कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गर्दै लोकतन्त्रको व्याख्या गरेका छन् । उनले लोकतान्त्रिक संस्कृति विनाको लोकतन्त्र प्रक्रियामा मात्र सीमित हुने धारणा राखेका छन् । उनले अहिलेको अवस्थामा लोकतन्त्र कस्तो भइरहेको भन्ने पनि व्याख्या गरेका छन् ।
उनको प्रतिवेदनको अंश यस्तो छ :
लोकतान्त्रिक संस्कृति बेगरको लोकतन्त्र, नीरस प्रक्रिया मात्र !
निर्वाचन हुने र निर्वाचनबाट सरकारको नेतृत्व चयन हुने प्रक्रियालाई मात्रै अबको दुनियाँमा उन्नत लोकतन्त्रका रूपमा परिभाषित गर्न सकिन्न l ‘हाउ डेमोक्रेसी डाइज्’ मा हार्वर्ड युनिभर्सिटीका विख्यात द्वय विद्वान लेख्छन् – `लोकतन्त्र मर्न सक्छ, तर सैनिक जर्नेलको बन्दुकबाट होइन, निर्वाचित नेतृत्वको हातबाट´ । निस्चयनै मुलुकको कानुन, विधि र संस्थाहरुको मर्यादा राखिएन भने न्यायपालिका, व्यवस्थापिका र स्वतन्त्र प्रेसको मर्यादा भत्काइयो भने बुझ्नुपर्छ लोकतन्त्रको अस्थिपन्जर मात्रै बाँकी छ/बाँकी रहन्छ ।
विश्वव्यापी रूपमा यो चिन्ता र विश्लेषण जो गरिंदै आएको छ, त्यसलाई आजको नेपालको वस्तुगत स्थितिको ईमानदार समिक्षासाथ जननिर्वाचित सरकार र जिम्मेवार प्रतिपक्षले एकसाथ गहिरो मनन गर्न जरुरी छ ।
प्रक्रियासँगै प्रवृत्ति प्रधान हुन्छ भन्ने हेक्का हामी सबै थरी दल र सबै राजनीतिकर्मीले गहिरोसँग राख्न जरुरी छ । जेनजी विद्रोहपछि नेपाली समाजको अपेक्षा यो सन्दर्भमा अझै बलियोसँग बदलिएको छ l हामी स्पष्ट हुनुपर्छ- देखिने प्रक्रियामा भन्दा भोगिने प्रवृत्तिमा लोकतन्त्र बढी अनुभूत हुन सक्नुपर्छ ।
अन्यथा लोकतान्त्रिक संस्कृति बेगरको लोकतन्त्र, निरस प्रक्रिया मात्र बन्न पुग्छ l त्यसको मुल्य लोकतन्त्रको गर्भबाट जन्मिने अलोकतान्त्रिक प्रवृत्तिले त चुकाउनुपर्छ नै अन्ततः ढिलोचाँडो त्यसले समग्र देशको खुशी, शान्ति र अग्रगतिलाई गम्भीर असर पुर्याउँछ ।

नेपाली काँग्रेस लोकतन्त्र र लोकतान्त्रिक अभ्यासलाई निरस प्रक्रिया मात्रै बन्न नदिन दृढ प्रतिबद्ध छ l आज प्रतिपक्षको र भोलि सरकारको नेतृत्वमा पुग्दा यो प्रतिबद्धतालाई ढृढ ढंगले आत्मसात गरिरहन र ब्यवहारमा उतार्न काँग्रेस संकल्पबद्द छ ।
लोकतन्त्रको केन्द्रमा `मान्छेको मूल्य´
सामान्यतया `मान्छेको मूल्य´ सुन्दै गर्दा अनौठो या अस्वभाविक शब्दावली लाग्नसक्दछ l तर जब सत्ताले अनधिकृत या वैधानिक ढंगले नै सहि कुनै कदम चाल्दा मानवीय प्रश्नलाई गौण र कानुनका चिसा अक्षरलाई प्रधान ठान्न पुग्छ तब `मान्छेको मुल्य´ को प्रश्न बेजोड ढंगले उठ्छ नै । बीपी कोइरालाको दर्शनले सदैव `मान्छे´ लाई केन्द्रमा राख्यो l कम्युनिस्ट दर्शनसँग लोकतान्त्रिक मुल्यको गम्भीर विमतिको सार पनि त्यहि थियो ।

