+
+
Shares

‘आफ्टरनुन क्लाउड्स’ : सामीप्यको भोक र वास्तविकताबीचको च्याप्टो समय

कथाको पर्दा फुक्न सुरु हुन्छ, बालकनीमा फुलेको अनौठो फूलको बोटबाट। फूल मानिसको सौन्दर्यप्रतिको ढटुबारे चरित्रको बिम्ब हुँदैन यहाँ ।

कञ्चन कञ्चन
२०८३ कात्तिक ३ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पायल कपाडियाको १३ मिनेटको सर्ट फिल्म ‘आफ्टरनुन क्लाउड्स’ कान्स फिल्म फेस्टिभलको ‘सिनेफोन्डेसन’ विधामा चयन भएको छ।
  • फिल्ममा मुम्बईको फ्ल्याटमा बस्ने ७० वर्षीया काकी र उनकी नेपाली सहयोगी मालतीको एक्लोपन, स्मृति र अतृप्त जीवन चित्रण गरिएको छ।
  • कथामा लामखुट्टे भगाउने विषाक्त धुवाँ कोठाभित्र फैलिँदा काकीले दिवंगत पतिको छाया र मालतीले गाउँका नाविक युवाको कल्पना गर्छिन्।

‘तपाईं यस्तो फूल किन रोप्नुहुँदैन, जो वर्षभरि फुलिरहन्छ ?’

पायल कपाडियाको लेखन र निर्देशनमा निर्मित सर्ट फिल्म ‘आफ्टरनुन क्लाउड्स’ को यो संवादलाई सूक्ष्म दृष्टिले अध्ययन गर्न सक्यो भने समग्र फिल्मको सारलाई पक्रिन सकिन्छ ।

फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा अध्ययनरत रहँदा कपाडियाले सिर्जना गरेको यो १३ मिनेटको फिल्मले कान्स फिल्म फेस्टिभलको ‘सिनेफोन्डेसन’ विधामा स्थान बनाएर आफ्नो कलात्मक वजन विश्वव्यापी रूपमै प्रमाणित गरिसकेको छ। यी पुरस्कारबाहेक फिल्मको अर्को छुट्टै गरिमा र गहिराइ पनि छ। यो फिल्म भारतीय सिनेमाको इतिहासमा नवीन र गम्भीर घुम्ती पनि सायद बनेको छ, जसले चिरन्तन पेन्टिङसरह देखिने दृश्यात्मक भाषा, ‘मनतातो’ संवाद र मौनताको बलमा मानवीय संवेदनाको पिँध छुने हिम्मत गर्छ।

फिल्म मुम्बईको एउटा सामसुम फ्ल्याटभित्र कैद भएका बेग्लाबेग्लै पुस्ताका महिलाहरूको रिक्तता, अतृप्तता र स्मृति तथा विस्मृतिको साँधमा भौँतारिरहेको जिन्दगीको पुनरावलोकन हो। कथा सानो क्यानभासभित्र छ। ७० वर्षीया महिला काकी (उषा नायक) र उनकी तन्नेरी नेपाली सहयोगी मालती (त्रिमाला अधिकारी) सँगै बस्छन् । क्यानभासको सेरोफेरोमा समय थामिएको जस्तो देखिन्छ । तर भित्रभित्रै भावनाहरूको छाल उर्लिरहेको हुन्छ। दुवै जना आफूभित्र मूक एकाकीपन साँधेर बसेका हुन्छ न्।

फिल्मको कथा सुन्दा, प्रभाव हेर्दा

कथाको पर्दा फुक्न सुरु हुन्छ, बालकनीमा फुलेको अनौठो फूलको बोटबाट। फूल मानिसको सौन्दर्यप्रतिको ढटुबारे चरित्रको बिम्ब हुँदैन यहाँ । फूल यहाँ अतीतको त्यो अवशेष अर्थात् दिवंगत पतिको सम्झना हो, जसले वर्तमानको शून्यतालाई ढाकिदिन्छ। क्यानभासमा वर्तमान राम्रोसँग टुसाउनै पाएको छैन, केवल स्मृतिहरूको आवतजावत छ। लाग्छ, वर्तमानको सास चुसेर सम्झनाहरू झाँगिइरहेका छन् ।

