अमेरिकाका चर्चित व्यवसायी इलन मस्कले भारतमा स्टारलिंकको प्रवेशमा रोक लगाइएको आरोप लगाएका छन्। इलन मस्कले मुकेश अम्बानीमाथि कटाक्ष गर्दै उनलाई प्रधानमन्त्री अम्बानीसमेत भनेका छन्।
इलन मस्कले भारतमा स्टारलिंकलाई निष्पक्ष प्रतिस्पर्धाको अनुमति दिइने वा नदिइने भनी प्रश्नसमेत गरेका छन्। त्यसपछि रिलायन्स इन्डस्ट्रिजले शुक्रबार आधिकारिक वक्तव्य जारी गर्दै आफ्नो पक्ष स्पष्ट पारेको छ। रिलायन्स इन्डस्ट्रिजले आफूहरू प्रतिस्पर्धाबाट कहिल्यै नडराउने बताएको छ।
रिलायन्सले भनेको छ, ‘हर भारतीय कम्पनीजस्तै, रिलायन्स पनि त्यस्तो देशमा अगाडि बढेको छ, जहाँ स्वदेशी र विदेशी लगानीका साथै नयाँ विचारहरूको स्वागत गरिन्छ। विशेष गरेर त्यस्ता कामहरूको, जसले मानिसहरूको जीवनलाई राम्रो बनाउँछन् ।’
रिलायन्सले थप भनेको छ, ‘यो स्वतन्त्रता कानुनका नियमहरूमा टिकेको छ। भारत सरकारले भनेको छ कि हरेक आवेदन दिने व्यक्तिका लागि एउटै किसिमको प्रक्रिया अपनाइन्छ, चाहे त्यो भारतीय होस् वा विदेशी। जियोको आफ्नै स्याटेलाइट सेवाहरूलाई पनि अहिले स्वीकृति पाउन बाँकी छ।’
कम्पनीका अनुसार रिलायन्सले कहिल्यै प्रतिस्पर्धाबाट डर महसुस गरेको छैन। ग्राहकलाई कसले सबैभन्दा राम्रो सेवा दिन्छ भन्ने कुरालाई कम्पनीले मुख्य कसौटी मानेको छ।
अम्बानीका अनुसार, जियोले सन् २०१६ मा भारतको टेलिकम बजारमा प्रवेश गरेको थियो। त्यसबेला जियोसँग एक जना पनि ग्राहक थिएनन्। १० वर्षमा जियोले ५३ करोडभन्दा बढी ग्राहकको विश्वास जितेको छ। जियोले भारतीयहरूलाई विश्वकै उत्कृष्ट डिजिटल ढाँचा र सबैभन्दा सस्तो डाटा उपलब्ध गराएको छ।
रिलायन्सले स्टारलिंकसहित स्याटेलाइट सञ्चारको क्षेत्रमा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ।
प्रतिक्रिया 4