२१ असोज, काठमाडौं । तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । बिहीबार साँझ पाँच बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकलसरकारले तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ ।
बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।
भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागिएको छ ।
हाल १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ । यसलाई छोट्याएर विपद्को सन्दर्भमा ४५ दिनमै मृतक घोषणा गर्न सकिने विषय अधयादेशमा आएको छ ।
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय समावेश छ । राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीका अनुसार प्राप्त अध्यादेश राष्ट्रपति समक्ष पेश गर्न भने बाँकी छ ।
‘तीन वटा अध्यादेश आइपुगेको छ । आज साँझ ५ बजेतिर आइपुगेको हो’ प्रवक्ता शाहीले अनलाइनखबरसँग भने, ‘प्राप्त अध्यादेश राष्ट्रपतिज्यूसमक्ष पेश गर्न बाँकी छ ।’
प्रतिक्रिया 4