अर्कोतर्फ, मालतीको चरित्रले युवावस्थाको ऊर्जा र विवशताको सम्मिश्रणलाई प्रतिनिधित्व गर्छ । आफ्नो ‘जिमिजेथा’ छोडेर मुम्बईजस्तो कङ्क्रिटको सहरमा अर्काको घरको चौघेराभित्र श्रम बेच्न बाध्य मालतीको आन्तरिक संसार काकीको भन्दा कम जटिल छैन। दिउँसो कोरिडोरमा अचानक आफ्नै गाउँको एउटा नाविक युवासँग उसको जम्काभेट हुनु फिल्मको भावुक, काव्यात्मक मोड हो ।

नाविकले मालतीलाई एउटा पोस्टकार्ड दिन्छ । त्यसमा लेखिएका शब्दहरू पढ्छन्—हावा र रूखहरू केवल एउटा सपना हुन्, र तिम्रो अगाडि त ताराहरू पनि फिक्का देखिन्छन् । यो संवादले फिल्ममा क्षणिक रुमानी सुवास भर्छ। त्यो सुवासको अभावले झस्काउँछ। मालती र त्यो नाविकको भेटघाट जरा चुँडिएर आएका विस्थापितहरूको छिनभरको निकटता हो । अनि हो, समयको छलकारी चरित्रको बोध, जहाँ केवल एक वर्षमै उनीहरू एकअर्काको नजरमा ‘पाका’ भइसकेका छन् ।

यही समयमा फिल्मको मुख्य रूपक अर्थात् ‘बादल’ को आगमन हुन्छ, जब कर्मचारीहरू कोरिडोरमा लामखुट्टे भगाउने विषाक्त धुवाँ छर्कन थाल्छन्। यो धुवाँ बिस्तारै झ्यालढोकाका कापबाट छिरेर कोठाभित्र भरिन्छ र दुवै महिलालाई एउटा तन्द्रातर्फ लैजान्छ। यहीँ निर्देशक कपाडियाको शिल्प हलक्किन्छ। यो रासायनिक धुवाँ मनमा गुम्सिएर रहेका इच्छा, डर र स्मृतिहरूको बादल बन्न पुग्छ। धुवाँको त्यो बाक्लो खातभित्र काकीले आफ्ना दिवंगत पतिको छाया देख्छिन् र मालतीले नाविकको कल्पना गर्छिन्।

यथार्थ र स्वप्निल संसारबीचको यो संकुचन स्तब्ध पार्ने खालको छ। बादलले वर्तमानको कठोर यथार्थलाई छोपिदिन्छ र अतीत वा असम्भव कल्पनाको एउटा झ्याल खोलिदिन्छ। जहाँ यी दुवै महिला आफ्ना अतृप्तिहरूसँग साक्षात्कार गर्न पुग्छन्।

जब त्यो रासायनिक धुवाँको बादल बिस्तारै कोठाबाट बाहिरिन्छ, त्यससँगै मालतीको त्यो क्षणिक रोमान्स र काकीको त्यो स्वप्निल अतीत पनि बिलाएर जान्छ। कोठा फेरि उस्तै सुनसान बन्न पुग्छ। निस्पट्ट रातमा फिक्का देखिँदै फूलको बोट मात्र बाँकी रहन्छ। यो अन्त्यले दर्शकको मनमा गहिरो र लामो समयसम्म रहिरहने रिक्तता छोडेर जान्छ। फिल्म सकिएपछि पनि त्यो धुवाँको गन्ध र कोठाको शून्यता दर्शकको चेतनामा घुमिरहन्छ।

प्राविधिक पक्षलाई हेर्दा

फिल्मको सिनेमाटोग्राफीको कुरा गर्दा, मयाङ्क खुरानाको क्यामेराले खिचेका फ्रेमहरू चित्रकार अर्पिता सिंहका पेन्टिङहरूबाट प्रेरित देखिन्छन्। क्यामेराले स्थिर दृश्यहरू (स्टाटिक सट्स) लाई प्राथमिकता दिएको छ। फ्रेमभित्र पात्रहरूको उपस्थिति र उनीहरूको शारीरिक भाषाले संवादविहीनतामा पनि धेरै कुरा बोलिरहेको हुन्छ। कोठाको एउटा कुनामा खुम्चिएर बसेकी काकी वा कोरिडोरको अँध्यारोमा टोलाइरहेकी मालतीको शरीरको बनोटले नै उनीहरूको आन्तरिक पीडा र एक्लोपनको गहिराइलाई व्यक्त गर्छ।

