७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राजधानी काठमाडौंको मेयर रहँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेका थिए । वर्तमान संविधान र कानुनले नचिनेको नक्सा राखेकोमा प्रश्न खेप्नुपरे पनि उनी राष्ट्रवादी राजनीति गर्ने परम्परागत दलहरूभन्दा अझै र्याडिकल लाग्थे ।
त्यसो त, उनी एउटा संवादलाई लिएर भारतीय सिनेमा आदिपुरुष चल्न रोक लगाएर चर्चा कमाउन पनि पछि परेनन् ।
यसबीचमा बागमतीमा धेरै पानी बगिसकेको छ । जेनजी आन्दोलनलगत्तै पाएको प्रधानमन्त्री बन्ने अवसर नछोपेर उनले राजनीतिमा रणनीतिक उद्देश्यसहित नलागेको सन्देश दिएका थिए ।
रास्वपामा मिसिएसँगै भएको निर्वाचनपछि अभूतपूर्व मत ल्याएर प्रधानमन्त्री बनेको झन्डै आठ महिनापछि शाहले गरेको दुईदिने भारत राजकीय भ्रमणले काठमाडौँ र नयाँ दिल्ली दुवैतिर तरङ्ग पैदा गरेको छ।
पदभार ग्रहण गर्नासाथ दिल्ली दौडिन हतारिने पूर्ववर्ती प्रधानमन्त्रीहरूको अभ्यास तोड्दै सम्हालिएर भारत पुगेका बालेनले यो २५ घण्टे छोटो भ्रमणमार्फत कूटनीतिक वृत्तमा नयाँ बहसको ढोका खोलिदिएका छन्।
विगतमा आफैँले निर्माण गरेको छविकै कारण भ्रमणका क्रममा केही भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले बालेनका पुराना भारतविरोधी क्रियाकलाप सम्झाउँदै ‘पहिले आलोचना गर्ने, अहिले सहायता माग्ने’ भन्दै प्रश्नसमेत उठाए।
यस्तोमा सत्ताको नेतृत्वको भूमिकामा छिमेकीसँग कुटनीतिक सुधारका प्रयास सुरु गर्न निकै मेहनत गर्नुपर्ने हुन्थ्यो नै । बितेका केही महिनामा शान्त कुटनीतिमार्फत् उनले यसमा मेहनत गरेको छनक भ्रमणमा भएका सहमतिहरूमार्फत् दिएका छन् ।

काठमाडौंको मेयर हुँदा होस् या सोसल मिडिया इन्फ्लुयन्सर हुँदा– बालेन पनि उग्र राष्ट्रवादको ज्वरो बढाउने नारा र पाराहरुमा विश्वास राख्थे । तर प्रधानमन्त्री बनेयता भने उनी व्यावहारिक र परिपक्व राजनीतिकर्मीमा बदलिने संकेत देखाइरहेका छन्, जसको आशाप्रद परीक्षण दिल्ली भ्रमणक्रममा भयो ।
कुटनीतिक मामलाका जानकारहरूले यसलाई उपलब्धिमूलक मान्दै भ्रमणअगाडि उठेका चासोहरूको सम्बोधन प्रयास भएको, सहकार्यका नयाँ क्षेत्रको पहिचान र कार्यान्वयनका लागि ठोस संयन्त्र बनेको रूपमा अर्थ्याएका छन् ।
भ्रमणको साङ्गोपाङ्गो समीक्षा गर्न हैदराबाद हाउसबाट ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ शीर्षकमा जारी संयुक्त मार्गचित्र र काठमाडौँमा लामो समयदेखि थाती रहेका संवेदनशील मुद्दाहरूलाई आमनेसामने राखेर हेर्नुपर्छ ।
महत्त्वपूर्ण तर अमूर्त सहमति हुने तर, कार्यान्वयन नहुने विगतको अभ्यासको कसीमा हेर्दा यो भ्रमण न त महत्त्वपूर्ण छलाङ हो, न त रित्तै हात फर्किएको औपचारिकता मात्र। बरु, बालेनले आफ्नो विगतको प्रतीकात्मक राष्ट्रवादको छविलाई किनारा लगाउँदै व्यवहारिक विकास कूटनीतिको बाटो समातेको स्पष्ट सङ्केत यसले दिएको छ।
सङ्कटले जुराएको कूटनीतिक अवतरण
