हरेक अक्टोबरमा, साहित्यको दुनियाँमा एउटा परिचित परिदृश्य दोहोरिने गर्छ । हारुकी मुराकामीको नाम नोबेल पुरस्कारको सम्भावित विजेताहरूको सूचीमा शीर्ष स्थानमा उक्लिन्छ र उनका प्रशंसकहरू उत्सव मनाउन तयार भएर बस्छन् । तर, सधैँझैँ स्वेडिस एकेडेमीको नजर अर्कैतिर सोजिन्छ । निरन्तर जितको नजिक पुगेर पनि चुकिरहने मुराकामी, पुनः एकपटक विश्वकै सबैभन्दा प्रिय उपविजेता बन्न पुग्छन्।
अहिले सत्तरीको दशकमा हिँडिरहेका यी जापानी लेखक, साहित्यिक अभिलाषाको रोमान्स र निरर्थकता– दुवैका प्रतीक बनेका छन् । यो ठ्याक्कै उनकै कथाहरूका मुख्य पात्रहरूजस्तै हो, जो अर्थ, बिराला वा हराएको प्रेमको खोजीमा काल्पनिक र सपनाजस्ता दृश्यहरूमा भौँतारिरहन्छन् । त्यसैले, एउटा प्रश्न निरन्तर गुञ्जिरहन्छ: संसारभर सबैभन्दा बढी पढिने, अनुवाद गरिने र रुचाइएका जीवित लेखकहरूमध्येका एकले अहिलेसम्म साहित्यतर्फको नोबेल पुरस्कार किन पाउन सकेनन् ?

सम्भवतः मुराकामीको विद्रोह अलि बढी अन्तर्मुखी भएर पो हो कि, उनका महिला पात्रहरू अलि बढी अवास्तविक भएकाले वा उनको उदासी अलि बढी लोभलाग्दो भएकाले हो कि ! एउटा लेखकका रूपमा उनका सबैभन्दा ठूला सबल पक्षहरू सामान्य कुरालाई पनि अनौठो चमक दिने र एकाकीपनलाई उज्यालो नहोउन्जेल रोमान्चित बनाइराख्ने क्षमता नै सायद उनलाई नोबेलको दौडमा ओझेल पारिराख्ने कारणहरू हुन् ।
थोरै लेखकहरूले मात्र स्प्यागेटी उमाल्ने वा पारिलो बिहानको पैदल यात्रा जस्ता सामान्य कुरालाई पनि कुनै जीवनदृष्टि वा रहस्यमय अनुभूतिका रूपमा प्रस्तुत गर्न सक्छन् । मुराकामीले साधारण र निरस कुराहरूलाई रहस्यमयी ढाँचामा रूपान्तरण गर्दै एकाकीपनलाई आफ्नै बेग्लै शब्दकोश प्रदान गर्छन् । उनका उपन्यासहरूले आधुनिक युगको छटपटी र भावनाहीन एवम् निरस बन्दै गएको संसारमा बाँचिरहनुको मौन पीडालाई सूक्ष्म रूपमा समातेका छन् । अनि, पाठकहरूलाई मन्त्रमुग्ध पार्ने यही भावनात्मक जग नै पुरस्कार चयन समितिहरूलाई उनीबाट टाढा राख्ने कारण पनि बन्न पुग्छ ।
मुराकामीसँगको मूल समस्या
आफ्ना तमाम सुन्दरताका बाबजुद, मुराकामीको संसार मेल गेजमा निकै डुबेको छ । उनका महिला पात्रहरू प्रायः पुरुष तृष्णाका माध्यम मात्र हुन् । अलौकिक, कामुक र कहिलेकाहीँ कुनै स्पष्टीकरणबिनै बिलाएर जाने । उनीहरू जीवन्त हुनुभन्दा बढी काल्पनिक देखिन्छन्, जसको अस्तित्व मुख्यतया मुख्य पात्रको यात्रामा बाधा पुर्याउन, मलम लगाउन वा उत्प्रेरक बन्नका लागि मात्र हुन्छ ।
