१३ मंसिर, काठमाडौं । सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क, स्वास्थ्य बीमा र विपन्न नागरिकलाई आर्थिक सहायता दिने कार्यक्रम विस्तार गरेको छ । तर त्यसको प्रत्यक्ष लाभ भने नागरिकले पाउन सकेका छैनन् । उपचारका लागि अस्पताल पुग्ने बिरामीले अझै औषधि, परीक्षण, उपचार र अन्य सेवाको ठूलो खर्च आफ्नै गोजीबाट बेहोर्नुपरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको प्राविधिक प्रतिवेदनअनुसार नेपालमा स्वास्थ्य सेवामा खर्च हुने प्रत्येक १०० रुपैयाँमध्ये ५९ रुपैयाँ ४० पैसा नागरिकले आफ्नै गोजीबाट तिर्नुपर्छ ।
अर्थात्, कुल स्वास्थ्य खर्चको ५९.४ प्रतिशत भार बिरामी र तिनका परिवारमाथि छ । सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको र स्वास्थ्य बीमामार्फत नागरिकलाई आर्थिक सुरक्षा दिएको दाबी गरे पनि तथ्यांकले नागरिकको गोजीको भार झन् उकालो लगाएको देखाउँछ ।

पछिल्लो १८ वर्षमा नागरिकले आफ्नै गोजीबाट बेहोर्नुपर्ने स्वास्थ्य खर्चको हिस्सा घट्नुको सट्टा बढेको छ । सन् २००५ मा कुल स्वास्थ्य खर्चको ४९.२ प्रतिशत नागरिकले तिर्ने गरेकोमा सन् २०२३ मा आइपुग्दा यो हिस्सा बढेर ५९.४ प्रतिशत पुगेको हो ।
नर्वेको युनिभर्सिटी अफ बर्गनस्थित ‘बर्गन सेन्टर फर एथिक्स एन्ड प्रायोरिटी सेटिङ इन हेल्थ’(बीसीईपीएस) सँगको सहकार्य तथा नेपाल हेल्थ इकोनोमिक्स एसोसिएसनको प्राविधिक सहयोगमा तयार पारिएको ‘बेसिक हेल्थ सर्भिसेज इन नेपाल : प्रायोरिटी सेटिङ एन्ड इसेन्सियल हेल्थ इन्टरभेन्सन्स’ प्रतिवेदनले नेपालको स्वास्थ्य वित्तीय व्यवस्थापनमा देखिएको समस्या उजागर गरेको छ ।
गोजीको भार झन् उकालो
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकअनुसार सन् २००५ मा नेपालको प्रतिव्यक्ति स्वास्थ्य खर्च १४ अमेरिकी डलर अर्थात् करिब एक हजार रुपैयाँ थियो । सन् २०२३ मा यो बढेर ८४ अमेरिकी डलर अर्थात् करिब ११ हजार १०० रुपैयाँ पुगेको छ ।
यसबीच प्रतिव्यक्ति स्वास्थ्य खर्च डलरमा ६ गुणा बढेको छ । नेपाली रुपैयाँमा हिसाब गर्दा यो वृद्धि ११ गुणाभन्दा बढी हो । स्वास्थ्य क्षेत्रमा खर्च बढेको अनुपातमा नागरिकको आर्थिक सुरक्षा बढ्न सकेको छैन । स्वास्थ्य उपचारमा नागरिकले आफ्नै खल्तीबाट तिर्नुपर्ने खर्चको हिस्सा झन् बढेको छ ।

