News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक गाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको छ।
- पोखराबाट साढे २ देखि ३ घण्टामा पुगिने घान्द्रुकमा दसैं बिदासँगै पर्यटकको संख्या बढ्न थालेको छ।
- घान्द्रुकबाट अन्नपूर्ण, मर्दी र पुनहिल ट्रेकिङसँगै घोरेपानी पदयात्रा गर्न सकिन्छ।
२ कात्तिक, काठमाडौं । पुरानो शैलीका ढुङ्गाले छाएका घरहरू । जहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य नजिकैबाट हेर्न पाइन्छ । गुरुङ समुदायको कला, संस्कृति र स्थानीय भेषभूषाले झनै लोभ्याउँछ ।
यो हो कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक गाउँ । घान्द्रुक पछिल्लो समय आन्तिरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । जो कोही पुग्ने बित्तिकै न्यायो आतिथ्यता पाउँछन् । हिमालको चिसो हावाले स्पर्श गर्छ । घान्द्रुक कास्कीको मुख्य पर्यटकीय गाउँमध्येमा पर्छ । पोखरा पुग्ने पर्यटकहरू पछिल्लो समय घान्द्रुक पुग्न थालेका छन् ।
पोखराबाट साढे २ देखि ३ घण्टामा पुग्न सकिने भएकाले पनि धेरैको रोजाइमा घान्द्रुक परेको हो । ‘यहाँबाट हिमाल राम्रोसँग देख्न सकिन्छ । पोखराबाट नजिक पछि छ’, होमस्टे संचालकसमेत रहेकी स्थानीय अलिसा गुरुङले भनिन्, ‘हामी पर्यटकलाई स्वागत गर्न पर्खिरहेका छौँ ।’ दसैं बिदामा घुमघामको लागि नेपाली पनि जाने गरेका छन् । दसैं लागेसँगै घान्द्रुक पग्ने पर्यटकको संख्या बढ्न थालेको छ । ‘टिकाको दिन पनि यहाँको होमस्टे खुल्छ’, उनले भनिन् ।
पोखरबाट जिप रिजर्भ गरेर वा आफ्नो सवारीमा जान सकिन्छ । ‘बाटोमा गाडी वा बाटो बिग्रियो भने गाउँले मिलेर तत्कालै बनाउँछौँ । अहिले मौसम खुलेको छ । बाटो राम्रो छ । हिमाल खुलेको छ,’ उनले भनिन् ।
स्थानीय अमृत गुरुङ पनि मौसम खुलेकाले ढुक्कले आउन आग्रह गर्छन् । ‘पर्यटक आइरहनु भएको छ । ढुक्कले आउनु भए हुन्छ,’ उनले भने, ‘यहाँ गुरुङ समुदायको कला संस्कृतिले स्वागत गरिन्छ ।’
होमस्टेसँगै पछिल्लो समय घान्द्रुकमा होटलहरू पनि सञ्चालनमा आएका छन् । यहाँबाट घान्द्रुक घोरेपानी पदयात्रा गर्न सकिन्छ । अन्नपूर्ण, मर्दी र पुनहिल ट्रेकिङ पनि जान सकिन्छ । ट्रेकिङको ट्रान्जिट प्वइन्ट पनि हो घान्द्रुक । ‘ट्रेकिङ जाने आउनेहरूको लगि बस्न उपयुक्त छ,’ गुरुङले भनिन् ।








प्रतिक्रिया 4