News Summary
Generated by OK AI. Editorially reviewed.- पाठमा जीवनलाई आफ्नै आँखाले हेर्न, आफ्नै हृदयले अनुभव गर्न र आफ्नै चेतनाले सत्य पहिचान गर्न सकिने भनिएको छ।
- लेखमा शास्त्र र सिद्धान्तलाई अन्तिम सत्य ठान्दा प्रत्यक्ष अनुभूति र चित्तको ताजगी कुण्ठित हुने उल्लेख गरिएको छ।
जीवनलाई बुझ्न हामीलाई सधैँ शास्त्र चाहिन्छ र ? सत्यसम्म पुग्न अरू कसैले कोरेका मार्गहरू नै पछ्याउनुपर्छ र ? के हामी आफ्नै आँखाले जीवनलाई हेर्न, आफ्नै हृदयले त्यसलाई अनुभव गर्न र आफ्नै चेतनाले त्यसको सत्य पहिचान गर्न सक्दैनौँ ?
कहिलेकाहीँ धेरै जानेको बोझले जान्नुपर्ने कुरालाई नै ओझेलमा पारिदिन्छ । ज्ञानका नाममा सङ्कलित सिद्धान्तहरूको थुप्रोले जीवनलाई बुझ्ने सहज दृष्टिलाई छोपिदिन्छ।
शास्त्र आफैँमा बाधक होइनन्, तर जब हामी शास्त्रलाई नै अन्तिम सत्य ठान्छौँ, तब सत्यको प्रत्यक्ष अनुभूति गर्ने हाम्रो क्षमता क्रमशः कुण्ठित हुन थाल्छ। सिद्धान्तहरूले हाम्रो मनमा पक्ष निर्माण गर्छन्, धारणाहरूले दृष्टिलाई सीमित बनाउँछन् र पूर्वाग्रहहरूले जीवनलाई जस्तो छ, त्यस्तै देख्न दिँदैनन्।
जहाँ मन विचारले भरिएको हुन्छ, त्यहाँ जीवनलाई निःशब्द भएर सुन्ने ठाउँ कहाँ बाँकी रहन्छ ?
चिन्तनका लागि यस्तो चित्त चाहिन्छ, जो ज्ञानको अहंकारबाट मुक्त होस्, जो कुनै निष्कर्षको कैदी नहोस्, जो पूर्वाग्रहको चस्मा नलगाई जीवनको सामना गर्न सकोस्। जीवनलाई बुझ्न जीवनमाथि आफ्ना धारणाहरू थोपर्नु होइन, बरु धारणाहरूको पर्दा हटाएर जीवनलाई आफ्नै स्वरूपमा प्रकट हुन दिनु आवश्यक छ।
जब समाधानहरू हाम्रा लागि समस्याभन्दा बढी महत्त्वपूर्ण बन्छन्, तब हामी समस्यालाई बुझ्न छाडेर आफ्ना तयार उत्तरहरूभित्र त्यसलाई अटाउन खोज्छौँ । जीवनले जे भनिरहेको हुन्छ, हामी त्यो सुन्दैनौँ; हामी त आफ्ना सिद्धान्तहरूले जे सुनाउँछन्, त्यही मात्र सुन्छौँ।
यसरी समाधानको खोजीमा हामी सत्यबाटै टाढिन पुग्छौँ। समस्यालाई जस्ताको तस्तै बुझ्नुको सट्टा त्यसलाई सिद्धान्तको साँघुरो घेराभित्र कैद गर्छौँ। परिणामतः समस्या समाप्त हुँदैन, बरु नयाँ रूप धारण गरेर अझ जटिल बन्दै जान्छ।
मानव इतिहासका अनेकौँ द्वन्द्व, विरोधाभास र विडम्बनाहरूलाई नियाल्दा एउटा गम्भीर प्रश्न उठ्छ- हाम्रो विचार र व्यवहारबीच यति ठूलो दूरी किन छ ? हामी जे सही ठान्छौँ, त्यहीअनुसार बाँच्न किन सक्दैनौँ ?
