+
+
Shares
दसैं विशेष :

कहिल्यै सुध्रिएनन् राजमार्गका होटल, यात्रुलाई खुवाइँदै म्याद गुज्रेका खाना र अखाद्य रङ

लामो दुरीको यात्रामा निस्किएका यात्रुले राजमार्गमा भोक मेट्न गाडी चालकले जहाँ गाडी रोक्छन्, त्यहीँ खानुपर्ने बाध्यता छ । यात्रुसँग विकल्प हुँदैन, किनभने अधिकांश गाडी रोक्ने स्थानमा यात्रुले चाहेजस्तो सफा र स्वच्छ खाना दिने अन्य होटल नै हुँदैनन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ असोज २९ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङ र चितवनका राजमार्ग होटलमा अनुगमन गर्दा अखाद्य रङ, म्याद गुज्रेका पेय पदार्थ र अत्यधिक तताइएको तेल फेला पारेको छ ।
  • विभागले १७ होटल स्तरीकरण गर्दा दुई वटाले हरियो स्टिकर, एक वटाले सन्तोषजनक र बाँकी १४ ले पहेँलो स्टिकर पाएका छन् ।
  • यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी चालकलाई हरियो स्टिकर टाँसिएका होटलमा मात्र गाडी रोक्न निर्देशन दिँदै गुणस्तरहीन खाना भेटिए कडा कारबाही हुने चेतावनी दिएको छ ।

२९ असोज, काठमाडौं । दसैं रमझम सुरु भइसक्यो । दसैंलगत्तै तिहार र त्यसपछि छठ पनि आइहाल्छ । यतिबेला सहरबाट गाउँ फर्किनेको लर्को छ । रोजगारी, अध्ययन वा अन्य सिलसिलामा काठमाडौं उपत्यका सहित देशका प्रमुख सहरमा रहेका लाखौं नागरिक यतिबेला आफ्नो थातथलो फर्किरहेका छन् ।

काठमाडौं उपत्यकाबाट मात्रै दसैं अवधिमा करिब १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान छ । तर, घर फर्किरहेका यात्रुको यात्रा भने सधैं झैं यसपालि पनि राजमार्गका होटलको चरम लापरबाही र ठगीका कारण सास्तीपूर्ण बनिरहेको छ ।

चाडपर्वको समयमा राजमार्गमा सवारीसाधनको चाप र यात्रु संख्या निकै बाक्लिन्छ । लामो दुरीको यात्रामा निस्किएका यात्रुले राजमार्गमा भोक मेट्न गाडी चालकले जहाँ गाडी रोक्छन्, त्यहीँ खानुपर्ने बाध्यता छ । यात्रुसँग विकल्प हुँदैन, किनभने अधिकांश गाडी रोक्ने स्थानमा यात्रुले चाहेजस्तो सफा र स्वच्छ खाना दिने अन्य होटल नै हुँदैनन् ।

यही ‘बाध्यताको बजार’ अर्थात् ‘क्याप्टिभ मार्केट’ को फाइदा उठाउँदै राजमार्गका होटल तथा खाजा पसलहरूले यात्रुमाथि चरम आर्थिक शोषण र स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका छन् ।

सवारी चालक र होटल साहुबीचको अघोषित कमिसनको जालोका कारण यात्रुहरू बासी, सडेगलेको, झिँगा भन्केको र अत्यधिक मूल्यको अखाद्य वस्तु खान विवश छन् ।

यस्ता गुणस्तरहीन र अखाद्य खानेकुरा खाएर गन्तव्य नपुग्दै यात्रु बिरामी पर्ने, फुड पोइजनिङ हुने र अस्पताल नै भर्ना हुनुपर्ने घटना नौला होइनन् । बर्सेनि यस्ता गुनासा आउँछन्, तर राजमार्गका होटल कहिल्यै सुध्रिँदैनन् ।

यतिबेला सरकारले राजमार्ग लक्षित अनुगमनलाई तीव्रता दिएको बताएको छ । तर, वर्षभरि चुपचाप बस्ने र चाडपर्व आएपछि मात्रै ‘स्टन्ट’ का रूपमा गरिने यस्ता अनुगमनले दीर्घकालीन समाधान दिन नसकेको सरोकारवाला बताउँछन् ।

