+
+
Shares
श्यामकृष्ण खड्गीसँग वार्ता :

‘मलाई कसैले उठाएको होइन, आन्तरिक लोकतन्त्र मजबुत बनाउन खोजेको हुँ’

पार्टीमा पहिले उम्मेदवारी दिने र त्यसपछि सम्झौता गर्ने कुरा मलाई ठीक लाग्दैन। त्यसैले मैले आफ्नो उम्मेदवारी दिइसकेपछि जुनसुकै हालतमा फिर्ता नलिने र यसको छिनोफानो पनि महाधिवेशन प्रतिनिधिहरूबाटै होस् भन्ने चाहना राखेर आफ्नो उम्मेदवारी कायम राखेको हुँ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १९:५४

कांग्रेसको जारी १५ ‍औं महाधिवेशनमा सभापति गगन थापासँगै श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दिएका छन् । किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि खड्गी पनि पछि हट्ने धेरैको अनुमान थियो । तर उनी आफ्नो उम्मेदवारीमा अडिग छन् ।

सिद्धार्थ वनस्थली स्कुलमा गगन थापा विद्यार्थी हुँदा खड्गी शिक्षक थिए । हालसम्म पार्टीको केन्द्रीय सदस्य समेत नभएका खड्गी एकैपटक सभापतिमा किन उम्मेदवारी दिए ? अनलाइनखबरका केशव सावदले कांग्रेस सभापतिका उम्मेदवार खड्गीसँग गरेको कुराकानी :

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिइराख्नुभएको छ, यो उम्मेदवारी तपाईंको केका लागि हो ?

१५ औं महाधिवेशनमा मैले नेपाली कांग्रेसको सभापति पदका लागि उम्मेदवारी दिएको छु। नेपालमा लोकतन्त्रको रक्षा हुनुपर्छ र त्यसका लागि म स्वयं सहभागी बन्न चाहन्छु।

अर्को कुरा, देशमा जनजीविकाका सवालहरू छन्, ती प्रश्नहरूलाई खरो रूपमा उठाउनका लागि र साथसाथै नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्नका लागि पनि मेरो उम्मेदवारी हो।

नियमित र विशेष अधिवेशन जुनसुकै कारणले भए पनि पार्टीभित्र जुन विभाजित स्थिति र बाँडिएको मन छ, त्यसलाई एकत्रित बनाउनका लागि पनि १५ औं महाधिवेशनमा सभापति पदमा मेरो उम्मेदवारी हो।

उम्मेदवारी लोकतन्त्रका लागि हो भन्नुभयो, कांग्रेसमा लोकतन्त्र छैन र ?

कांग्रेस नेपालको सबैभन्दा पुरानो पार्टी हो र यो लोकतन्त्रको पर्यायवाची नै हो। तर यदाकदा पार्टीभित्र लोकतन्त्र कमजोर हुन थालेको हो कि भन्ने आभास आम जनता र कांग्रेसका कार्यकर्तालाई नै भएकाले, आन्तरिक लोकतन्त्रलाई एकदम मजबुत बनाउनुपर्छ भन्ने उद्देश्यका साथ म अघि बढेको हुँ।

लोकतन्त्रका हरेक मूल्य-मान्यतालाई पार्टी महाधिवेशनबाट स्थापित गर्नुपर्छ भन्ने मूल मन्त्रका साथ मैले सभापतिमा उम्मेदवारी दिएको हुँ।

नियमित र विशेष अधिवेशन जुनसुकै कारणले भए पनि पार्टीभित्र जुन विभाजित स्थिति र बाँडिएको मन छ, त्यसलाई एकत्रित बनाउनका लागि पनि १५ औं महाधिवेशनमा सभापति पदमा मेरो उम्मेदवारी हो।

सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको थियो, तपाईंका कारण त्यो अवरुद्ध हुन पुग्यो नि?