प्रकाश र छायाको खेल फिल्ममा अद्भुत छ। दिउँसोको मत्थर उज्यालो बिस्तारै साँझको नीलो–धूमिल प्रकाशमा परिणत हुँदै जाँदा पात्रहरूको मनोदशा पनि उज्यालो आशाबाट अँध्यारो यथार्थतर्फ ओर्लिंदै गएको आभास हुन्छ। कोठाभित्र छिर्ने सडकबत्तीको नीलो आभा र चन्द्रमाको प्रकाशले दृश्यलाई झनै काव्यात्मक बनाएको छ।

साउन्ड डिजाइन यस फिल्मको अर्को एउटा बलियो खाँबो हो। श्रेयङ्क नन्जप्पाले फिल्ममा पार्श्वसङ्गीतको परम्परागत प्रयोगलाई पूर्ण रूपमा त्यागेर एम्बियन्ट साउन्डको सहारा लिएका छन्। भान्साकोठामा तरकारी पड्किएको आवाज, प्रेसर कुकरको सिटी, रूखका पातहरू सरसराएको आवाज र घरभित्रको गहिरो सन्नाटा। संवादहरूको कमीलाई यी ध्वनिहरूले यसरी पूर्ति गरेका छन् कि दर्शकले पात्रहरूको सास फेरेको आवाजमा पनि उनीहरूको दुःख महसुस गर्न सक्छन्।

विचारको पाटोबाट हेर्दा

‘आफ्टरनुन क्लाउड्स’ समयको नश्वरता र मानवीय सम्बन्धहरूको अनित्यता वरिपरि फन्को मार्छ। संसारमा हरेक कुराको निश्चित एवं नियमित चक्र हुन्छ। बोटमा फूल फुल्छ र ओइलाउँछ, दिउँसो ढल्छ र रात पर्छ। तर मान्छेको जीवन र उसको संवेगात्मक तिर्खाका चक्रहरू भने जटिल छन्। तिनका गाँठा फुकाउन गाह्रो पर्छ।

काकीको जीवनमा प्रेमको परिच्छेद धेरै पहिले नै सिद्धिसकेको छ। तर त्यसको तिर्सना अझै बाँकी छ। मालतीको जीवनमा प्रेमको एउटा सानो झिल्को देखा पर्छ। तर त्यो परिस्थितिवश सल्किन पाउँदैन। यी दुवै अवस्थामा एउटा कुरा समान छ—‘अपूर्णता’ र ‘बिछोडको निरन्तरता’। यो फिल्मले एक्लोपनलाई कुनै अभिशाप वा कमजोरीका रूपमा देखाउँदैन। यसले एक्लोपनलाई मानव अस्तित्वको एउटा गुदी सत्यका रूपमा स्वीकार्छ।

निर्देशक पायल कपाडियाको दृष्टि उदार छ। उनी दर्शकलाई कुनै रेडिमेड निष्कर्ष दिँदिनन्। उनी दृश्यहरूलाई यसरी छोडिदिन्छिन् कि दर्शक आफैँ त्यसभित्र पसेर आफ्ना भावनाहरू, अर्थहरू, अभावहरू र वञ्चनाहरू खोज्छन्।

अन्तिममा सपनाको कुरा

‘मैले दिउँसो सपनामा देखेँ—घरभित्र धेरै बादल आएका थिए। उनको आवाज आयो—“छिटो आऊ, पानी पर्न आँट्यो, रूखका फलहरू कुहिन्छन्।” हावाको गतिमा रूखहरू यति सुसाइरहेका थिए। जब म त्यहाँ पुगेँ, सबै फलहरू नदीमा बगिरहेका थिए। उनी त्यहाँ उभिएका थिए। सुट लगाएका थिए। म उनको नजिक गएँ। तर उनले मलाई चिन्दै चिनेनन्।’

मालतीलाई काकीले यो सपना सुनाइरहँदा बाहिर हावा मन्द गतिमा डुलिरहेको छ। झ्यालको स्वच्छ सेतो पर्दा गह्रुँगो पाइला हिँडेजस्तो सुस्त हल्लिरहेको छ। लाग्छ, काकी अभिभावकत्वको भूमिकामा बसेर मालतीलाई बुझाउँदै छिन्—सामीप्यका उत्कट चाहना, नदीमा बगेका फलहरू अनि स्वजनहरूसँगको अपरिचय।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?