+
+
Shares

बाढीले क्षति पुर्‍याएको ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत् उत्पादन सुरु

आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १७:५४

२२ असोज, काठमाडौं । ११ असोजमा कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको राहुघाट जलविद्युत् आयोजनाको मर्मत गरी पुन: विद्युत् उत्पादन सुरु गरिएको छ । बाढीले क्षति पुर्‍याएको ११ दिनमै उत्पादन सुरु गरिएको हो ।

बाढीबाट विद्युत्‌गृहमा डुबान हुनुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो ।  आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट (२० मेगावाट) आजदेखि सञ्चालनमा आएको हो ।

आयोजनाको विद्युत्‌गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो । त्यसपछि टेलरेसबाट विद्युत्‌गृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो ।

यसले गर्दा भर्खरै निर्माण सम्पन्न भई परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो ।

विद्युत्‌गृहमा जम्मा भएको पानी हटाइ बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी एउटा युनिट सञ्चालनमा ल्याइएको आयोजना प्रवर्द्धक रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।

‘बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी ११ दिनमै एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौं,’ उनले भने, ‘अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।’

राहुघाट जलविद्युत् आयोजनामा २०/२० मेगावाट क्षमताका दुइटा युनिट छन् । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?