी ऐन आन्द्रे लारोश र लुइज लारोश थियो । सिमोनको जन्म १९०९ र लुइजको जन्म १९१० मा भएको थियो ।

यद्यपि, केही समयपछि नै लारोशले आफ्नो परिवारसहित आफ्नै देश हाइटी फर्कने योजना बनाए । यसको प्रमुख कारण- नश्लभेद थियो । अश्वेत भएकै कारण लारोशले डिग्री हासिल गरे पनि जागिर पाउन मुस्किल भएको थियो ।

उनले जागिर पाए पनि प्रायः जागिरबाट निकालिन्थ्यो । जागिरका क्रममा पनि नश्लीय दुर्व्यवहारको सामना गर्नुपर्थ्यो ।

उनको परिवारले १९१२ को अन्त्यतिर फ्रान्स छाड्ने योजना बनाएको थियो । त्यसबेला चाँडै नै उनीहरूले आफ्नो तेस्रो सन्तानलाई जन्म दिनेवाला थिए । उनी तत्कालै स्वदेश फर्कन चाहन्थे भने जुलियट फ्रान्समै बस्न चाहन्थिन् ।

त्यसबेला हाइटीका राष्ट्रपति तथा जोसेफका काका सिनसिनाटस लेकोन्तले उनीका लागि गणित शिक्षकको जागिर मिलाइदिए । त्यसपछि भने उनीहरू सपरिवार हाइटी फर्कने गरे ।

यो परिवार टाइटानिकमा कसरी पुग्यो ?

फ्रान्सदेखि निस्कने भएपछि लारोशकी आमाले परिवारका लागि एसएस फ्रान्स जहाजको फस्ट क्लास टिकट पठाएकी थिइन् । तर, एसएस फ्रान्समा बच्चाहरूले उनीहरूसँगै बसेर खाना खान नपाउने नियम थियो । त्यसपछि उनीहरूले फस्ट क्लासको त्यो टिकट साटेर टाइटानिकको सेकेन्ड क्लासको टिकट लिए ।

उनीहरू फ्रान्सको शेर्बुर्ग बन्दरगाहदेखि चढ्नु पर्ने थियो । तर टाइटानिक ठूलो भएका कारण बन्दरगाहसम्म आउन सकेन । त्यसैले शेर्बुर्गबाट सवार हुने यात्रीहरूलाई एसएस नोम्याडिक नामको सानो जहाजबाट टाइटानिकसम्म पुर्‍याइएको थियो ।

त्यसबेला त्यो सानो जहाजमा समस्या आएर उनीहरू झन्डै टाइटानिकदेखि छुटेका थिए ।

टाइटानिक डुबेको रात के भयो ?

१४ अप्रिल १९१२ को रात करिब ११ बजेर ४० मिनेट जाँदा टाइटानिक आइसबर्गमा ठोक्कियो । त्यसबेला उनीहरू सुतिरहेका थिए ।

लारोश हतारहतार आफ्नी श्रीमती जुलियटलाई उठाए । दुवैले केही मूल्यवान सामानहरू जम्मा गरे । सुतिरहेका छोरीहरूलाई काखमा बोकेर जहाजको सबैभन्दा माथिल्लो डेकमा पुगे ।

बिहान हुँदासम्म उनले जुलियट र दुवै बच्चाहरूलाई लाइफबोट भएको ठाउँसम्म पुर्‍याए ।

तर त्यसपछि लारोशलाई के भयो ? यो कहिल्यै पत्ता लागेन । यतिसम्म कि उनको लाश समेत भेटिएन ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?