+
+
Shares

विराटनगरको ‘मिथिला थाली’ मा अखाद्य रङ र म्याद गुज्रेको खाना फेला

झापामा करिब ५ लाखको गुणस्तरहीन जुस नष्ट

‘मिथिला थाली विराटनगर प्रालि’ ले मिठाई बनाउन अखाद्य वस्तु हाइड्रो र कृत्रिम अखाद्य रङ प्रयोग गर्ने गरेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मापदण्ड विपरीत पेय पदार्थ उत्पादन गर्ने झापाको फ्रुट एग्रो प्रोडक्ट प्रालिको पेय पदार्थ नष्ट गरेको छ ।
  • विराटनगरस्थित मिथिला थाली रेस्टुरेन्टमा अखाद्य रसायन, कृत्रिम रङ र म्याद गुज्रेका खाद्यसामग्री भेटिएपछि अनुगमन टोलीले ती सामग्री जफत गरी नष्ट गरेको छ ।
  • विराटनगरकै हाम्रो मिथिला किचनमा खाद्य भण्डारण र सरसफाइमा लापरबाही पाइएपछि सुधारका लागि आवश्यक निर्देशन दिइएको छ ।

८ असार, काठमाडौं । बजारमा फलफूलको जुस भनेर बिक्री हुने पेय पदार्थमा फलफूलको रस नै नभएको र चलेका रेस्टुरेन्टहरूमै अखाद्य रसायन (हाइड्रो), कृत्रिम रङ तथा म्याद गुज्रेका सामग्री प्रयोग हुने गरेको तथ्य फेला परेको छ ।

सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दै मापदण्ड विपरीत खानेकुरा बेच्ने पूर्वका विभिन्न उद्योग र रेस्टुरेन्टमाथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले कारबाही गरेको छ ।

अनुगमन क्रममा झापा अर्जुनधारा–५ स्थित ‘फ्रुट एग्रो प्रोडक्ट प्रालि’ ले उत्पादन गरेको ‘ओआरए’ ब्रान्डको म्यांगो ड्रिंक र अरेन्ज ड्रिंकमा सरकारले तोकेको अनिवार्य मापदण्ड पूरा नभएको पाइएको छ ।

सरकारले यस्ता पेय पदार्थमा कम्तीमा १० प्रतिशत फलफूलको रस हुनुपर्ने मापदण्ड तोके पनि उक्त उद्योगले रसविनाकै गुणस्तरहीन झोल बेचेर उपभोक्ता ठगिरहेको तथ्य बाहिरिएको हो ।

मापदण्ड विपरीत उत्पादन भेटिएपछि अनुगमन टोलीले ४ सय ९८ कार्टुन म्यांगो ड्रिंक र २ सय ५० कार्टुन अरेन्ज ड्रिंक गरी कुल ४ लाख ९२ हजार १ सय ३२ रुपैयाँ बराबरको उत्पादन विभिन्न निकायको रोहबरमा नष्ट गरेको छ ।

यसैगरी विराटनगरस्थित ‘मिथिला थाली विराटनगर प्रालि’ मा गरिएको अनुगमनमा पनि गम्भीर लापरबाही भेटिएको छ ।

उक्त  रेस्टुरेन्टले मिठाई बनाउन अखाद्य वस्तु हाइड्रो र कृत्रिम अखाद्य रङ प्रयोग गर्ने गरेको पाइएको छ । साथै, भण्डारण कक्षमा म्याद गुज्रेका खाद्यसामग्री भेटिनुका साथै खाना तयार गर्ने भान्साको सरसफाइ अत्यन्तै दयनीय पाइएको थियो ।

टोलीले त्यहाँबाट अखाद्य वस्तु प्रयोग गरी बनाइएको १ हजार रुपैयाँको ५ किलो मिठाई, १ हजार ९५ रुपैयाँको म्याद गुज्रेको खाद्यसामग्री, १ थान हाइड्रो र १ थान चम्पाई रङ जफत गरी नष्ट गरेको छ ।

टोलीले अबदेखि अखाद्य वस्तु प्रयोग नगर्न र भान्साको संरचनामा तत्काल सुधार गरी कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।

विराटनगर–८ कै ‘हाम्रो मिथिला किचन’ (क्लाउड किचन) मा पनि ढोकामा जाली नभएको र फ्रिजमा खानेकुरा नछोपी खुलै राख्ने गरेको पाइएको छ ।

उक्त किचनलाई खाना पकाउँदा स्टेनलेस स्टिलको भाँडा प्रयोग गर्न, जाली ढोका हाल्न र पर्याप्त प्रकाशको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?