+
+
Shares

आचार संहिताको धज्जी : प्रचार सामग्रीले भरियो कांग्रेस महाधिवेशनस्थल (फोटो फिचर)

महाधिवेशन स्थल खुलामञ्ज,  राष्ट्रियसभागृह र भृकुटीमण्डप क्षेत्र पूरै प्रचार सामग्रीले फोहोर देखिएको छ । जताततै भित्ताभरि र सडकभरी उम्मेदवारका पर्चा, पम्पलेट, ब्यानर टाँसिएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असोज २२ गते १५:३८

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज नयाँ केन्द्रीय कार्यसमितिका लागि मतदान हुँदैछ । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदहरूमा सयौं संख्यामा उम्मेदवारहरू भिड्दैछन्।

कांग्रेसले यसपटक निर्वाचन आचारसंहितमा उम्मेदवारहरूलाई भड्किलो प्रचारसामग्री प्रयोगमा रोक लगाएको थियो । महाधिवेशनअघि निर्वाचन समितिले जारी गरेको आचारसंहितामा तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्णतया रोक लगाइने भनेको थियो।

विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको निर्वाचन समितिमा सदस्य सचिव राजु कटुवालले बताएका थिए ।

त्यस्तै सभापति गगन थापाले पनि यी क्षेत्रमा प्रचार सामग्रीहरू नराख्न निर्देशन नै दिएका थिए। बुधबारको बन्दसत्रमा उनले भनेका थिए, ‘हाम्रो महाधिवेशनस्थल वरपर प्रचार सामग्रीहरू राख्ने, पर्चापम्लेट टाँस्ने काम कसैले पनि नगरौँ ।  केही साथीहरूको देखिएको छ। त्यसलाई हटाउँ। तपाईंहरूले नहटाए भोलेन्टियर साथीहरूले हटाउनुहुनेछ।’

तर, बिहीबार महाधिवेशन स्थल खुलामञ्ज,  राष्ट्रियसभागृह र भृकुटीमण्डप क्षेत्र पूरै प्रचार सामग्रीले फोहोर देखिएको छ । जताततै भित्ताभरि र सडकभरी उम्मेदवारका पर्चा, पम्पलेट, ब्यानर टाँसिएका छन् । भुइँमा असरल्ल छरिएका प्रचार सामग्री प्रतिनिधिहरूले कुल्चिँदै हिँडिरहेका छन्।

निर्वाचन समितिले आचारसंहिता अनुसार प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण प्रतिबन्ध, महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको भनेको थियो ।

यस्तै महाधिवेशन स्थल बाहिर प्रचारप्रसार गर्न नपाइने, महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन गर्न सख्त मनाही गरिएको निर्वाचन समितिको भनाइ थियो ।

प्रचारका लागि डिजिटल तथा प्रविधिमैत्री प्रचारप्रसार मात्र अनुमति आचारसंहितामा उल्लेख छ । यस्तै, सभापति गगन थापाले नै पटकपटक भाषणमार्फत भद्दा प्रचार नगर्न आग्रह गरेका थिए ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?