सर्वसम्मतिको प्रयास भएको पनि हो। हामी र गगनजी छलफलमा पनि थियौँ, तर छलफलबाट सर्वसम्मतिको प्रयास असफल भयो । त्यसपछि म आफ्नो उम्मेदवारी कायम राख्दै निर्वाचनतर्फ अगाडि बढेँ । पार्टी सभापति कसलाई बनाउने भन्ने कुरा हामी उम्मेदवारहरू बिचको मात्र कुरा रहेन, महाधिवेशन प्रतिनिधिलाई नै जिम्मा लगाउने गरी हामी यस १५ औं महाधिवेशनमा निर्वाचनमा जाने निर्णयमा पुगेका हौं।

हिजो सभापति उम्मेदवार गगन थापासँग तपाईंको वार्ताका क्रममा उम्मेदवारी फिर्ता लिइदिनुस्, तपाईँका मान्छेलाई हामी सम्बोधन/मिलाउँछौँ भनियो भन्ने कुरा पनि बाहिर आएको छ, यसमा कत्तिको सत्यता छ?

पार्टीमा पहिले उम्मेदवारी दिने र त्यसपछि सम्झौता गर्ने कुरा मलाई ठीक लाग्दैन। त्यसैले मैले आफ्नो उम्मेदवारी दिइसकेपछि जुनसुकै हालतमा फिर्ता नलिने र यसको छिनोफानो पनि महाधिवेशन प्रतिनिधिहरूबाटै होस् भन्ने चाहना राखेर आफ्नो उम्मेदवारी कायम राखेको हुँ।

कांग्रेसको केन्द्रीय राजनीतिमा तपाईँ खासै चिनिएको अनुहार हुनुहुन्नथ्यो, न त अहिलेसम्मका अघिल्ला केन्द्रीय कार्यसमितिमा यहाँको उपस्थिति नै रह्यो। तर एकाएक सभापतिमा तपाईँले उम्मेदवारी दिनुभयो, यसको पछाडि कुनै रहस्य छ?

यसमा खासै रहस्य त केही छैन। मैले २०४३ सालमा कलेज पढ्दाखेरि नेविसंघका तत्कालीन नेता होमराज दाहाल दाइमार्फत सदस्यता लिएर आफ्नो राजनीति सुरु गरेको हो।

त्यसयता मैले निरन्तर रूपमा ४० वर्षसम्म नेपाली कांग्रेसका विभिन्न पदमा रहेर अविच्छिन्न रूपमा काम गरेँ। त्यसैले अब केन्द्रीय राजनीतिमा पनि रहेर देश, जनता, प्रजातन्त्र र पार्टीको संस्थागत विकासका लागि केही गर्न सक्छु भन्ने हुटहुटी ममा रह्यो। म आफू यसका लागि सक्षम छु भन्ने लागेपछि नै मैले सभापतिमा उम्मेदवारी दिएको हुँ।

तपाईँमाथि एउटा आरोप पनि लागिरहेको छ— तपाईंलाई त प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिन लगाउनुभएको हो, उहाँहरूले नै अघि सार्नुभएको हो भनिन्छ नि?

उहाँहरूले नै उठाउनुभएको भन्ने कुरा गलत हो। तर, नियमित महाधिवेशन र विशेष महाधिवेशनको प्रसङ्गमा पार्टी विभाजित हुँदा पक्कै पनि नियमित महाधिवेशन नै हुनुपर्छ भन्ने मेरो अडान थियो।

विशेष अधिवेशन भयो भने पार्टी संकटमा जान्छ र विभाजित हुने स्थितिसम्म पुग्न सक्छ भन्ने हाम्रो पहिलेकै ठम्याइ थियो।

अहिले हेर्नुहोस्, हामी १५औँ महाधिवेशनको केन्द्रीय अधिवेशन गर्दैछौँ भने तपाईंले नाम लिनुभएका नेताहरू अहिले वडा र पालिका स्तरको अधिवेशन गर्दै हुनुहुन्छ।

नियमित अधिवेशन समयमै भएको भए यो स्थिति आउँदैनथ्यो कि भन्ने लाग्छ। पार्टी राजनीति गर्दा पक्कै पनि तपाईंले नाम लिएका नेताहरूसँग म नजिकै थिएँ, उहाँहरूसँग निकट भएर काम गरेकै हो। तर अहिलेको उम्मेदवारी भने लोकतन्त्र संस्थागत हुनुपर्छ र पार्टीको आन्तरिक लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्छ भन्ने मेरो आफ्नै उद्देश्यका साथ भएको हो।

सभापतिमा जित्नु भएन भने फेरि तपाईँ चुनदेवीमा सम्पर्क कार्यालय रहेका कांग्रेस नेताहरूसँग निकट हुनुहुनेछ भन्ने हल्ला पनि सुनिन्छ, यसमा कत्तिको सत्यता छ?