यसले स्वास्थ्य क्षेत्रमा थपिएको स्रोत नागरिकको आर्थिक भार घटाउने गरी परिचालन हुन नसकेको देखाउँछ। सरकारले स्वास्थ्य क्षेत्रमा खर्च बढाए पनि त्यसको प्रत्यक्ष लाभ नागरिकले उपचार खर्चमा राहत पाउने गरी अनुभूति गर्न सकेका छैनन् ।
संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने ग्यारेन्टी गरे पनि सार्वजनिक स्वास्थ्य संस्थामा न्यून लगानी, कमजोर आपूर्ति प्रणाली र निजी स्वास्थ्य सेवाप्रतिको उच्च निर्भरताका कारण स्वास्थ्य खर्च (क्याटास्ट्रोफिक हेल्थ एक्सपेन्डिचर) को जोखिममा परिरहेको प्रतिवेदनले औँल्याएको छ ।
सन् २००५ देखि २०२३ सम्म नेपालको स्वास्थ्य खर्चका प्रमुख सूचकको अवस्था :
| सूचक | २००५ | २०१० | २०१५ | २०१९ | २०२३ |
| प्रतिव्यक्ति चालू स्वास्थ्य खर्च (अमेरिकी डलर) | १४ | ३० | ४६ | ५४ | ८४ |
| प्रतिव्यक्ति चालू स्वास्थ्य खर्च (नेपाली रुपैयाँ) | १,००० | २,२०० | ४,७०० | ६,१०० | ११,१०० |
| कुल स्वास्थ्य खर्चमा नागरिकको गोजी खर्च (%) | ४९.२% | ५६.२% | ५९.४% | ५७.९% | ५९.४% |
| कुल स्वास्थ्य खर्चमा सरकारी आन्तरिक खर्च (%) | १९.१% | १८.१% | १६.६% | २४.८% | ३१.३% |
| कुल सरकारी खर्चमा स्वास्थ्यको हिस्सा (%) | ६.३% | ४.८% | ५.१% | ४.०% | ७.७% |
| प्रतिव्यक्ति जीडीपी (नेपाली रुपैयाँ) | २५,६०० | ४९,७०० | ८७,२०० | १,३५,८०० | १,८०,१०० |
उपचार खर्चले परिवारलाई ऋण र आर्थिक संकटमा धकेल्दै
प्रतिवेदनअनुसार सन् २००९/१० मा सरकारको आन्तरिक स्रोतबाट स्वास्थ्य क्षेत्रमा हुने खर्च कुल स्वास्थ्य खर्चको १८.२ प्रतिशत थियो । सन् २०२२/२३ मा यो बढेर २९.३ प्रतिशत पुगेको छ ।
सरकारी लगानी बढ्दा पनि नागरिकको गोजीबाट हुने खर्च घट्न सकेको छैन । यसले स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाउने मात्रै होइन, उपचारको आर्थिक जोखिम नागरिकबाट सरकार र साझा सामाजिक सुरक्षा प्रणालीमा सार्नुपर्ने आवश्यकता देखाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम पनि नागरिकको उपचार खर्च घटाउने प्रभावकारी माध्यम बन्न सकेको छैन । २०७२ मा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले करिब ३३ प्रतिशत जनसंख्यालाई समेटेको छ। तर कुल स्वास्थ्य खर्चमा स्वास्थ्य बीमाको योगदान ४ प्रतिशतभन्दा कम छ ।
बीमामा सबै नागरिकको पहुँच नहुनु, नियमित नवीकरण नहुनु, आर्थिक दिगोपनाको समस्या, उपचार सेवाको सीमितता र स्वास्थ्य संस्थाको सहभागितासम्बन्धी समस्याले बीमाको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

स्वास्थ्य बीमामा आबद्ध नागरिकले समेत सबै उपचार खर्च बीमाबाट पाउन नसक्ने अवस्था छ । औषधि, परीक्षण र अन्य सेवामा अतिरिक्त रकम तिर्नुपर्ने भएपछि बीमाले नागरिकलाई आर्थिक जोखिमबाट पूर्ण रूपमा जोगाउन सकेको छैन । बीमाको सेवा थप झनझटिलो र लामो लाइन बस्नुपरेकाले नागरिकहरू पुनः नवीकरण प्रक्रियामा जाँदैनन् ।
विशेषगरी दीर्घरोग, क्यान्सर, मिर्गौला रोग, मुटुरोग तथा महँगो शल्यक्रिया गर्नुपर्ने बिरामीका परिवार उपचार खर्च जुटाउन ऋण लिनुपर्ने, सम्पत्ति बेच्नुपर्ने वा उपचार नै रोक्नुपर्ने अवस्थामा पुग्न सक्छन् ।
सरकारले नागरिकको आर्थिक भार घटाउन आधारभूत स्वास्थ्य सेवा निःशुल्क कार्यक्रम, आमा तथा सुरक्षित मातृत्व कार्यक्रम, विपन्न नागरिक उपचार कोष र स्वास्थ्य बीमालगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
त्यस्तै, क्यान्सर, मिर्गौला रोग र मेरुदण्डको चोट भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम छ । बालबालिकाको क्यान्सर, एचआईभी/एड्स, क्षयरोग, कुष्ठरोग तथा जलनसम्बन्धी रोगको उपचारमा समेत सरकारी सहायता उपलब्ध गराउने व्यवस्था छ ।
यस्ता कार्यक्रम हुँदाहुँदै पनि नागरिकले औषधि, प्रयोगशाला परीक्षण, यातायात र अस्पतालमा उपलब्ध नभएका सेवाका लागि अतिरिक्त खर्च गर्नुपर्ने अवस्था कायमै छ ।
विभिन्न निकायले फरक–फरक कार्यक्रम सञ्चालन गर्दा सुविधा दोहोरिने, लाभग्राही पहिचानमा समस्या हुने र सरकारी निकायबीच समन्वय कमजोर हुने समस्या पनि प्रतिवेदनले औँल्याएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा नागरिकको गोजीबाट हुने स्वास्थ्य खर्च बढिरहेको तीनवटा सम्भावित कारण औंल्याउँछन् ।
डा. देवकोटाका अनुसार निजी स्वास्थ्य संस्थामा उपचार गर्नेको संख्या बढ्नु, एउटै सेवाका लागि दोहोरो खर्च हुनु र कोरोनापछि स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति बढ्नुले यस्तो अवस्था आएको हो ।

