१२ असोज, विराटनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले विराटनगरको सीमावर्ती क्षेत्रमा एक नेपाली युवकलाई कुटपिट गरेको छ ।
सीमावर्ती क्षेत्र दरैयामा एसएसपबीको टोलीले विराटनगर महानगरपालिका–२ का २८ वर्षीय अनुज कामतलाई कुटपिट गरेको हो । घटना शनिबारको हो ।
भारतबाट नेपालतर्फ आउँदा एसएसबीको टोलीसँग कामतको विवाद भएको थियो । त्यसपछि कामतले एसएसबीका जवानलाई ढुंगा प्रहार गरेका थिए । उनले प्रहार गरेको ढुंगा एसएसबीका जवानलाई लागेको थियो ।
दशगजामा एसएसबीलाई ढुंगा हानेर नेपालतर्फ भागेर आएका कामतलाई एसएसबीले तानेर दशगजातर्फ लगी कुटपिट गरेको थियो । एसएसबीले कुटपिट गर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि घटनास्थलमै थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सुरुमा युवक कामतलाई रोक्न खोजेको नेपालतर्फको सुरक्षा टोलीले कुटपिट गर्न थालेपछि भने केही गरेको देखिँदैन । घटनास्थलमा भेला भएका केहीले भाग्न खोज्दा युवकलाई समातेको देखिन्छ ।
एसएसबीको टोलीले कामतलाई नियन्त्रणमा लिएर लाठीले कुट्दै भारततर्फ लगेको थियो । नियन्त्रणमा लिएर केही समय कुटपटि गरेपछि उनलाई एसएसबीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।
इलाका प्रहरी कार्यालय रानीले एक दिन नियन्त्रणमा राखेर आइतबार आफन्तको जिम्मा लगाएको छ । प्रहरीका अनुसार युवक कामत लागुऔषध प्रयोगकर्ता हुन् । एसएसबीसँग विवाद हुँदा पनि उनी सामान्य अवस्थामा थिएनन् ।
आइतबार श्रीमतीको रोहबरमा कामतलाई घर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
प्रतिक्रिया 4