+
+
Shares

ट्यांकी छ, घर-घरमा धारा छ तर पानी देख्नै मुस्किल

किशोर श्रेष्ठ किशोर श्रेष्ठ
२०८३ कात्तिक १० गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनकोशी गाउँपालिका–३ का ताम्लिङ, साधनबोट, मैनापुर र सिम्पानीका करिब ६० घरपरिवारलाई ट्यांकी र पाइप बने पनि धाराबाट नियमित पानी नआउँदा सास्ती भइरहेको छ।

काठमाडौं । गाउँमा खानेपानीको ट्यांकी बनेको छ । मुहानबाट पानी ल्याउन पाइप विस्तार गरिएको छ । घरघरमा धारा जडान गरिएका छन्। गाउँपालिकाले बजेट र पाइप उपलब्ध गराएको छ, स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । हेर्दा खानेपानीको समस्या समाधान भइसकेको जस्तो लाग्छ । तर धाराबाट पानी बग्दैन।

सुनकोशी गाउँपालिका–३ का ताम्लिङ, साधनबोट, मैनापुर र सिम्पानीका करिब ६० घरपरिवारले भोगिरहेको समस्या यही हो । निर्माण भइसकेको संरचनाबाट पानी नियमित रूपमा घरसम्म पुर्‍याउन नसक्दा उनीहरू हैरानी खेप्न विशश छन् ।

पाइप जोड्न आफैँ जानुपर्ने, त्यसका लागि घण्टौँ हिँड्नुपर्ने र जोडिएको पानी पनि नियमित नआउने अवस्थाले स्थानीयलाई सास्ती दिएको छ । विशेषगरी घरमा वृद्धवृद्धा मात्रै रहेका परिवारका लागि यो बाध्यता झनै कठिन बनेको छ।

‍ट्यांकी छ तर धारा सुक्खा

यस खानेपानी आयोजनाको मुहान सुनकोशी गाउँपालिका–४ स्थित तारेभीरमा छ । पानी सङ्कलन गर्ने ट्यांकी सुनकोशी गाउँपालिका–३ को ताम्लिङ थुम्कीमा निर्माण गरिएको छ । करिब ४ वर्षअघि निर्माण गरिएको ट्यांकी र विस्तार गरिएको पाइपलाइनले स्थानीयवासीको वर्षौंदेखिको समस्या समाधान गर्ने अपेक्षा गरिएको थियो।

आयोजना निर्माणका क्रममा गाउँपालिकाले बजेट तथा पाइप उपलब्ध गराएको थियो भने स्थानीयवासीले श्रमदान गरेका थिए । घरघरमा धारा जडान भएपछि पानी लिन टाढा जानुपर्ने बाध्यता अन्त्य हुने र दैनिक जीवन सहज बन्ने विश्वास उनीहरूले गरेका थिए । तर संरचना निर्माण भएको वर्षौं बितिसक्दा पनि धारामा नियमित पानी नआउँदा उनीहरूको आशा निराशामा परिणत भएको छ।

पहिले पानी लिन करिब दुई घण्टासम्म हिँड्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । खानेपानीको समस्या समाधान हुने अपेक्षासहित आयोजना निर्माणमा साथ दिएका उनीहरूले अब घरको धाराबाटै पानी पाउने सपना देखेका थिए। तर पानी सञ्चालन गर्न पाइप जोड्ने स्थानसम्म आफैँ पुग्नुपर्ने अवस्थाले उनीहरूको सास्ती पूर्ण रूपमा हट्न सकेको छैन।

स्थानीय कल्याणकुमार खुलालका अनुसार गाउँपालिकाले करिब एक वर्षअघि घरघरमा धारा जडान गर्न आवश्यक सामग्री उपलब्ध गराएको थियो । त्यसपछि स्थानीयवासीले आफैँ श्रम गरेर घरमा धारा जडान गरे । तर धारासम्म पानी पुर्‍याउने प्रणाली नियमित रूपमा सञ्चालन हुन नसक्दा जडान गरिएका धारा अपेक्षाअनुसार उपयोगमा आउन सकेका छैनन्।

खुलालका अनुसार पाइप जोड्न मिल्ने स्थानसम्म पुग्न करिब २ घण्टासम्म हिँड्नुपर्ने अवस्था छ । त्यहाँ पुगेर पाइप जोड्ने, पानी सञ्चालन गर्ने र आवश्यक परे पाइपलाइनको समस्या मिलाउने काम स्थानीयका लागि सहज छैन। बाटोमा पाइप काटिएमा वा बिग्रिएमा पानी आपूर्तिमा थप समस्या हुने गरेको पनि उनी बताउँछन्।

