News Summary
Generated by OK AI. Editorially reviewed.- यो उपन्यास अवैध बाटो हुँदै अमेरिका प्रवेश गर्ने एक नेपाली युवकको संघर्षपूर्ण यथार्थ कथामा आधारित छ।
१५ असार, काठमाडौं । अवैध बाटो भएर अमेरिका जाने नेपाली युवाहरूको त्रासद यात्राबारे लेखिएको उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ लोकार्पण गरिएको छ ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा कृतिकार डा. चन्द्र गिरीसहित, लेखक कृष्ण धरावासी, पत्रकार वसन्त बस्नेत, साहित्यकार बिना थिङ र कवि शंकर गिरी (पथिक)ले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरे ।
कार्यक्रमका वक्ताहरूले ‘डङ्की’ उपन्यासमा आप्रवासन, सपनाको खोजी र मानवीय सङ्घर्षको यथार्थ चित्रण भएको बताए । देशको जल्दोबल्दो विषयवस्तु साहित्यमार्फत उजागर गरेको भन्दै उनीहरूले यसमा सरकारको समेत ध्यानाकर्षण गराए ।
आख्यानकार धरावासीले ‘डङ्की’ आद्योपान्त पठनीय आख्यान भएको बताए । ‘डङ्की र मेरो उपन्यास तल्लो बाटो (२०७४) बीच विषयगत निकटता छ । तर यसको कथाशैली र दृष्टिकोण बिलकुलै फरक छन्,’ उनले भने, ‘मैले जोखिमपूर्ण बाटो हुँदै अमेरिका पुगेका चार-पाँच जनासँग कुराकानी गरेर उपन्यास तयार गरेको थिएँ, तर डा. गिरीले सम्बन्धित ठाउँमा आफैं पुगेर लेखेकाले यो मेरो उपन्यासभन्दा प्रामाणिक र पठनीय भएको छ ।’
उपन्यासकार समेत रहेका पत्रकार बस्नेतले ‘डङ्की’ साहित्यका लागि मात्र नभएर कथाका लागि पनि पढ्न सकिने किताब भएको औँल्याए । ‘आजको दिनमा अमेरिका नेपाली समाजमा एउटा देशभन्दा बढी एउटा मानसिक अवस्था बनिसकेको छ’ उनले भने, ‘डङ्की उपन्यासका लागि उपन्यास नभएर पर्याप्त अध्ययन, अनुसन्धान गरेर लेखिएको गजबको उपन्यास हो ।’
कार्यक्रममा साहित्यकार थिङले ‘डङ्की’ उपन्यास नेपाली समाजको आर्थिक, सामाजिक र राजनीतिक धड्कन समात्न सफल भएको टिप्पणी गरिन् । निकै कष्टकर बाटोबाट अमेरिका जान बाध्य नागरिकको समस्याबारे समयमै निदान निकाल्नु आवश्यक भएको उनको भनाइ थियो ।
समीक्षक राजकुमार बानियाँले ‘डङ्की’ सामाजिक यथार्थमा आधारित समकालीन आप्रवासन आख्यान भएको सुनाए । कार्यक्रममा कवि उषा शेरचन र प्रल्हाद पोखरेलले पनि शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
इलामका एक नेपाली युवकले अमेरिका जान रोजेको डङ्की रूट र उसले गरेको यात्रालाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
लेखक गिरीले डङ्की केवल सीमा पार गर्ने यात्राको कथामात्र नभएर यो मानिसको आशा, साहस, निराशा र आत्मसम्मानको कथा भएको सुनाए । ‘संसार भेटिएका नेपाली तथा अन्य आप्रवासीहरुको अनुभवले यो उपन्यास लेख्न प्रेरणा दियो,’ कार्यक्रममा उनले भने ।
बुकहिलले प्रकाशन गरेको उपन्यास ‘डङ्की’ को मूल्य ७१७ रुपैयाँ रहेको छ । अमेरिकालाई कर्मथलो बनाएका वैज्ञानिक डा. गिरीका यसअघि ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) प्रकाशित भइसकेका छन् ।
प्रतिक्रिया 4