यद्यपि, हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेर जारी गरेको प्रविवेदनले नै देखाउँछ, महँगो तिरेर उपभोक्ता गुणस्तरहीन र दूषित खानेकुरा खान बाध्य छन् ।

के–के भेटिए राजमार्गका होटलमा ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं डिभिजनको संयुक्त टोलीले २५ र २६ असोजमा धादिङ र चितवनस्थित राजमार्गका होटल तथा रेस्टुरेन्टमा मोबाइल खाद्य प्रयोगशाला भ्यानसहित अनुगमन गरेको थियो ।

अनुगमनमा यात्रुलाई खुवाउने खानामा अखाद्य रङ, म्याद गुज्रेका पेय पदार्थ र अत्यधिक तताएर विषसरह बनिसकेको खानेतेल प्रयोग भइरहेको पाइएको थियो ।

विभागको संयुक्त निरीक्षण विवरण अनुसार चितवन मुग्लिनस्थित साधु मिष्ठान्न मारवाडी शाकाहारी होटलमा जेरी तार्न अखाद्य रङ प्रयोग गरिएको पाइएपछि एक किलो जेरी र अखाद्य रङ जफत गरी नष्ट गरिएको छ । सोही होटलको भान्सा परिसरमा हाइड्रो बोतल समेत फेला परेको थियो ।

यस्तै मुग्लिनकै होटल वैष्णवमा सरसफाइको अवस्था सामान्य रहे पनि तेलको टीपीएम मापन गर्दा २६.५ प्रतिशत भेटियो, जुन मानव स्वास्थ्यका लागि गम्भीर हानिकारक हो । मापदण्ड प्रतिकूल रहेको उक्त १ लिटर तेल नष्ट गरी थप अनुसन्धानका लागि पानीको नमुना संकलन गरिएको छ ।

मुग्लिनमै रहेको त्रिमूर्ति खाजा घरमा त पुरी पकाउने तेलको टीपीएम मापन गर्दा झनै डरलाग्दो अर्थात् ३४ प्रतिशत पाइएको छ ।

यसरी पटक–पटक तताएको तेलमा क्यान्सरजन्य तत्त्व (कार्सिनोजेनिक) विकास हुने स्वास्थ्य विज्ञ बताउँछन् । उक्त होटलबाट २ लिटर तेल नष्ट गरिएको छ । मुग्लिनकै न्यु रामायण होटल मारवाडी शुद्ध शाकाहारी भोजनालयमा फ्रिजको सरसफाइ सन्तोषजनक नभएको र भागिरथ होटलमा फ्रिजमा खाद्य पदार्थ नछोपी भण्डारण गरेको पाइएको छ ।

यस्तै न्यु भागिरथ मारवाडी भोजनालयलाई भने क्लिनिङ एजेन्ट र किरा मार्ने विषादीजस्ता रासायनिक पदार्थ खाद्य पदार्थमा सङ्क्रमण नहुने गरी छुट्टै भण्डारण गर्न निर्देशन दिइएको छ ।

धादिङ धुनिबेँसी–९ स्थित ट्रान्जिट हाउस रेस्टुरेन्टमा म्याद गुज्रेका मिरिन्डा र माउन्टेन डिउका ५४ वटा बोतल फेला परे, जसलाई टोलीले तत्काल नष्ट गरेको छ ।

धादिङकै गुरुङ रेस्टुरेन्ट एन्ड मल्टिप्लाई बिजनेसमा भान्साभित्र १ सय ग्रामका ४ थान कृत्रिम खाद्य रङ फेला परेपछि नष्ट गरिएको छ । उक्त रेस्टुरेन्टमा काँचो र पाकेको, तथा शाकाहारी र मांशाहारी खाना एकै ठाउँमा भण्डारण गरेको समेत भेटियो ।

यस्तै चितवन भरतपुर–२९ को सागर होटलमा भित्ता र भुइँको ढलान फुटेको, म्याद गुज्रेका चिजबल (७४ थान) र पेप्सीकोला (२ थान) फेला परेको छ । सोही स्थानको नमस्ते खाजाघरमा म्याद गुज्रेका कुरकुरे र लेजका ४९ प्याकेट जफत गरी नष्ट गरिएको छ ।