स्थानीयले उल्लेख गरेअनुसार पानी जोड्न जाने काममा अवस्था र दूरीअनुसार दुईदेखि चार घण्टासम्म समय खर्चिनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा घरमा वृद्धवृद्धा मात्रै भएका परिवारले कसरी पाइप जोड्न जाने ? शारीरिक रूपमा कमजोर व्यक्तिले उकालो–ओरालो बाटो पार गरेर पानी सञ्चालन गर्ने ठाउँसम्म कसरी पुग्ने? दैनिक आवश्यकताका काम छाडेर खानेपानीकै लागि घण्टौँ खर्चिनुपर्ने अवस्था कहिलेसम्म रहने ? यी प्रश्नको जवाफ स्थानीयले खोजिरहेका छन्।

पानी जोड्न जाने मान्छे नै छैनन्

स्थानीय भुवन ठकुरीका अनुसार पानी सञ्चालन गर्न पाइप जोड्ने काम नियमित रूपमा गर्ने व्यक्ति नहुँदा समस्या भइरहेको छ । कहिलेकाहीँ पाइप जोडेर पानी सञ्चालन गरिए पनि केही समयपछि बन्द हुने गरेको उनको गुनासो छ । ‘पानी जोड्न जाने मान्छे नै छैनन्, जोड्न गयो, एकछिनमै बन्द गरिदिन्छन्’ ठकुरी भन्छन्।

आयोजना निर्माण गरेर मात्र जिम्मेवारी पूरा हुँदैन । त्यसलाई नियमित रूपमा सञ्चालन गर्ने, पानी वितरणको जिम्मेवारी स्पष्ट पार्ने र समस्या आए तत्काल समाधान गर्ने व्यवस्था पनि हुनुपर्ने स्थानीयको माग छ ।

‘एक घर, एक धारा’ को लक्ष्य : व्यवहारमा भएन पूरा

सुनकोशी गाउँपालिकाले ‘एक घर, एक धारा’ को लक्ष्य अघि सारेको छ । घरघरमा धारा जडान हुनु यो लक्ष्यतर्फको एउटा महत्त्वपूर्ण कदम हो । तर धारा जडान भएर मात्र नागरिकले खानेपानीको सुविधा पाएको मान्न सकिँदैन । धाराबाट नियमित पानी बग्नुपर्छ, पानी वितरणको व्यवस्था भरपर्दो हुनुपर्छ र समस्या आए समाधान गर्ने संयन्त्र पनि सक्रिय हुनुपर्छ।

ताम्लिङ, साधनबोट, मैनापुर र सिम्पानीका स्थानीयको अनुभवले संरचना निर्माण र त्यसबाट सेवा उपलब्ध गराउने कामबीचको अन्तर देखाएको छ । सार्वजनिक बजेट खर्च गरेर ट्यांकी र पाइपलाइन बनाइए पनि सञ्चालनको व्यवस्थापन प्रभावकारी हुन नसके त्यसको प्रतिफल नागरिकसम्म पुग्न सक्दैन।

सुनकोशी गाउँपालिकाकी अध्यक्ष मीना दाहालले ती ठाउँमा धारामा अझै पानी नआएको विषयमा आफूलाई जानकारी नभएको बताएकी छिन् । ‘उक्त क्षेत्रमा यसअघि नै खानेपानी पुर्‍याइएको जानकारी आफूलाई रहेको तर तीनमा पानी नआएको कुरा भने आफूले थाहा नपाएको उनी सुनाउँछिन् ।

सांसद गजुरेलको प्रतिबद्धता

यस क्षेत्रका प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले स्थानीयवासीले भोगिरहेको समस्याबारे चासो व्यक्त गर्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने र प्रदेश तहबाट सम्बोधन गर्नुपर्ने विषयमा पहल गर्ने बताएका छन् ।

सार्वजनिक बजेटबाट निर्माण भएका पूर्वाधार प्रयोगविहीन अवस्थामा रहन नहुनेमा जोड दिँदै उनले निर्माण गरिएका तर प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेका संरचनालाई पूर्ण रूपमा उपयोगमा ल्याउन पहल गर्ने बताएका छन् ।

पाइपलाइनको प्राविधिक अवस्था जाँच गर्ने, पानी सञ्चालनमा अवरोध कहाँ छ भन्ने पत्ता लगाउने र पाइप जोड्ने कामको नियमित व्यवस्था मिलाउने विषयमा सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?