१३ मंसिर, काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) र जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) को संयुक्त अभियान बेपीकोलोम्बो बुध ग्रहको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । सौर्यमण्डलको सबैभन्दा सानो र तुलनात्मक रूपमा कम अध्ययन गरिएको ग्रह बुधका रहस्य पत्ता लगाउनु अभियानको मुख्य उद्देश्य हो ।
बेपीकोलोम्बो अभियानमा युरोप र जापानका दुई रोबोटिक अन्तरिक्ष यान छन् । हाल दुवै यान एकसाथ जोडिएका छन् । आगामी महिना तिनलाई अलग गरिनेछ । त्यसपछि दुवैले फरक उचाइबाट बुध ग्रहको अध्ययन गर्नेछन् ।
युरोपेली अन्तरिक्ष एजेन्सीले शनिबार, २१ नोभेम्बरमा सामाजिक सञ्जालमार्फत अभियान बुध ग्रहको कक्षमा पुगेको पुष्टि गरेको हो । कक्षमा प्रवेश गर्नुअघि अन्तरिक्ष यानका थ्रस्टरहरू पटक-पटक सक्रिय पारिएका थिए । यानको गति कम गराएर बुधको गुरुत्वाकर्षणले कक्षमा राख्न सक्ने अवस्थामा पुर्याउनु यसको उद्देश्य थियो ।
कक्षमा प्रवेशको प्रक्रिया पूरा भए पनि अभियान सफल भएको पुष्टि गर्न नियन्त्रण केन्द्रले केही घण्टा प्रतीक्षा गर्नुपरेको थियो । जर्मनीस्थित फ्लाइट कन्ट्रोलरहरूले पृथ्वी र अन्तरिक्ष यानबीच करिब १५ करोड २० लाख किलोमिटर दूरीका कारण प्राप्त संकेतहरूको विश्लेषण गर्न समय लागेको थियो । विश्लेषणपछि बेपीकोलोम्बो बुध ग्रहको कक्षमा सफलतापूर्वक स्थापित भएको पुष्टि गरिएको हो ।
बुध ग्रहसम्म पुग्ने बेपीकोलोम्बो तेस्रो अन्तरिक्ष अभियान हो । यसअघि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको मेरिनर–१० सन् १९७० को दशकमा तीन पटक बुध ग्रहको नजिक पुगेको थियो । उक्त अभियानमा संलग्न इटालियन गणितज्ञ गिउसेप्पे ‘बेपी’ कोलोम्बोको सम्मानमा नयाँ अभियानको नाम “बेपीकोलोम्बो” राखिएको हो ।
त्यसपछि नासाको मेसेन्जर अन्तरिक्ष यान सन् २०११ मा बुध ग्रहको कक्षमा पुगेको थियो । इन्धन सकिएपछि सन् २०१५ मा उक्त यान बुधको सतहमा ठोक्किएको थियो । मेसेन्जरपछि बुध ग्रहको कक्षमा पुग्ने बेपीकोलोम्बो पहिलो अभियान बनेको छ ।
सन् २०१८ मा प्रक्षेपण गरिएको बेपीकोलोम्बोले बुधसम्म पुग्न सीधा मार्ग अपनाएको थिएन । गुरुत्वाकर्षणको सहायताबाट आफ्नो यात्रा सहज बनाउन अभियानले पृथ्वीको एक पटक, शुक्र ग्रहको दुई पटक र बुध ग्रहको ६ पटक परिक्रमा तथा नजिकबाट उडान गरेको थियो । यो जटिल यात्राका क्रममा अन्तरिक्ष यानले १० अर्ब किलोमिटरभन्दा बढी दूरी पार गरेको छ ।
अन्तिम चरणको यात्रा सुरु गर्नुअघि सेप्टेम्बरमा अन्तरिक्ष यानले आफ्नो मदरशिप मोड्युल अलग गरेको थियो । त्यसपछि बुध ग्रहको कक्षमा प्रवेशका लागि अन्तिम यात्रा अघि बढाएको थियो ।
अभियानका प्रमुख वैज्ञानिक जेरान्ट जोन्सका अनुसार वैज्ञानिकहरू आगामी वर्ष वसन्त ऋतुबाट प्राप्त हुने नयाँ वैज्ञानिक तथ्यांकको प्रतीक्षामा छन् । उनका अनुसार एउटै ग्रहमा एकै समयमा दुई अन्तरिक्ष यानले फरक उपकरणमार्फत मापन गर्ने भएकाले बुध ग्रहबारे अभूतपूर्व जानकारी प्राप्त हुन सक्नेछ ।
दुवै अन्तरिक्ष यान अलग भएपछि युरोपेली अन्तरिक्ष एजेन्सीको यान र जापानी अन्तरिक्ष यानले बुध ग्रहको आन्तरिक संरचना, बाह्य चुम्बकीय क्षेत्र तथा सतहका विभिन्न विशेषताको अध्ययन गर्नेछन् । उनीहरूले ग्रहका क्रेटर, ज्वालामुखीय मैदान, पर्वतीय शृंखला र करिब साढे चार किलोमिटर उचाइका चुचुराहरूको अध्ययन गर्ने योजना छ ।
सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा तापक्रम ४२७ डिग्री सेल्सियसभन्दा बढी पुग्न सक्छ । अत्यधिक तापक्रमका कारण अन्तरिक्ष यानका इलेक्ट्रोनिक उपकरण तथा प्राविधिक प्रणालीलाई सुरक्षित राख्नु अभियानका लागि ठूलो चुनौती हो ।
प्रमुख वैज्ञानिक जोन्सका अनुसार अन्तरिक्ष यान र त्यसमा जडित उपकरणलाई सकेसम्म चिसो राख्नु अभियानको प्रमुख प्राविधिक चुनौतीमध्ये एक हो । वैज्ञानिकहरूले अभियान कम्तीमा एक वर्ष सञ्चालन हुने अपेक्षा गरेका छन् । बुध ग्रहको समयअनुसार यो अवधि करिब चार वर्ष बराबर हुनेछ ।
पृथ्वीको तुलनात्मक रूपमा नजिक रहे पनि बुध ग्रह सौर्यमण्डलका कम अध्ययन गरिएका ग्रहहरूमध्ये एक हो । बुधभन्दा कम अन्तरिक्ष अभियान पुगेका ग्रहका रूपमा नेप्च्युन र प्लुटो रहेका छन् । ती ग्रहसम्म हालसम्म भ्वाएजर–२ अभियान मात्रै पुगेको छ ।
वैज्ञानिकहरूले बेपीकोलोम्बोबाट प्राप्त तथ्यांकले बुध ग्रहको उत्पत्ति, संरचना र विकासक्रम बुझ्न सहयोग गर्ने अपेक्षा गरेका छन् । साथै, सौर्यमण्डलको निर्माण र विकासबारे रहेका प्रश्नहरूको जवाफ खोज्न पनि अभियानबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4