News Summary
Generated by OK AI. Editorially reviewed.- करण जोहरको ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ सिरिजको ट्रेलर सार्वजनिक भएको छ, जसमा शनाया कपुर दोहोरो भूमिकामा देखिनेछिन् ।
- सिरिजमा सेन्ट टेरेसा हेरिटेज स्कुलकी विद्यार्थी आयशा मलिकको रहस्यमय मृत्यु र उनकी जुम्ल्याहा बहिनी अदितीको अनुसन्धान देखाइएको छ ।
- ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नोभेम्बर १३ देखि जियोहटस्टारमा स्ट्रिमिङ हुने र यसले शनाया कपुरको ओटीटी डेब्यु जनाउनेछ ।
करण जोहरको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ अब नयाँ वेब सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ । ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नाम दिइएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ । यसमा अभिनेत्री शनाया कपुर दोहोरो भूमिकामा देखिनेछिन् ।
यसपटक सिरिजमा कलेजको प्रेम, ग्ल्यामर र प्रतिस्पर्धाभन्दा हत्या रहस्य र रोमाञ्चलाई प्राथमिकता दिइएको छ । ट्रेलरले सेन्ट टेरेसा हेरिटेज स्कुलकी विद्यार्थी आयशा मलिकको रहस्यमय मृत्युबाट कथा सुरु हुन्छ भन्ने देखाउँछ ।
आयशाको शव पोखरीमा भेटिन्छ । उनको मृत्यु हत्या हो वा दुर्घटना भन्ने रहस्य सुल्झाउन उनकी जुम्ल्याहा बहिनी अदिति स्कुलमा भर्ना हुन्छिन् । त्यहाँ पुगेपछि उनले आयशाका नजिकका साथी, रुममेट र प्रेमीले केही कुरा लुकाइरहेको शङ्का गर्छिन् । सत्य पत्ता लगाउने क्रममा अदिति स्कुलको वार्षिक ‘स्टुडेन्ट अफ द इयर’ प्रतियोगितामा पनि सहभागी हुन्छिन् ।
सन् २०१२ मा प्रदर्शन भएको ‘स्टुडेन्ट अफ द इयर’मा आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा थिए । यसको दोस्रो भाग सन् २०१९ मा प्रदर्शन भएको थियो । नयाँ सिरिजको निर्देशन रीमा मायाले गरेकी छन् भने करण जोहर निर्माता हुन् ।
‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नोभेम्बर १३ देखि जियोहटस्टारमा स्ट्रिमिङ हुने जनाइएको छ । यसले शनाया कपुरको ओटीटी डेब्यु पनि जनाउँछ ।
प्रतिक्रिया 4