News Summary
Generated by OK AI. Editorially reviewed.- तिहार र छठ लक्षित १९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १२ कात्तिकदेखि ललितपुर जावलाखेलमा पाँच दिन चल्नेछ ।
- फ्यानले ८६ स्टलमा ४५० भन्दा बढी प्रजातिका फूल बिरुवा, गोदावरीका ५ प्रजातिको प्रतियोगिता र प्लान्ट क्लिनिक राख्ने जनाएको छ ।
- आयोजकका अनुसार प्रदर्शनीबाट ३९ हजारभन्दा बढीले अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षा छ ।
१० कात्तिक, काठमाडौं । नजिकिँदै गरेको तिहार तथा छठ पर्व लक्षित गर्दै १२ कात्तिक (बिहीबार) देखि ललितपुर जावलाखेल खेल मैदानमा ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३’ हुने भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा हुन लागेको पाँच दिने प्रदर्शनी १६ कात्तिकसम्म चल्ने छ । पुष्प व्यवसायको व्यावसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नारासाथ यस वर्षको प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रदर्शनी उद्घाटन बिहीबार बिहान ११ बजे बागमती प्रदेश सरकारका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरबाट हुने कार्यक्रम छ ।
प्रदर्शनीले स्वदेशी पुष्प उत्पादन प्रोत्साहन गर्न ठूलो मद्दत पुग्ने फ्यान उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले बताए ।
‘नेपालीहरूको महान चाड तिहारमा फूलको सहज उपलब्धता गराउन र पुष्प व्यवसायलाई दिगो एवं आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थापन गर्न यो प्रदर्शनी आयोजना गरिएको हो,’ उनले भने, ‘यसबाट कृषकले उत्पादन गरेका गुणस्तरीय फूलहरू उपभोक्ताले एउटै थलोमा पाउनुका साथै यस क्षेत्रको व्यावसायिक प्रवर्द्धनमा कोसेढुंगा साबित हुने हाम्रो विश्वास छ ।’
८६ स्टल, ४५० बढी प्रजातिका फूल
यस वर्षको मेलामा ८६ वटा प्रदर्शनी कक्ष (स्टल) रहनेछन् । जसमा व्यावसायिक स्टल ७८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४, प्लान्ट क्लिनिक १ र फोटो सेल्फी स्टल १ रहनेछन् ।
मेलामा यस वर्ष भित्रिएका नयाँ प्रजातिका गोदावरी सहित ४ सय ५० भन्दा बढी प्रकारका फूल बिरुवा, सयपत्री, मखमली, अन्य सिजनल फूलहरू तथा आलंकारिक बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरण हुनेछ ।
गोदावरीका ५ प्रजातिबीच प्रतिस्पर्धा
मेलामा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराइ पुरस्कृत गरिने छ । जसअन्तर्गत मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरी कट फ्लावर गरी ५ प्रजातिमा प्रतिस्पर्धा गराइने छ ।
प्रतिस्पर्धामा प्रथम, द्वितीय, तृतीय तथा विधागत उत्कृष्ट हुनेलाई सिल्ड, नगद र प्रमाणप दिइने छ । साथै, उत्कृष्ट स्टल र उत्कृष्ट सजावट विधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
फूल तथा बोटबिरुवामा लाग्ने रोगकिरा र बिरुवाको स्वास्थ्य परीक्षणका लागि मेला स्थलमा विशेषज्ञ सहित ‘प्लान्ट क्लिनिक’ स्टल राखिने छ, जहाँबाट अवलोकनकर्ताले आफ्ना जिज्ञासाको समाधान पाउन सक्नेछन् ।
साथै, मेलाको तेस्रो दिन लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा रक्तदान कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीलाई ३९ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र मेला अवधिभरि १ करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया 4