मैले भनिहालेँ नि। म नेविसंघमा लाग्दाखेरि नै नेपाली कांग्रेसको आदर्श र सिद्धान्तबाट प्रभावित भएको हो। राष्ट्रियता हाम्रो आदर्श हो, लोकतन्त्र हाम्रो सिद्धान्त हो र समाजवाद हाम्रो कार्यक्रम हो। यी तीन कुरालाई हेरेर नै म नेपाली कांग्रेस बनेको हुँ।

त्यसैले यी तीनवटा कुरालाई अगाडि बढाउन नेपाली कांग्रेसले मात्रै सक्छ। रूख चुनाव चिन्ह र चार तारा बोकेको नेपाली कांग्रेसमै म रहन्छु। मेरा लागि सभापति हुनु या नहुनु गौण कुरा हो।

तपाईँले सभापति उम्मेदवार गगन थापालाई पढाउनुभएको भन्ने कुरा पनि आएको छ, आफ्नै विद्यार्थीसँग प्रतिस्पर्धा गर्दा कस्तो महसुस गरिराख्नुभएको छ?

उहाँ सिद्धार्थ वनस्थली विद्यालयमा पढ्नुहुन्थ्यो, म त्यतिबेला त्यहाँको शिक्षक थिएँ। राजनीतिक प्रतिस्पर्धामा संयोगवश हामी आमनेसामने भएका हौँ। लोकतन्त्रमा त प्रतिस्पर्धा गरेर नै नेतृत्वमा चुनिनुपर्छ।

कोलकाता महाधिवेशनदेखि अहिलेसम्म आइपुग्दा स्व. बीपी कोइराला समेत प्रतिस्पर्धाबाट नै सभापति चुनिनुभएको हो। त्यसैले आन्तरिक लोकतन्त्र बलियो बनाउन प्रतिस्पर्धा आवश्यक छ। गगन थापाजी तत्कालीन समयमा पनि एकदमै होनहार विद्यार्थी हुनुहुन्थ्यो, उहाँ विलक्षण प्रतिभाको धनी हुनुहुन्थ्यो। त्यसैले उहाँले नेतृत्व गरेको कुरामा मलाई कुनै शङ्का छैन।

विशेष अधिवेशन भयो भने पार्टी संकटमा जान्छ र विभाजित हुने स्थितिसम्म पुग्न सक्छ भन्ने हाम्रो पहिलेकै ठम्याइ थियो।

तर पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनुपर्छ र आन्तरिक प्रतिस्पर्धा हुनुपर्छ भन्ने मेरो स्पष्ट मान्यता हो। आन्तरिक प्रतिस्पर्धाबाट चुनिएर आएको नेता अझ अब्बल र सबल हुन्छ भन्ने विश्वासका साथ मैले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।

आज बिहान १० बजे मतदान हुने कार्यतालिका थियो, त्यसलाई सारेर १ बजे पुर्‍याइयो। त्यसपछि पनि मतदान सुरु हुन सकेन र अब भोलि बिहान ७ बजेबाट मात्रै सुरु हुने भनिएको छ, यसलाई कसरी लिनुहुन्छ?

हामीले निर्वाचन समितिसँग छलफल गरेरै केही समयपछि मतदान सुरु गर्ने निर्णय गरेका हौँ। उम्मेदवारको संख्या र मतदाताको नामावली लगायतका प्राविधिक तयारी गर्न केही समय लाग्छ भन्ने हाम्रो भनाइ थियो। त्यसैले विभिन्न प्राविधिक कारणले गर्दा मात्र चुनाव सर्न गएको हो, अन्यथा अरू कुनै कारणले होइन।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?