हामी प्रेमको कुरा गर्छौँ, तर व्यवहारमा घृणा बोकेर हिँड्छौँ। शान्तिको उपदेश दिन्छौँ, तर आफ्नै मनभित्र अशान्तिका ज्वालाहरू सल्काइरहन्छौँ। स्वतन्त्रताको पक्ष लिन्छौँ, तर आफ्नै धारणाका कैदी बनेर बस्छौँ।
सायद यसको एउटा गहिरो कारण यही हो कि हामीले जीवनका सत्यहरूलाई बुझ्नुको सट्टा, जीवनमाथि बाहिरबाट प्राप्त समाधानहरू थोपर्न खोज्यौँ। हाम्रा समाधानहरू बुद्धिमा थिए, तर समस्याहरू हाम्रो जीवित अनुभूतिमा थिए । सिद्धान्तहरू माथिबाट आएका थिए, तर द्वन्द्वहरू हाम्रो अस्तित्वको गहिराइमा जरा गाडेर बसेका थिए।
बुद्धिले एउटा कुरा भन्छ, जीवनले अर्कै कुरा अनुभव गर्छ । आदर्श एउटा दिशामा तान्छ, हाम्रो वास्तविकता अर्कै दिशामा बग्छ। यही आन्तरिक विभाजनले मानिसलाई आफैँभित्र द्वन्द्वरत बनाएको छ।
सभ्यताको चमकभित्र लुकेको यो मानसिक विखण्डन आज झन् गहिरो बन्दै गएको छ। बाहिर हामीले असङ्ख्य साधन र सुविधा निर्माण गरेका छौँ, तर भित्रको अशान्तिलाई बुझ्ने कला कति सिक्यौँ ? संसारलाई बदल्ने सामर्थ्य त बढायौँ, तर आफूलाई हेर्ने निर्मल दृष्टि कति विकसित गर्यौँ ?
डराएर मात्र यो अवस्थाबाट मुक्ति सम्भव छैन। आवश्यक छ त केवल साहसपूर्वक आफूलाई हेर्ने, आफ्ना विश्वासहरूलाई जाँच्ने र जीवनका वास्तविक समस्याहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने साहस।
के हामी जीवनलाई सीधै हेर्न सक्दैनौँ, जसरी कुनै बालकले पहिलोपटक संसार देख्दा हेर्छ— निष्कलुष आँखाले, विस्मयले भरिएको हृदयले र कुनै पूर्वनिर्धारित निष्कर्षबिना ?
पहिलोपटक फूल देख्ने बालकलाई फूलको नाम थाहा नहुन सक्छ, त्यसको वर्गीकरण थाहा नहुन सक्छ, त्यसको वैज्ञानिक संरचनाबारे ज्ञान नहुन सक्छ। तर ऊ फूलको सौन्दर्यसँग प्रत्यक्ष साक्षात्कार गर्न सक्छ। उसको आँखामा विस्मय हुन्छ, मनमा ताजगी हुन्छ र अनुभूतिमा जीवन्तता हुन्छ।
हामी भने फूललाई देख्नुभन्दा पहिले नै त्यसको नाम सम्झन्छौँ, त्यसको परिचय खोज्छौँ र त्यसबारे आफूले जानेका कुराहरू दोहोर्याउँछौँ। यसरी कहिलेकाहीँ हामी वस्तुलाई देख्दैनौँ, केवल त्यसबारे आफ्नो स्मृतिलाई देख्छौँ।
यही प्रश्न साधनाका सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण छ।
के साधना मानिसलाई जीवनसँग जोड्नका लागि हो, कि जीवनबाट टाढा लैजानका लागि ?
यदि साधनाले चित्तलाई यति बोझिलो, जटिल र पुरानो बनाइदिन्छ कि मानिसको जीवनसँगको प्रत्यक्ष सम्बन्ध नै टुट्न पुग्छ भने त्यस्तो साधनाले आफ्नो मूल उद्देश्य गुमाएको हुन्छ।
साधनाले मानिसलाई ज्ञानको भार बोक्ने पात्र मात्र बनाउनु हुँदैन; उसलाई जीवनको सौन्दर्य अनुभव गर्न सक्ने, प्रश्न गर्न सक्ने र सत्यलाई आफ्नै विवेकले पहिचान गर्न सक्ने चेतनशील व्यक्तित्वका रूपमा विकसित गर्नुपर्छ।
ज्ञान हुनु सुन्दर कुरा हो, तर ज्ञानको बोझले विस्मय हराउनु दुःखद कुरा हो। अनुभवबाट सिक्नु महत्त्वपूर्ण छ, तर अनुभवलाई पुराना निष्कर्षहरूको कैदी बनाउनु दुर्भाग्य हो। साधनाले हाम्रो स्मरणशक्ति बढाओस्, तर हेर्ने क्षमता नखोसोस्; बुद्धि विकसित गरोस्, तर हृदयको संवेदनशीलता नमारोस्, विचार गर्न सिकाओस्, तर विचारभन्दा पर रहेको मौनलाई अनुभव गर्ने सम्भावना पनि जीवित राखोस्।
