+
+
Shares

क्षेप्यास्त्र प्रविधिमा एआईको प्रयोग, उत्तर कोरियाद्वारा परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १५:३०

१८ असोज, प्योङयाङ (रासस/एएफपी) ।  उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरीसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरिएको थियो । उक्त प्रविधिले क्षेप्यास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन गर्न सहयोग गर्ने दाबी गरिएको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटीय सहर वोन्साननजिकको क्षेत्रबाट शनिबार बिहान प्रक्षेपण गरिएको क्षेप्यास्त्रले ७ सय किलोमिटरभन्दा बढी दूरी तय गरेको थियो । सेनाले परीक्षणसम्बन्धी थप विवरण भने सार्वजनिक गरेको छैन ।

परीक्षणको निरीक्षणपछि किमले रणनीतिक क्षेप्यास्त्र सञ्चालन गर्ने सैनिकहरूले आफ्नो क्षमता र प्रतिकारात्मक तयारी प्रदर्शन गरेको बताउनुभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उनले देशको रणनीतिक सैन्य क्षमताको विश्वसनीयता कायम राख्न निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिएको बताइएको छ।

उत्तर कोरियाले उक्त परीक्षण सैनिकहरूलाई अतिध्वनिक रणनीतिक हतियार प्रणाली सञ्चालनसम्बन्धी प्रशिक्षण प्रदान गर्ने उद्देश्यले गरिएको जनाएको छ ।

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा किम क्षेप्यास्त्र प्रक्षेपणको निरीक्षण गरिरहेको देखिन्छ । अर्को तस्बिरमा उहाँ आफ्नी छोरी र पत्नी रि सोल जुका साथ देखिएका छन्।

किमकी छोरी जु ए सन् २०२२ मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका थिए। दक्षिण कोरियाली गुप्तचर निकायले पछिल्ला वर्षमा उनको सार्वजनिक तथा सैन्य कार्यक्रममा बढ्दो उपस्थितिका आधारमा सम्भावित उत्तराधिकारीका रूपमा उल्लेख गर्दै आएको छ ।

यो परीक्षण दक्षिण कोरियाली सेनाले सीमावर्ती क्षेत्रमा भएको विस्फोटमा तीन सैनिक घाइते भएपछि उत्तर कोरियासँग घटनाबारे स्पष्टीकरण मागेको केही दिनपछि भएको हो । उत्तर कोरियाले भने उक्त विस्फोटमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?