+
+
Shares

कांग्रेसको मतदान : लाग्नसक्छ एकै जनालाई आधा घण्टा समय

मतदान स्थल निर्माणमा सहभागीले दिएको जनाकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने सक्छ । उनका अनुसार मतदानका लागि समितिले दुई लाख मतपत्रहरू छापेको छ । एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ ।

केशव सावद केशव सावद
२०८३ असोज २२ गते २०:१७

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार बिहानबाट मतदान सुरू हुने भएको छ । मतदानका लागि आवश्यक तयारी नपुगेपछि केन्द्रीय निर्वाचन समितिले बिहीबार अन्तिम समयमा आएर मतदान प्रक्रिया शुक्रबारका लागि सारेको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरू हुने जानकारी दिएका छन् ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिए पनि साँझमा मतदान सुरू गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले शुक्रबार बिहानदेखि नै थालिने बताए । उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले पनि ‘मिडिया ब्रिफिङ’मा खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरू गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ बजेदेखि मात्रै मतदान थालिने जानकारी दिए ।

उनले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएकाले शुक्रबार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने जानकारी दिए ।

निर्वाचन समितिले मतदानका लागि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरेको छ । संयोजक खड्काकाअनुसार राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गर्ने छन् ।

निर्वाचन समितिले बागमती प्रदेशमा १४ सय ९१ जना महाधिवेशन प्रतिनिधि रहेको जनाएको छ । खुलामञ्चमा बाँकी ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने छन् ।

खुलामञ्चमा बन्दसत्रका लागि तयार गरिएका तीन वटा हलहरूलाई मतदान केन्द्रका रुपमा परिणत गरिएको छ । जनअनुसार तराई–मधेश हललाई कोशी र मधेश प्रदेशका लागि छुट्याइएको छ ।

हिमाल हलमा गण्डकी प्रदेशका मतदातले मतदान गर्ने छन् । पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने समितिले जनाएको छ ।

निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा एक, खुलामञ्चमा रहेको तराई–मधेश हलमा दुई, हिमाल हलमा एक र पहाड हलमा दुई वटा बुथ स्थापना गरेको छ । एक बुथमा २३ वटा मतपेटिकाहरू राखिएको छ ।

मतदान स्थल निर्माणमा सहभागीले दिएको जनाकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने सक्छ । उनका अनुसार मतदानका लागि समितिले दुई लाख मतपत्रहरू छापेको छ ।

एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको बताएका छन् ।

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरेर ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा लगिने बताएको छ ।

संयोजक खड्काले मतदान सम्पन्न भएपछि मतपेटिकाहरू सानेपा लगेर आवश्यक प्रक्रिया पूरा गरेपछि मतगणना सुरू हुने बताएका छन् ।

१५औं महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् ।

परिचयपत्र र मतदाता नामावली रुजु गरिने

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गएर मतदान गर्न आग्रह गरेको छ ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने छ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने बताएको छ । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउने सदस्य सचिव कटुवालको भनाइ छ ।

आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाइँ खर्च र खाना खर्च पार्टीले नै ब्यहोर्ने बताए ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?