यसैगरी धादिङकै हाइवे किड्स फास्ट फुड एन्ड रेस्टुरेन्टमा बुफे सिस्टममा तापक्रम सन्तुलन नभएको, हाइवे रेस्ट सेन्टरमा फ्रिजको ढोका बिग्रिएको र क्याफे हिमालय क्रिमा कफीमा म्याद गुज्रिएको एक लिटर किवी फ्रुट क्रस फेला परेको छ ।

यी १५ होटल त केवल प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । अनुगमन टोली नपुगेका सयौँ होटलमा यात्रुहरू दैनिक यस्तै विषतुल्य खाना खान बाध्य छन् ।

किन सुध्रिँदैनन् होटल ?

बर्सेनि अनुगमन हुने तर होटलहरू कहिल्यै नसुध्रिने, सधैं उस्तै कैफियत किन भेटिन्छन् ? यो प्रश्नमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण नियमनकारी निकायको संरचनागत कमजोरी र स्थानीय तहको अक्षमतालाई दोष दिन्छन् ।

‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम होटलहरूको अनुगमन, निरीक्षण, स्तरीकरण र दर्ता गर्ने जिम्मेवारी स्थानीय तहलाई धेरै दिइएको छ,’ महानिर्देशक कर्ण भन्छन्, ‘तर, स्थानीय तहमा पर्याप्त क्षमता नहुँदाखेरिको अवस्थामा हामीले संघीय सरकारका तर्फबाट हेरिदिनुपर्ने बाध्यता छ, हामीसँग पनि जनशक्ति अभाव छ, ७७ जिल्लामा पुग्न सकिरहेका छैनौं, तै पनि अहिले चाडपर्व लक्षित गर्दै राजमार्गका होटलहरूमा हामीले विशेष ध्यान केन्द्रित गरेका छौं ।’

महानिर्देशक कर्णका अनुसार राजमार्गमा यात्रुले राम्रो, सुरक्षित र स्वस्थकर खाना पाउन सकुन् र सवारीसाधनले त्यस्तै होटलमा मात्र गाडी रोकुन् भन्ने उद्देश्यले विभागले वर्गीकरण (स्तरीकरण) को अभियान चलाएको छ ।

‘हामीले एउटा टोली खटाएर मोबाइल भ्यानसहित खाद्यवस्तु जाँच्ने र सुधार गर्ने काम गरिरहेका छौं, धादिङ र चितवनका होटलहरूको खाद्य स्वच्छताका आधारमा वर्गीकरण गरेर स्टिकर टाँस्ने काम भइरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘यात्रुलाई पनि मेरो अनुरोध छ जुन होटलमा हरियो वा पहेँलो स्टिकर (ए, बी, सी, डी ग्रेडिङ) टाँसिएको छ, त्यहाँ मात्रै उपभोग गरिदिनुहोला ।’

विभागले कैफियत भेटिएमा पहिलो चरणमा सचेत गराउने, यदि दोस्रो पटक पनि त्यही गल्ती दोहोर्‍याएको पाइयो भने खाद्य स्वच्छता गुणस्तर ऐन बमोजिम मुद्दा दायर गर्ने गर्दै आएको उनको भनाइ छ ।

‘दूषित खाद्यवस्तु भए न्यूनतम ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिबाना र ६ महिनादेखि ३ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ,’ उनी भन्छन्, ‘हामी होटल बन्द गर्नेसम्मको कारबाही गर्छौं ।’

उनका अनुसार विभागमा हाल जनशक्ति अभाव रहेको र ओएनएम (संगठन तथा व्यवस्थापन) सर्वेक्षण मार्फत आवश्यक जनशक्ति थप्ने प्रस्ताव तयार भइरहेको छ ।

सवारी चालकलाई यातायात विभागको चेतावनी

राजमार्गका होटलहरूको यो मनपरीतन्त्रमा यातायात व्यवसायी र सवारी चालकको ठूलो हात छ । यात्रुलाई गुणस्तरहीन खाना खुवाएर आफूले कमिसन र सित्तैँमा खान–बस्न पाउने लोभमा चालकहरूले जानाजान यस्ता होटलमा गाडी रोक्ने गर्छन् ।