उनीहरू बोल्दा पनि, उनीहरूलाई चाहने वा प्रायः गलत सम्झिने पुरुषहरूकै दृष्टिकोणबाट छानिएर आउँछन् । यो कुनै द्वेष वा दुर्भावना होइन । एउटा अभ्यास हो, एक किसिमको मौन र असमीक्षित दृष्टिकोण – जुन अहिलेको साहित्यले जेन्डर र प्रतिनिधित्वलाई जसरी हेर्छ, त्योसँग नमिल्दो र पुराना शैलीको महसुस हुन्छ ।
उनका उपन्यासहरू कामुक र इन्द्रीयग्राही छन् । तर त्यो कामुकता प्रायः अब्जेक्टिफिकेसनमा परिणत हुन पुग्छ, जसले महिलाका शरीरहरूलाई पुरुषभित्रको शून्यता दर्शाउने रूपकमा सीमित गरिदिन्छ । वर्तमान संसारले अझ सूक्ष्म र बहुआयामिक चित्रणको माग गरिरहँदा, मुराकामीका महिला पात्रहरू पुरानो चेतनाका अवशेषजस्ता लाग्न सक्छन्– मोहक, तर खोक्रा ।

त्यसपछि आउँछ आख्यानात्मक निष्क्रियता वा विरक्तिको मुद्दा । उनका कथावाचकहरू आक्रोशित हुनका लागि अलि बढी नै भावनात्मक रूपमा चेतनाशून्य छन्, र विद्रोह गर्नका लागि अलि बढी नै निष्क्रिय छन्; उनीहरू केवल बग्छन्, अवलोकन गर्छन् र कुराहरूलाई आफैँभित्र गुम्साएर राख्छन् । उनका असङ्गत र अस्वाभाविक परिवेशहरू (‘स्पुतनिक स्विटहार्ट’, ‘बर्थडे गर्ल’) ले यथार्थ र अतियथार्थबीचको रेखालाई धमिल्याइदिन्छन्, जसको अन्त्य मौनता र अस्पष्टतामा हुन्छ ।
पाठकहरू तिनै दृश्यहरूमा भुल्छन्, पुनः पढ्छन् । र ती अनिर्णीत अन्त्यहरूमै सान्त्वना खोज्छन् । उनका कृतिहरू सम्मोहित पार्ने खालका भए पनि ती आन्तरिक, व्यक्तिगत र जानीजानी पन्छिन खोज्ने प्रकृतिका छन् । उनका द्वन्द्वहरू भावनात्मक वा अध्यात्मिक (मेटाफिजिकल) हुन्छन् । नैतिक दायरामा सायदै पर्छन् ।
अनि यहीँनिर नोबेल पुरस्कारको खिचातानी वा विरोधाभास प्रकट हुन्छ । तमाम असङ्गतिहरूका बाबजुद, यस पुरस्कारले इतिहास, सत्ता र सामूहिक चेतनासँग प्रत्यक्ष रूपमा जोडिने लेखकहरूलाई सम्मान गर्दै आएको छ । कावाबाताले जापानी जीवनको सुकोमल सौन्दर्यलाई समातेका थिए ।
केन्जाबुरो ओएले युद्धपछिको अपराधबोध र नैतिक अशान्तिलाई आमनेसामने उभ्याएका थिए । तर मुराकामी राष्ट्र, विचारधारा वा राजनीतिबाट अलग गरेर एकाकीपन लेख्छन् । उनको उदासी सर्वव्यापी छ, तर उनको नैतिक दृष्टिकोण भने छरपस्ट छ । उनको क्रान्ति बाह्य नभएर आन्तरिक हो, जसले उनलाई पाठकहरूको प्रिय त बनाउँछ, तर नैतिक गम्भीरता र वजन खोज्ने समितिहरूको भने उति सारो प्रिय बनाउँदैन ।

