News Summary
Generated by OK AI. Editorially reviewed.- झाङ यिमिङ चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्, र हुरुनको सूचीमा एआईबाट सम्पत्ति आर्जन गर्ने १६० जना परेका छन्।
- हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या ६.६ प्रतिशतले बढेर १ हजार ५२९ पुगेको छ, भने अर्बपतिको सङ्ख्या १ हजार १७६ पुगेको छ।
- झोङ सानसानको सम्पत्ति २३ प्रतिशत घटेर ६१ अर्ब अमेरिकी डलरमा झरेपछि उनी दोस्रो स्थानमा पुगेका छन्, र साओमीका लेइ जुनको सम्पत्ति आधा घटेको छ।
- चीनमा एआई, अर्धचालक र रोबोटिक्स क्षेत्रका उद्यमी धनी भइरहेका छन्, तर उपभोक्ता र घरजग्गा क्षेत्रका व्यवसायीको सम्पत्ति घटेको हुरुनले जनाएको छ।
- चीनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्म ४.५ प्रतिशतले बढेको छ, र सरकारले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्मको वृद्धि लक्ष्य राखेको छ।
१० कात्तिक, बेइजिङ (रासस/एपी) । बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ ।
हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ । अमेरिकी डलरमा आधारित गणनाअनुसार अर्बपतिको सङ्ख्या पनि १५५ ले बढेर एक हजार १७६ पुगेको छ ।
हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन्। बाइटडान्सको ‘डुबाओ’ चीनमा सबैभन्दा बढी प्रयोग हुने एआई सहायक बनेको छ । यही कम्पनी लोकप्रिय छोटो भिडियो मञ्च डुइन र टिकटकको पनि सञ्चालक हो ।
बोतलको पानीका व्यवसायी झोङ सानसानको सम्पत्ति २३ प्रतिशत घटेर ६१ अर्ब अमेरिकी डलरमा सीमित भएपछि उनी दोस्रो स्थानमा झरेका छन्। विद्युतीय सवारीसाधनका लागि ब्याट्री उत्पादन गर्ने विश्वकै ठूलो कम्पनीका प्रमुख रोबिन जेङ तेस्रो स्थानमा छन्। एआई कम्पनी डीपसिकका संस्थापक लियाङ वेनफेङ सातौँ र एआई चिप निर्माता क्याम्ब्रिकनका अध्यक्ष चेन तियान्सी दसौँ स्थानमा रहेका छन्।
एआई, अर्धचालक र रोबोटिक्स क्षेत्रका उद्यमीको सम्पत्ति बढे पनि उपभोक्ता र घरजग्गा क्षेत्रका व्यवसायीको सम्पत्ति घटेको हुरुनले जनाएको छ । चिनियाँ विद्युतीय सामग्री निर्माता साओमीका अध्यक्ष लेइ जुनको सम्पत्ति आधा घटेर २५ अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ । पहिलोपटक चीनको मुख्यभूमिमा आधारित कुनै पनि रियलस्टेट डेभलपर शीर्ष १०० धनीको सूचीमा परेका छैनन् ।
सरकारी सहयोगका कारण एआई र विद्युतीय सवारीसाधन उद्योग विस्तार भइरहेका बेला उपभोक्ताले खर्च घटाउँदा साना व्यवसाय प्रभावित भएका छन् । घरजग्गा बजारको लामो मन्दीले पनि आन्तरिक माग कमजोर बनाएको छ ।
चीनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको थियो । चीनले यस वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । यो गत वर्षको पाँच प्रतिशत वृद्धिभन्दा केही कम हो ।
प्रतिक्रिया 4