यसपालि भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले चेतावनी दिँदै सूचना जारी गरेको छ ।

विभागका निर्देशक मणिराम भुसालले सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुका लागि रोकिने होटल/रेस्टुरेन्टमा सरसफाइको कमी, बासी, झिँगा भन्केका र न्यून गुणस्तरका खाना उपलब्ध गराउने र अत्यधिक मूल्य लिएको भन्दै व्यापक जनगुनासो आएको बताएका छन् ।

यातायात विभागले सवारी चालकलाई सम्भव भएसम्म खाद्य प्रविधि विभागको हरियो स्टिकर टाँसिएको होटलमा मात्र गाडी रोक्न उच्च प्राथमिकता दिन निर्देशन दिएको छ ।

‘होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने न्यून गुणस्तरको खानाका कारण यात्रु बिरामी भएको पाइए सम्बन्धित सवारी चालक र होटल/रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ,’ यातायात विभागले जारी गरेको सूचनामा छ ।

विभागले यात्रुहरूलाई पनि सचेत रहन आग्रह गरेको छ । यदि ठगी भएको वा गुणस्तरमा कमी भएको पाइए नेपाल प्रहरीको टोल फ्री नम्बर १००, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी वा नजिकको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा सम्पर्क गरी जानकारी गराउन यात्रुलाई अनुरोध गरिएको छ ।

अनुगमन देखावटी भयो : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मीहरू भने दशकौंसम्म राजमार्गका होटल सुधार नहुनुमा सरकार नै दोषी रहेको बताउँछन् । राजमार्गमा दसैंतिर मात्रै हुने अनुगमन देखावटी मात्रै भएको र यसले व्यवसायीमा ठग्ने प्रवृत्ति बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाको आरोप छ ।

‘खासगरी प्रत्येक वर्ष विभिन्न निकायले राजमार्गका होटलमा स्वच्छ खाना भएन, बासी सडेगलेका खाना बेचियो, मूल्यसूची भएन भनेर कारबाही गर्ने भन्छन्,’ अधिकारकर्मी तिमल्सिना भन्छन्, ‘तर, यो दसौं वर्षदेखि उठिरहेको विषय हो, अहिलेसम्म राजमार्गका होटल सुध्रिएका छैनन्, जति गफ लगाए पनि न त्यहाँ मूल्यसूची हुन्छ, न गुणस्तर कायम हुन्छ, न उपभोक्ताले राम्रोसँग खान पाएका छन् ।’

तिमल्सिनाका अनुसार यो चाडपर्वमा गरिने अनुगमन केवल कर्मकाण्डी मात्र हो । ‘चाडपर्वमा गएर गरिने अनुगमन एउटा स्टन्ट मात्रै हो, एउटा मौसमी अनुगमन हो,’ उनले भने, ‘किनभने ३ सय ६५ दिन नै मान्छे हिँड्छन्, ३ सय ६५ दिन नै राजमार्गका होटलले व्यापार गर्छन्, उनीहरूको भान्सा के छ ? कस्तो कच्चापदार्थ प्रयोग गरिएको छ ? त्यहाँ भान्सामा प्रयोग गर्ने व्यक्तिले एप्रोन लगाएका छन् कि छैनन् ? सरसफाइको सामान्य प्रक्रिया पूरा गरिएको छ कि छैन ? खोज्नु पर्दैन ?’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्टिकर टाँस्ने भने पनि त्यो प्रभावकारी नभएको उनको तर्क छ । ‘विभागले स्टिकर टाँस्ने नियम त ल्यायो तर नियमन दिन सकेको छैन, स्टिकर टाँसिसकेपछि त्यसको निरन्तर अनुगमन गर्ने, भान्सामा कस्तो कच्चापदार्थ प्रयोग भएको छ भनेर हेर्ने काम भएको छैन,’ तिमल्सिनाले थपे ।