सरकारी अस्पतालको तुलनामा निजी स्वास्थ्य संस्थाको सेवा महँगो हुने भएकाले मध्यम तथा उच्च आय भएका नागरिक निजी अस्पतालतर्फ आकर्षित हुँदा समग्र स्वास्थ्य खर्च बढेको उनको भनाई छ ।
सरकारी स्वास्थ्य सेवा सबै ठाउँमा र सबै प्रकारका उपचारमा उपलब्ध हुन नसक्दा कतिपय नागरिक बाध्य भएर निजीमा जानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
त्यस्तै, सरकारी निःशुल्क सेवा, स्वास्थ्य बीमा र निजी उपचारबीच दोहोरोपन हुँदा पनि खर्च बढ्न सक्ने उनले बताए। एउटै व्यक्तिले विभिन्न स्वास्थ्य संस्थामा परीक्षण गराउने, होलबडी चेकअपका नाममा थप परीक्षण गर्ने र सरकारी कार्यक्रमबाट पनि एउटै सेवामा खर्च हुने अवस्थाले दोहोरो खर्च बढाएको उनको विश्लेषण छ ।
कोरोना महामारीपछि नागरिकमा स्वास्थ्यप्रति सचेतना बढ्नु र सामान्य समस्या हुँदा पनि परीक्षण तथा उपचारका लागि निजी अस्पताल पुग्ने प्रवृत्ति बढ्नु अर्को कारण हुन सक्ने डा. देवकोटाले बताए ।
‘समग्रमा नागरिकको खल्तीबाट हुने खर्च बढेको देखिए पनि गरिब तथा निम्न आय भएका नागरिकको उपचारमा आर्थिक भार भने घटेको हाम्रो बुझाइ छ,’ देवकोटाले भने, ‘सरकारी स्वास्थ्य संस्थामा लगानी र सेवा विस्तार भएको छ। स्वास्थ्य चौकीदेखि अस्पतालसम्म उपचारका लागि आउने बिरामीको संख्या र उनीहरूले पाउने निःशुल्क सेवा बढेको छ।’
स्वास्थ्यमा सरकारको लगानी अझै न्यून
नेपालमा स्वास्थ्य क्षेत्रमा सरकारी लगानी आवश्यकताअनुसार पर्याप्त छैन । प्रतिवेदनअनुसार सन् २०२३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १.९ प्रतिशत मात्रै सरकारले आन्तरिक स्रोतबाट स्वास्थ्य क्षेत्रमा खर्च गरेको थियो ।

सर्वव्यापी स्वास्थ्य पहुँच (यूएचसी) हासिल गर्न सार्वजनिक स्वास्थ्य खर्च जीडीपीको ५ प्रतिशत हुनुपर्ने मापदण्डसँग तुलना गर्दा नेपालको लगानी निकै कम देखिन्छ ।
सरकारको कुल खर्चमा स्वास्थ्य क्षेत्रको प्राथमिकता पनि अपेक्षाअनुसार बढ्न सकेको छैन। संघीय सरकारको कुल बजेटमा स्वास्थ्य मन्त्रालयले पाउने हिस्सा अझै ५ प्रतिशतभन्दा कम छ । विश्व स्वास्थ्य संगठनले कुल बजेटको १० प्रतिशत छुटउनुपर्ने बताएको छ ।
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुल २१ खर्ब २४ अर्ब ३० करोड रुपैयाँको बजेट ल्याउँदा स्वास्थ्य मन्त्रालयका लागि ९६ अर्ब ४० करोड रुपैयाँ छुट्याएको छ । यो कुल बजेटको ४.५ प्रतिशत मात्रै हो ।
स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुँदा सरकारले आधारभूत स्वास्थ्य सेवा, औषधि, उपकरण तथा जनशक्ति व्यवस्थापनमा समेत पर्याप्त स्रोत परिचालन गर्न सकेको छैन ।
स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्दा जनताको स्वास्थ्य आवश्यकता र प्राविधिक अध्ययनभन्दा राजनीतिक प्रभाव तथा विगतदेखिको बजेट बाँडफाँटको अभ्यासले बढी भूमिका खेल्ने गरेको प्रतिवेदनले औँल्याएको छ ।
प्रदेश र स्थानीय तहमा प्रमाणमा आधारित योजना निर्माण तथा बजेट व्यवस्थापन गर्ने क्षमता पनि कमजोर छ।
यसको असर नागरिकले पाउनुपर्ने आधारभुत स्वास्थ्य सेवामा देखिन्छ । निःशुल्क उपलब्ध हुनुपर्ने अत्यावश्यक औषधि स्वास्थ्य संस्थामा नपाइने समस्या कायमै छ । नसर्ने रोगको भार बढ्दै गए पनि त्यसअनुसार बजेट विनियोजन हुन सकेको छैन ।
डेंगु र हैजाजस्ता रोगको प्रकोप फैलिँदा नियमित कार्यक्रमको बजेट अन्यत्रबाट रकमान्तर गर्नुपर्ने अवस्था आउने गरेको छ । यसले स्वास्थ्य क्षेत्रको बजेट निर्माण र व्यवस्थापन प्रणाली नै कमजोर रहेको देखाउँछ ।
प्रतिक्रिया 4