गत फागुनको निर्वाचनबाट झन्डै दुईतिहाइ जनमतसहित उदाएको नयाँ पुस्ताको नेतृत्वप्रति दिल्लीमा सुरुदेखि नै मिश्रित मनोविज्ञान थियो। आफ्नै देशमा विकास भइरहेको जेनजी प्रदर्शन नेपाली जेनजी आन्दोलनकै प्रेरणामा भइरहेको सन्दर्भमा भारतीय संस्थापन चनाखो देखिँदै आएको छ ।
सँगसँगै, एकातिर ३६ वर्षीय युवा प्रधानमन्त्रीसँग काम गर्नुपर्ने अवस्था थियो भने अर्कोतिर जेनजी आन्दोलनको पृष्ठभूमि र रास्वपाभित्र सभापति रवि लामिछाने तथा प्रधानमन्त्री शाहबीचको समीकरणले सरकारको स्थायित्वमा पार्ने प्रभावबारे दिल्लीमा संशय पनि उत्तिकै थियो।
भारतीय विश्लेषकहरूले यसलाई भारतमै युवाहरूको प्रदर्शन चलिरहेको सन्दर्भमा बालेनको भ्रमणलाई लिएर दिल्लीमा उत्साह र चासो सँगसँगै रहेको विश्लेषण गरेका थिए ।
तर, भोटेकोशीको भीषण बाढीपछिको विपद्ले यो भ्रमणको गति र दिशा नै बदलिदियो। पुनर्निर्माणका लागि तत्काल ठूलो आर्थिक सहायता आवश्यक परेका बेला न चीनबाट ठोस प्रतिबद्धता आयो, न त पश्चिमा मुलुकहरूबाट नै।
अन्ततः यही विपद्को पृष्ठभूमिमा भारतले विपद् पुनर्निर्माण र पूर्वाधारका लागि ५ हजार ६ सय करोड नेपाली रुपैयाँ अनुदान र ऊर्जा क्षेत्रका लागि १८ हजार ४ सय करोड सहुलियतपूर्ण ऋण गरी कुल २४ हजार करोड नेपाली रुपैयाँको विकास सहकार्य प्याकेज घोषणा गर्यो।

यसको कार्यान्वयन भएको खण्डमा यो सहयोग नेपालका लागि निकै महत्त्वपूर्ण सहयोग हुनेछ । विपद्को घाउमा अर्थपूर्ण मल्हम बन्नेछ ।
यही पृष्ठभूमिमा भारत पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रवादको युग समाप्त भएको अभिव्यक्ति दिए । यसले पनि पुनर्निर्माण र समृद्धिको बाटोमा हिंड्न र जनतामा रहेको विकासको महत्त्वाकांक्षा सम्बोधन गर्न छिमेकीको सहयोग जुटाउनै पर्ने बाध्यता सरकारले बुझ्दै गएको प्रस्ट हुन्थ्यो ।
बालेन सरकारसँग विगतका दलहरूजस्तो भारतविरोधी राजनीति गरेको वा व्यक्तिगत स्वार्थमा सम्झौता गरेको कुनै पुरानो ब्यागेज थिएन। त्यसैले प्रधानमन्त्री बालेनलाई भावनात्मक नाराभन्दा बाहिर निस्किएर बाटोघाटो, ऊर्जा, बन्दरगाह र डिजिटल भुक्तानीजस्ता जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास कूटनीतिमा जोड दिन सहज मैदान प्राप्त भयो ।
हैदराबाद हाउसमा बालेन आफैँले पनि आज भएका समझदारीको प्रतिफल किसानको खेतमा समृद्धि र युवाका हातमा रोजगारीका रूपमा देखिनुपर्ने बताएर आफ्नो प्राथमिकता प्रस्ट पारे।
रोटीबेटीका कुरा छाडेर आर्थिक सहकार्यको बाटोमा
यस भ्रमणको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको नेपाल–भारत सम्बन्धलाई परम्परागत घेराबाट बाहिर निकाल्ने प्रयास हो। आर्थिक रूपमा गरिब हुनु र मानसिक रूपमा गरिब हुनु फरक कुरा हो । सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की विगतको रोटी–बेटीको सम्बन्ध अब भारतसँग मात्र सीमित नरहेर युरोप, अमेरिका र अस्ट्रेलियासम्म फैलिसकेको र अहिलेको जेनजी पुस्ताको ड्रिमल्यान्ड भारत नरहेको टिप्पणी गर्छन् ।