संविधानको धारा ४४ ले दिएको उपभोक्ताको मौलिक हक, गुणस्तरीय वस्तु र सेवा उपभोग गर्न पाउने अधिकार कार्यान्वयन गर्नका निमित्त ३ सय ६५ दिन चौबिसै घण्टा विशेष संयन्त्र मार्फत, स्थायी संयन्त्र मार्फत अनुगमन र नियमन प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

धादिङका राजमार्ग लक्षित १७ होटल स्तरीकरण, १४ लाई पहेँलो स्टिकर, २ मात्र उत्तम

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु लक्षित गरी सञ्चालनमा रहेका धादिङका राजमार्ग छेउका होटल तथा रेस्टुरेन्ट अनुगमन र स्तरीकरण गरिएको छ ।

यात्रुलाई खाजा र खाना खुवाउने क्रममा होटलले सरसफाइमा ध्यान नदिएको, बासी तथा झिँगा भन्केका न्यून गुणस्तरका खाना उपलब्ध गराएको र अत्यधिक मूल्य असुल गर्ने गरेको भन्ने जनगुनासो बढेपछि सरकारले अनुगमन गरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङको थाक्रे, धुनिबेँसी र गल्छी क्षेत्रमा अवस्थित १७ होटल तथा रेस्टुरेन्ट स्तरीकरण गरेको छ ।

विभाग अनुगमन टोलीले गरेको स्तरीकरण अनुसार जम्मा दुई वटा होटलले मात्र ‘उत्तम’ स्तर प्राप्त गरेका छन् । गल्छी गाउँपालिका–४ मा रहेको ट्रिपल क्राउन रिसोर्ट प्रालि र धुनिबेँसी–१ मा रहेको ट्रान्जिट हाउस रेस्टुरेन्ट प्रालिले उत्तम स्तर कायम गर्दै ‘२ तारा सहितको हरियो स्टिकर (बी)’ पाएका छन् ।

यसैगरी थाक्रे–२ मा रहेको न्यु काष्ठमण्डप होटलले ‘सन्तोषजनक’ स्तर कायम गरी ‘१ तारा सहितको हरियो स्टिकर (सी)’ प्राप्त गरेको छ ।

अनुगमन गरिएकामध्ये अधिकांश अर्थात् १४ होटल तथा रेस्टुरेन्टको अवस्था भने ‘सामान्य’ मात्र पाइएको छ । सामान्य स्तर पाउने सबै होटल तथा रेस्टुरेन्टलाई विभागले ‘पहेँलो स्टिकर (डी)’ प्रदान गरेको छ ।

यसरी पहेँलो स्टिकर पाउनेमा थाक्रे–१ का होटल न्यु नमस्ते नेपाल एन्ड कोल्ड स्टोर, कान्तिपुर होटल एन्ड लज र न्यु पाथीभरा होटल छन् ।

त्यसैगरी थाक्रे–२ को होटल सयपत्री, थाक्रे–६ का दिवासी कोल्ड स्टोर र श्री अन्नपूर्ण होटल तथा थाक्रे–८ का रिया होटल र न्यु सुपा देउराली होटलले पनि सामान्य स्तरको पहेँलो स्टिकर पाएका छन् ।

धुनिबेँसी र गल्छी क्षेत्रमा रहेका अन्य विभिन्न होटलको अवस्था पनि सामान्य नै पाइएको छ । धुनिबेँसी–६ को थकाली भान्सा घर, धुनिबेसी–१ का हाइवे ब्रेक प्वाइन्ट कोल्ड स्टोर, हाइवे किङ फास्टफुड एन्ड रेस्टुरेन्ट र न्यु पाण्डे खाजा घर एन्ड लज तथा धुनिबेँसीमै रहेको न्यु आँधीखोला होटलले पहेँलो स्टिकर प्राप्त गरेका छन् ।

यसका साथै गल्छी–६ को जुनतारा रेस्टुरेन्ट एन्ड लजले पनि सामान्य स्तर प्राप्त गर्दै पहेँलो स्टिकर पाएको विभागले जनाएको छ ।

राजमार्गका होटलमा यात्रु ठगिने र अस्वस्थकर खाना खान बाध्य हुने गुनासो बढिरहेको समयमा विभागले गरेको यस अनुगमन र लोगो स्तरीकरणले खाद्य स्वच्छता र गुणस्तर कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?