युक्रेनमा अधिकारीहरूले यात्रुवाहक बसलाई लक्षित गरी गरिएको रुसी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएका छन् ।
उद्धार अधिकारीहरूका अनुसार अग्रपंक्तिमा रहेको क्रामातोर्स्क सहरमा सर्वसाधारण यात्रु बोकेका दुईवटा बसमा रुसी ग्लाइड बमबाट आक्रमण गरिएको हो ।
डोनेत्स्क क्षेत्रका प्रमुख वादिम फिलाश्किनले आक्रमणमा थप १८ जना घाइते भएको बताएका छन् ।
उनले धेरैभन्दा धेरै सर्वसाधारणको हत्या गर्ने उद्देश्यले यात्रुवाहक बसलाई लक्षित गरेको आरोप रुसमाथि लगाएका छन् ।
स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्वीरमा सडकमा छरिएको भग्नावशेष र जलिरहेको बस देखिएको छ ।
क्रामातोर्स्क र छिमेकी सहर स्लोभियान्स्क रुसले कब्जा गर्न खोजिरहेको भनिएको सुदृढ क्षेत्रमा पर्छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको सम्पूर्ण औद्योगिक क्षेत्र डोनबासमाथि आफ्नो दाबी गर्दै आएका छन् ।
रुसले पछिल्लो आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । देशभर रुसी आक्रमणमा अचानक वृद्धि भइरहेका बेला यो घटना भएको हो ।
संयुक्त राष्ट्रसंघका अनुसार यस वर्ष अगस्टसम्म युक्रेनमा रुसी आक्रमणका कारण मारिएका सर्वसाधारणको संख्या सन् २०२५ को पूरै वर्षमा मारिएका सर्वसाधारणको संख्याभन्दा बढी भइसकेको थियो ।
प्रतिक्रिया 4