यसपटक पारित नेपाल-भारत संयुक्त मार्गचित्रले ठ्याक्कै यही बदलिँदो पुस्ताको मनोविज्ञान समात्न खोजेको देखिन्छ। नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने घोषणा, काठमाडौँमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स, पोखरामा डिजिटल नोम्याड्स एन्ड इनोभेसन हब, भाषिणीसँगको सहकार्यमा नेपाली भाषाको एआई मोडेल विकास, ग्रिन हाइड्रोजनको पाइलट परियोजना र नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्ने सहमतिले द्विपक्षीय सहकार्यलाई आधुनिक युगमा प्रवेश गराएको भन्न सकिन्छ ।
डा. कार्कीले औँल्याएझैँ आईटी र प्रविधिको युगमा भौगोलिक सीमाले कसैलाई रोक्दैन। समयमै प्रविधि र नवप्रवर्तनमा साझेदारी गर्न नसके नेपाल–भारत भौगोलिक निकटताको लाभ गुम्ने जोखिम चिर्न यो दस्ताबेजले गतिलो आधार तयार पारेको छ।
त्यस्तै, काण्डला र पारादीप बन्दरगाहसम्मको पहुँचले भूपरिवेष्टित भए पनि व्यापार र सुरक्षाका हिसाबले हिन्द महासागरसँग जोडिएको भर्चुअल मेरिटाइम कन्ट्रीका रूपमा नेपालको आर्थिक सम्भावना विस्तार गर्ने बाटो खोलेको छ।
के काठमाडौंका सबै चासो सम्बोधन भए ?
यो भ्रमणलाई लिएर नेपालका विभिन्न पक्षहरूको फरक-फरक रूचि र चासो रहेका छन् । कतिपयले रणनीतिक र संवेदनशील मुद्दाहरूमा यो भ्रमणले निकास दिनुभन्दा कूटनीतिक भाषामा भविष्यका लागि थाती राख्ने पुरानै बाटो रोजेको टिप्पणी गरेका छन् ।
सबैभन्दा पेचिलो प्रश्न सीमा विवाद र सन् १९५० को सन्धि नै हो। काठमाडौँको मेयर छँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका र लिपुलेख–कालापानीको मुद्दामा खरो अभिव्यक्ति दिएका बालेनबाट नेपाली जनमतले ठोस अडानको अपेक्षा गरेको थियो।
बालेनको भारत भ्रमणअघि अनलाइनखबरसँग कुरा गर्दै डा. कार्की अन्य विषयमा पुरानो ब्यागेज नभए पनि विगतका वक्तव्य र ग्रेटर नेपालको नक्साका कारण सीमा र राष्ट्रियताको विषय उनका लागि सबैभन्दा कठिन परीक्षा हुने टिप्पणी गरेका थिए।

तर, संयुक्त दस्ताबेजको बुँदा ४ मा सन् १९५० को सन्धि आपसी सहमतिमा पुनरावलोकन गर्न सकिने र सीमा विवाद संवादमार्फत समाधान गरिने भन्ने पुरानै अमूर्त वाक्यांश मात्र दोहोरिएको छ। लिपुलेखलाई व्यापारिक नाका बनाउने भारत–चीन सहमतिमाथि नेपालको असहमति दस्ताबेजमा कतै अटाएन भने प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे दुवै पक्ष मौन रहे।
हवाई मार्गको सवालमा पनि भैरहवा इन्ट्री रुटमा भारत सहमत भए पनि नेपालले मागेका सबै प्रवेशविन्दुहरु प्राप्त भएनन् । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि अत्यावश्यक ठानिएको महेन्द्रनगर हुँदै उच्च उचाइको हवाई प्रवेश मार्ग तत्काल खुलेन। हाल एकतर्फी रहेको बी३४५ काठमाडौँ–भैरहवा–लखनउ रुटलाई दुईतर्फी अर्थात् इन्ट्री रुटको समेत मान्यता दिने र बाँकी प्रस्तावमा प्राविधिक परामर्श गर्ने सहमतिमा काठमाडौँले चित्त बुझाउनुपरेको छ।