किनकि जीवनको ज्ञान केवल सूचनामा सीमित छैन। जीवनमा आनन्द छ, सौन्दर्य छ, रहस्य छ र यी सबैको अनुभूतिका लागि ताजा, खुला र जिज्ञासाले भरिएको चित्त चाहिन्छ।
शरीरको वृद्धावस्था समयको स्वाभाविक यात्रा हो। शरीर थाक्न सक्छ, आँखाको दृष्टि कमजोर हुन सक्छ र इन्द्रियहरूको शक्ति क्षीण हुन सक्छ। तर, चित्तको ताजगी उमेरको अधीनमा रहनैपर्छ भन्ने छैन। चित्तले जीवनभर नयाँ कुरा सिक्न, पुराना धारणाहरूलाई पुनः जाँच्न, आफ्ना भूलहरू स्वीकार गर्न र हरेक बिहान संसारलाई नयाँ आँखाले हेर्न सक्छ।
यही हो जीवित चित्त जसले जानेको कुरामा अहङ्कार गर्दैन, नजानेको कुरासँग डराउँदैन र प्रत्येक नयाँ क्षणलाई एउटा नयाँ सम्भावनाका रूपमा स्वीकार गर्छ।
यस्तो चित्तमा जीवनप्रति विस्मय हुन्छ, अरूप्रति करुणा हुन्छ र आफूलाई बुझ्ने गहिरो आकाङ्क्षा हुन्छ। त्यहाँ विचारहरू हुन्छन्, तर विचारको दासता हुँदैन। ज्ञान हुन्छ, तर ज्ञानको अहङ्कार हुँदैन। अनुभव हुन्छ, तर अनुभवले नयाँ सत्यको ढोका बन्द गरेको हुँदैन।
सायद यही चित्तले जीवन र मृत्युका रहस्यहरूसँग नजिकबाट साक्षात्कार गर्न सक्छ। किनकि मृत्युको रहस्य बुझ्न जीवनलाई गहिराइमा बुझ्नुपर्छ, र जीवनलाई बुझ्न आफूले जीवनबारे बनाएका धारणाहरूभन्दा पर गएर त्यसलाई अनुभव गर्नुपर्छ।
धार्मिक चित्त हुनु भनेको कुनै विशेष विश्वासको बोझ बोक्नु मात्र होइन, यो त सत्यप्रति खुला, जीवनप्रति संवेदनशील र आफ्नै अन्तरमनप्रति सजग हुनु हो। यस्तो चित्तले प्रत्येक क्षणलाई नयाँ आँखाले हेर्छ, प्रत्येक अनुभवबाट सिक्छ र प्रत्येक मौनमा जीवनको कुनै न कुनै सूक्ष्म सङ्गीत सुन्न सक्छ।
जीवनलाई बुझ्ने यात्रा अरू कसैको निष्कर्षमा पुगेर समाप्त हुँदैन। यो त आफूभित्रको अज्ञानलाई चिन्ने, आफ्ना पूर्वाग्रहहरूलाई पगाल्ने र जीवनलाई जस्तो छ, त्यस्तै स्वीकार गर्ने निरन्तर अभ्यास हो।
जीवनलाई जान्न सायद धेरै कुरा थपिरहनु आवश्यक छैन, कहिलेकाहीँ अनावश्यक रूपमा थुप्रिएका धारणाहरू हटाउनु मात्र पर्याप्त हुन्छ।
जब मन निष्कर्षको बोझबाट हलुका हुन्छ, दृष्टि निर्मल बन्छ । जब दृष्टि निर्मल हुन्छ, जीवन आफ्नै सौन्दर्यमा प्रकट हुन थाल्छ। अनि हामी जीवनलाई केवल बुझ्ने प्रयास गर्दैनौँ, हामी त्यसलाई अनुभव गर्न थाल्छौँ।
त्यहीँ ज्ञान अनुभूतिमा रूपान्तरित हुन्छ, अनुभूति आनन्दमा फुल्छ र मौनभित्र चेतनाको एउटा नयाँ आकाश खुल्छ।
सायद ज्ञान, साधना र जीवन तीनैको गन्तव्य यही हो— चित्तलाई यति स्वतन्त्र, सरल र जीवित बनाउनु कि उसले जीवनलाई कुनै पर्दाबिना देख्न सकोस्।
किनकि जीवन कुनै किताबमा बन्द गरिएको सिद्धान्त होइन। जीवन त प्रत्येक श्वासमा स्पन्दित सत्य हो, प्रत्येक फूलमा मुस्कुराइरहेको सौन्दर्य हो र प्रत्येक मौनमा आफूलाई प्रकट गर्न प्रतीक्षारत एउटा अनन्त रहस्य हो।
प्रतिक्रिया 4