यहाँसम्म कि उनको आफ्नै पहिचान बनेको जादुई यथार्थवाद (म्याजिक रियालिजम) पनि उनका लागि प्रत्युत्पादक बन्न सक्छ । ती अतियथार्थवादी प्रयोगहरू, अनिणीत अन्त्यहरू, र समानान्तर संसारका दोहोरिने बिम्बहरू कहिलेकाहीँ आफैँमा हराएका वा दोहोरिएका जस्ता देखिने जोखिम रहन्छ । तिनले पाठकहरूलाई सम्मोहित त पार्छन्, तर नोबेलले प्रायः कदर गर्ने खालको बौद्धिक वा नैतिक साहस भने प्रदान गर्दैनन् । मुराकामीका कृतिहरू, आफ्ना सम्पूर्ण भव्यता र लालित्यका बाबजुद, पाठकलाई आफूभित्र पूर्णतः लीन गराउने खालका त छन्, तर उस्तै घेराबन्दीभित्र सीमित (इन्सुलेटेड) पनि छन् ।
ब्लाइन्ड स्पट
साहित्यलाई घटना र समयको साक्षीका रूपमा हेरिने वर्तमान युगमा मुराकामीले दस्तावेजको सट्टा सपनाहरू पस्कन्छन् । अनि सपनाहरू, ती जतिसुकै जटिल र जीवन्त भए पनि, तिनले बिरलै मात्र चर्चाको केन्द्रभाग ओगट्न सक्छन् । यहाँसम्म कि जब उनले वास्तविक घटनाहरूबारे लेख्छन् (‘आफ्टर द क्वेक’ मा १९९५ को कोबे भूकम्प, वा ‘द विन्ड-अप बर्ड क्रोनिकल’ मा युद्धकालीन स्मृति), ती पनि अतियथार्थवाद र विरक्तिका माध्यमबाट छानिएर आउँछन् । उनका लागि विपत्ति सधैँ आन्तरिक हुन्छ ।
सन् २०१७ मा नोबेल पुरस्कार विजेता बनेका जापानमा जन्मिएका ब्रिटिस लेखक काजुओ इसिगुरो– जो सायद मुराकामीका सबैभन्दा नजिकका समकालीन हुन्– एउटा सान्दर्भिक तुलनाका रूपमा अगाडि आउँछन् । दुवैले स्मृति र गुमाउनुको पीडाको खोजी गर्छन्, तर इसिगुरोको संयम र नैतिक स्पष्टता नोबेलको स्वभाव र मिजाससँग दुरुस्तै मिल्छ । उनका गद्यले भद्रताभित्र लुकेको पीडालाई उजागर गर्छन्, जबकि मुराकामीका रचनाहरूले यथार्थलाई नै पगालिदिन्छन् ।
सम्भवतः त्यसैले मुराकामीका पुस्तकहरू यति धेरै आत्मीय महसुस हुन्छन् । उनी विश्वास वा आस्थाको माग गर्दैनन् । उनी केवल मनन र चिन्तनका लागि आमन्त्रण गर्छन् । उनका पुस्तकहरू उत्तरहरूको बारेमा होइनन् । परिवेश र मनस्थितिका बारेमा हुन् । शून्यतासँगै बाँच्न सिक्ने, दोहोरोपनमा सौन्दर्य खोज्ने, तीव्र तृष्णा र व्यग्रतासँगै शान्त भएर बस्ने, अनि कहिलेकाहीँ कुनै उत्तरहरूको खोजी नै नगर्नेबारे हुन् ।
यदि नोबेलले विश्वव्यापी चेतना र विवेकको उत्सव मनाउँछ भने, मुराकामी विश्वव्यापी एकाकीपनका बारेमा लेख्छन् । अनि एकाकीपनले, जस्तो कि हरेक पाठकलाई थाहा छ, बिरलै मात्र स्ट्यान्डिङ ओभिएसन पाउँछ ।
प्रतिक्रिया 4