+
+
Shares

सिंगापुरमा तलब वृद्धि सामान्य, दक्ष जनशक्तिलाई बढी लाभ

सिंगापुरमा सन् २०२७ मा कार्यरत कर्मचारी तथा नयाँ नियुक्त हुने जनशक्तिको तलब वृद्धि सामान्य रहने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १९:५५

७ मङ्सिर, सिंगापुर (रासस/सिन्ह्वा) । सिंगापुरमा सन् २०२७ मा कार्यरत कर्मचारी तथा नयाँ नियुक्त हुने जनशक्तिको तलब वृद्धि सामान्य रहने अपेक्षा गरिएको छ । रोजगारदाता कम्पनी र नयाँ रोजगारी खोजिरहेका व्यक्तिको तलब वृद्धिसम्बन्धी अपेक्षाबीच भने उल्लेखनीय अन्तर देखिएको एक सर्वेक्षणले जनाएको छ ।

भर्ना तथा जनशक्ति व्यवस्थापनसम्बन्धी संस्था रोबर्ट वाल्टर्सले सोमबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार सिंगापुरका ९६ प्रतिशत कम्पनीले सन् २०२७ मा आफ्ना कर्मचारीको तलब वृद्धि गर्ने योजना बनाएका छन् । तीमध्ये ६५ प्रतिशत कम्पनीले हाल कार्यरत कर्मचारीको तलब कम्तीमा तीन प्रतिशतले बढाउने तयारी गरेका छन् ।

गत सेप्टेम्बरमा सिंगापुरका ५७९ जना व्यावसायिक व्यक्ति तथा कम्पनीबीच गरिएको सर्वेक्षणमा हालकै पदमा निरन्तर काम गर्न चाहनेमध्ये ३६ प्रतिशतले आगामी वर्ष तीनदेखि छ प्रतिशतसम्म तलब वृद्धि हुने अपेक्षा गरेका छन् । त्यस्तै, १५ प्रतिशतले कम्तीमा सात प्रतिशत तलब वृद्धि हुने अनुमान गरेका छन् ।

यद्यपि, नयाँ रोजगारीको खोजीमा रहेका व्यक्तिको तलब अपेक्षा भने रोजगारदाताको योजनाभन्दा निकै उच्च रहेको सर्वेक्षणले देखाएको छ । नयाँ कर्मचारी नियुक्त गर्दा करिब आधा रोजगारदाता कम्पनीले कम्तीमा छ प्रतिशत तलब वृद्धि दिने योजना बनाएका छन् । तर, नयाँ रोजगारीको अवसर खोजिरहेका ७५ प्रतिशत पेसाकर्मीले १० प्रतिशतभन्दा बढी तलब वृद्धि पाउने अपेक्षा गरेका छन् ।

रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिको अपेक्षाबीचको यो अन्तरले नयाँ जनशक्ति भर्ना गर्दा कम्पनीहरूलाई चुनौती हुन सक्ने देखाएको छ ।

सर्वेक्षणअनुसार कृत्रिम बुद्धिमत्ता (एआई), तथ्याङ्क विश्लेषण, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा विशिष्टीकृत वित्तीय सेवाजस्ता उच्च माग भएका क्षेत्रमा दक्षता हासिल गरेका जनशक्तिले आगामी वर्ष पनि तुलनात्मक रूपमा बढी तलब वृद्धि पाउने सम्भावना छ ।

विशेषगरी प्राविधिक क्षेत्रमा राम्रो क्षमता भएका र आफ्नो कामबाट कम्पनीको व्यावसायिक उपलब्धिमा प्रत्यक्ष योगदान पुर्‍याउन सक्ने कर्मचारीले बढी पारिश्रमिक प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

सिंगापुरको श्रम बजारमा तलब वृद्धि जारी रहने भए पनि त्यसको दर सामान्य रहने र दक्ष जनशक्तिले भने तुलनात्मक रूपमा बढी लाभ लिन सक्ने सर्वेक्षणले औँल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?