+
+
Shares

कहिले पुरानो नहुने जिन्स पाइन्ट, कस्तो छ अहिलेको ट्रेन्ड ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते ११:२३

फेसनको दुनियाँमा केही कुरा कहिल्यै पुराना हुँदैनन् । त्यसमध्ये एक हो, जिन्स । तर जिन्सको डिजाइन र लगाउने शैली भने समयसँगै बदलिइरहन्छ । यो वर्ष पनि जिन्सका केही नयाँ डिजाइन र फिट फेसनप्रेमीमाझ चर्चामा छन् ।

आरामदायी हुनुका साथै स्टाइलिस देखिने भएकाले जिन्स दैनिक पहिरनदेखि अफिस, आउटिङ र पार्टीसम्मका लागि रोजाइमा पर्छ । विशेषगरी वाइड लेग, स्ट्रेट फिट, हाई–राइज, ब्यागी र मोम फिट जिन्स अहिले चर्चामा छन् ।

वाइड लेग जिन्स

वाइड लेग जिन्स पछिल्लो समय निकै रुचाइएको डिजाइन हो । शरीरमा टाँसिएर बस्नेभन्दा खुट्टातिर फराकिलो हुने भएकाले यसले आरामदायी अनुभव दिन्छ । निलो रङको वाइड लेग जिन्सलाई टी–सर्ट, कटन सर्ट, क्रप टप वा डेनिम सर्टसँग सजिलै स्टाइल गर्न सकिन्छ । अहिले सबैभन्दा बढी चलेको यसमा रङ हरियो, गाढा निलो र आकाशे रङको हो ।

दैनिक पहिरन, अफिस वा क्याजुअल आउटिङका लागि यस्तो जिन्स उपयुक्त हुन सक्छ । साधारण पहिरनलाई पनि यसले स्टाइलिस देखाउन सहयोग गर्छ ।

एम्ब्रोइडरी भएको जिन्स

साधारण जिन्सभन्दा केही फरक र आकर्षक देखिन चाहनुहुन्छ भने एम्ब्रोइडरी गरिएको जिन्स रोज्न सकिन्छ । जिन्समा गरिएको डिजाइनले सामान्य पहिरनलाई पनि केही विशेष देखाउन सक्छ ।

हाई–वेस्ट र स्ट्रेट वाइड लेग फिटमा आउने यस्तो जिन्सलाई क्रप टप, प्लेन टी–सर्ट, सर्ट वा ब्लेजरसँग लगाउन सकिन्छ । अफिसदेखि पार्टी र क्याजुअल आउटिङसम्मका लागि पनि यो विकल्प रोज्न सकिन्छ ।

हाई–राइज लुज फिट जिन्स

शरीरमा धेरै टाइट नहुने र आरामदायी पहिरन मन पराउनेका लागि हाई–राइज लुज फिट जिन्स राम्रो विकल्प हुन सक्छ । यस्तो जिन्स कम्मरभन्दा माथिल्लो भागमा फिट भएर तलतिर खुकुलो हुन्छ ।

फुल–स्लिभ टप, टी–सर्ट, क्रप टप, ज्याकेट वा अफ–शोल्डर टपसँग यसलाई स्टाइल गर्न सकिन्छ । लामो समय लगाउँदा पनि सहज हुने भएकाले दैनिक प्रयोगका लागि यो उपयोगी हुनसक्छ ।

हाई–राइज मोम फिट जिन्स

मोम फिट जिन्सको डिजाइन केही वर्षदेखि फेसनमा छ र यसको लोकप्रियता अझै घटेको छैन । हाई–राइज डिजाइन भएकाले यसले कम्मरलाई राम्रो फिट दिन्छ भने खुट्टातिर केही खुकुलो हुन्छ । ट्याङ्क टप, क्रप टप, प्लेन टी–सर्ट, सर्ट वा ब्लेजरसँग यसलाई सजिलै मिलाउन सकिन्छ । क्याजुअलदेखि अफिस लुकसम्मका लागि मोम फिट जिन्स प्रयोग गर्न सकिन्छ ।

ब्यागी जिन्स

आरामसँगै स्टाइल खोज्नेहरूका लागि ब्यागी जिन्स पनि राम्रो विकल्प हो । खुट्टातिर खुकुलो हुने भएकाले यसले सहज रूपमा हिँडडुल गर्न सहयोग गर्छ । स्ट्रेचेबल कपडामा आउने जिन्स अझै आरामदायी हुन सक्छ ।

टी–सर्ट, क्रप टप, फुल–स्लिभ टप वा ज्याकेटसँग ब्यागी जिन्स मिलाउन सकिन्छ । छोटो वा लामो कुर्तीसँग पनि यसलाई फरक शैलीमा लगाउन सकिन्छ ।

जिन्स किन्दा के ध्यान दिने ?

जिन्स छनोट गर्दा ट्रेन्ड मात्र होइन, आफ्नो शरीरको बनोट, सहजतासँगै गुण्स्तरलाई पनि ध्यान दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जिन्स लगाउँदा आफूलाई सहज र आत्मविश्वासी महसुस हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?