फागुन २१ पछि बनेको सरकारलाई सुकुम्बासी व्यवस्थापनको प्रश्नमा संयमतासाथ कार्य गर्न सबै दलको एक्यवद्ध समर्थन जुट्न सक्दथ्यो l तर नयाँ सरकारको नेतृत्वमा `पुरानो आवेग´ हावी रहँदा, त्यसले मध्य बर्खामा बालबालिका, वृद्धवृद्दा, सुत्केरी कसैलाई पनि कुनै मानवीय संवेदनशीलता ख्याल नगरि उठिबास लगायो l
हुनसक्छ ती मध्ये कयौंको बसाई वैधानिक थिएन, तर त्यसो भनिरहँदा ति प्रत्येक मान्छेको जन्म र जिन्दगी अवैधानिक पक्कै थिएन । `मान्छेको मुल्य´ को प्रश्न त्यसैले यहाँनेर उठ्छ र जबर्जस्त ढंगले उठ्छ ।
हो लोकतन्त्रले निस्चय नै बहुमतको शासन भन्छ,
तर लोकतान्त्रिक संस्कृतिले केवल एउटा अदना नागरिकले माइतीघरमण्डलमा उभिएर `मलाई अन्याय भयो सरकार´ भन्ने प्लेकार्ड देखाउँदा `राज्यले सुन्यो कि सुनेन´ त्यो हेर्छ ।

परम्परागत परिभाषामा `लोकतन्त्र भन्नु बोल्ने अधिकार´ थियो, आजको समयमा `बोलेको सुनियो कि सुनिएन, सुनुवाइ भयो कि भएन´ लोकतन्त्रको परीक्षण अब यसरी हुन्छ ।
अर्थात लोकतान्त्रिक संस्कृतिमा `मान्छेको मूल्य´ अनमोल हुन्छ र यो निर्वाचनमा पाइने `मान्छेको भोट´ भन्दा प्रधान हुन्छ l अस्थायी भोटको तागतमा, स्थायि मान्छेको अवमूल्यन लोकतान्त्रिक संस्कृतिको कुनैपनि कोणबाट जायज ठहर्दैन ।
नेपाली काँग्रेस लोकतन्त्रको केन्द्रमा सदैब नागरिक सम्प्रभुतालाई राख्नु लोकतान्त्रिक संस्कृतिको आधारभुत सौन्दर्य मान्दछ । नागरिकको वैयक्तिक मर्मलाई संवेदनशील ढंगले सम्बोधन गर्न कांग्रेस सदैव प्रतिबद्ध रहनेछ ।
राजनीतिप्रति पछिल्लो पुस्ताको प्रश्न र विश्वास !
०७२ मा नयाँ संविधान बनेपछिको उर्वर दशकमा उन्नत ढंगले सत्ता संचालन र समुन्नतिको यात्रामा नवीन `डिपार्चर´ को अवसर गुमेपछि, त्यहि अवधिमा हुर्किएको पछिल्लो पुस्ता राजनीतिप्रति गम्भीर ढंगले विकर्षित हुन पुग्यो l राजनीतिलाई पद र शक्तिको खेलका रूपमा मात्र अनुभव गर्ने स्थिति भोगेपछि लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुँदै गयो ।

विश्वास कमजोर भएपछि आफ्नो गाउँ समाजमा भएको प्रगति र आफ्नो व्यक्तिगत जीवनले लोकतान्त्रिक पद्धतिका कारण प्राप्त गरेको थोरबहुत लाभ पनि उसले देख्न छोड्यो ।
जब प्रधानमन्त्री पदको `म्युजिकल चेयर´ को आलोपालो / आलोपालो चल्यो, त्यो दृश्यले निराश भएको युवामाझ `३५ वर्षमा देशमा केहि भएन´ भन्ने भास्य जबर्जस्त ढंगले भर्न संसदीय लोकतान्त्रिक प्रणालीका विपक्षीहरुलाई सफलता मिल्यो l Genz विद्रोहमा हजारौं युवालाई गाँस्न यो भास्यले महत्त्वपूर्ण भूमिका निभाएको थियो ।
०८२ भदौको त्यो विद्रोहमा जीवन गुमाएका युवा र अन्यप्रति काँग्रेस १५ औं महाधिवेशनको यो बन्द सत्र भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । त्यो विद्रोह मार्फत युवाहरूले व्यक्त गरेको अपेक्षा सम्बोधन गर्ने दिशामा इमानदार ढंगले कर्म गर्ने प्रतिबद्धता दोहोर्याउँदछ ।
पछिल्लो पुस्ताले नियमित रुपमा उठाउने प्रश्नको नियमित सम्बोधनले मात्रै तिनको विश्वासलाई राजनीति र राज्यप्रणालीसँग निरन्तर जोड्न सकिन्छ भन्ने तथ्यलाई सबै राजनैतिक दल र सरकारले गम्भीर हेक्का राख्न जरुरी छ ।
प्रतिक्रिया 4