त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामलाई तीव्रता दिने पुरानै रटान दोहोरिए पनि पानी र लाभको बाँडफाँटको मुख्य गाँठो फुकेको छैन। एकातिर अर्बौँको अनुदान घोषणा गर्ने तर अर्कोतिर नेपाली चिया, अदुवा, जुट र प्लाईउडको निर्यातमा भन्सार र गैरभन्सार अवरोध सिर्जना गर्ने भारतीय प्रवृत्ति अन्त्य गर्नेबारे पनि ठोस समयसीमा तोकिएको छैन।
उता भारतका पनि आफ्नै अघोषित सर्त र अपेक्षा छन्- विकास आयोजनाका टेन्डरमा भारतीय कम्पनीलाई चिनियाँ प्रभावरहित निष्पक्ष अवसर, अरुण–३ जस्ता आयोजनामा जग्गा तथा वन क्लियरेन्सको शीघ्रता र भारतीय लगानीकर्ताले नाफा फिर्ता लैजाने प्रक्रियामा सहजता। यी जटिलता नफुकेसम्म विश्वासको धरातल बलियो बन्न कठिन छ।
यद्यपि आइतबार साँझ भारतीय सरोकारवालाहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले यसमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अनुगमन संयन्त्र र रुटिन बैठकको प्रतिबद्धता
यो भ्रमणको अर्को महत्त्वपूर्ण उपलब्धि मानिएको छ- सहमति कार्यान्वयनका लागि नेपालका परराष्ट्र सचिव र भारतीय राजदूतको नेतृत्वमा रहने उच्चस्तरीय अनुगमन समूहको सक्रियता। प्रत्येक ६ महिनामा बैठक बसेर परियोजनाका अवरोध फुकाउने र सन् २०२७ मा बस्ने परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगमा प्रतिवेदन बुझाउने कार्यविधि आफैँमा सकारात्मक पहल हो।
तर, विगतको तीतो अनुभवले भन्छ- नेपाल–भारत सम्बन्धमा संयन्त्रको अभाव कहिल्यै थिएन। दुई देशबीच विभिन्न तहमा ४० भन्दा बढी द्विपक्षीय संयन्त्र पहिल्यै अस्तित्वमा छन्। पूर्वराजदूत दीपकुमार उपाध्याय भारतमा हरेक भेटघाटको बलियो संस्थागत स्मरणशक्ति रहने तर नेपालमा फाइल र एजेन्डाको निरन्तरता नहुने कमजोरी औँल्याउँछन्।
ईपीजीका भारतीय पक्षका पूर्वसदस्य महेन्द्र पी. लामाले पनि अनलाइनखबरसँगको संवादमा सम्झौता कार्यान्वयन नहुनु नै अविश्वासको मुख्य जड भएको बताउँदै उच्चस्तरीय राजनीतिक निगरानी नभएसम्म कर्मचारीतन्त्रको तहमा उही पुरानो लुछाचुँडी दोहोरिरहने निष्कर्ष सुनाउँछन् ।
प्रधानमन्त्री शाहको पहिलो दिल्ली यात्रा उनकै पुरानो राजनीतिको धङधङी त्यागेर विकास कुटनीतितर्फको पहिलो पाइला भने बनेको छ । यो भ्रमणलाई उनको नेतृत्वमा आधुनिक प्रविधि, युवा आकाङ्क्षा र विकास साझेदारीतर्फको सचेत प्रस्थान बनाउन मेहनत गरिएको देखिन्छ।
उनले काठमाडौँका सबै संवेदनशील प्रश्नको जवाफ दिल्लीबाट ल्याउन सकेनन्, तर अविश्वासको जमेको बरफ पगाल्दै सहकार्यको नयाँ क्यानभास भने कोरेका छन्।
दिल्लीसँग काठमाडौंले बढाइरहेको राजनीतिक दूरीको पृष्ठभूमिमा हैदराबाद हाउसमा कोरिएका सहमतिका अक्षरहरू विगतजस्तै भाषण र दस्ताबेजमै सीमित हुन्छन् कि साँच्चै नागरिकको जीवनमा अनुवाद हुन्छन्, त्यसको पहिलो परीक्षा हवाई रुटमा भएको सहमति कसरी अगाडि बढ्छ भन्नेमा देखिनेछ ।
प्रतिक्रिया 4