१ असोज, काठमाडौं । स्मार्टफोन र छोटो भिडियोको बढ्दो लतबाट नागरिकलाई मुक्त गराउन सिंगापुर सरकारले किताब पढेबापत पैसा दिने अनौठो अभियान सुरु गरेको छ।
यसका लागि सिंगापुर सरकारले ५ वर्षे नेसनल रिडिङ मिसन नै सुरु गरेको छ । यो मिसनअन्तर्गत नागरिकहरूले दैनिक कम्तीमा १५ मिनेट किताब पढ्नुपर्नेछ।
पढेको समय सरकारी वेबसाइटमा दर्ता गरेबापत पोइन्ट प्राप्त हुनेछ। तिनै पोइन्टका आधारमा नगद पुरस्कार दिइनेछ। मानिसहरूमा पुनः किताब पढ्ने बानी बसाल्नु यसको मुख्य उद्देश्य हो।
लगातार फोन चलाउने र छोटा भिडियो हेर्ने बानीले मानिसहरू लामो समयसम्म कुनै किताब वा लेखमा ध्यान केन्द्रित गर्न नसक्ने भएका छन्। सरकार नागरिकको यही बानी बदल्न चाहन्छ।
१५ मिनेट पढ्दा २० कोइन
यस योजनाअन्तर्गत दैनिक कम्तीमा १५ मिनेट पढ्दा २० वटा भर्चुअल कोइन पाइनेछ। दिनमा एकपटक मात्र पढेको समय दर्ता गर्न सकिनेछ। यदि कुनै व्यक्तिले लगातार ५० दिनसम्म दैनिक १५ मिनेट पढ्छ भने, उसको खातामा १,००० कोइन जम्मा हुनेछ। यसबापत उसले १ सिंगापुर डलर (करिब १२० नेपाली रुपैयाँ) प्राप्त गर्नेछ।
यस वर्ष सरकारले कुल ७५ लाख रिडिङ मिनेटको लक्ष्य राखेको छ। मानिसहरूलाई प्रोत्साहित गर्न करिब १ करोड ८२ लाख रुपैयाँ बराबरको पुरस्कार वितरण गरिनेछ।
पढाइ नै गेम
सिंगापुरको नेसनल लाइब्रेरी बोर्ड (एनएलबी) ले यस योजनामा गेमजस्तै रिवार्ड सिस्टम बनाएको छ। मानिसहरूले क्राउडटास्क एसजी वेबसाइटमा गएर दैनिक आफ्नो पढाइको समय दर्ता गर्न सक्नेछन्। जति धेरै समय पुग्छ, त्यति नै धेरै कोइन पाइनेछ र त्यसलाई नगदमा परिणत गर्न सकिनेछ।
रील्सको सट्टा किताब
सरकार मानिसहरूले फोनमा लगातार रील्स र छोटा भिडियो हेर्नुको सट्टा केही समय किताब पढ्नमा बिताऊन् भन्ने चाहन्छ ।
नेसनल लाइब्रेरी बोर्डकी प्रमुख मेलिसा ट्यामका अनुसार, छोटा भिडियोहरूबाट जानकारी छिटो प्राप्त त हुन्छ, तर लगातार धेरै जानकारी हेर्दा दिमाग थाक्न सक्छ।
अर्कोतर्फ, किताब र लामा लेखहरू पढ्दा ध्यान केन्द्रित गर्ने, सोच्ने र कल्पना गर्ने क्षमताको विकास हुन्छ। त्यसैले सरकारले सुरुवातका लागि दैनिक १५ मिनेटको मात्रै लक्ष्य राखेको हो।
परीक्षाका लागि मात्रै पढ्छन् युवाहरू
रिसर्च एनालिस्ट आइज्याक निओका अनुसार, बालबालिका र युवाहरूमा पढाइ र परीक्षाको ठूलो दबाब छ। यस्तो अवस्थामा उनीहरू प्रायः परीक्षा पास गर्नका लागि मात्रै पढ्छन्। मनको शान्ति र खुसीका लागि किताब पढ्ने बानी हराउँदै गएको छ।
यही कारणले निओले सन् २०२५ मा मोडर्न मेन्स बुक क्लब सुरु गरेका थिए, जसको उद्देश्य युवाहरूलाई पुनः किताबसँग जोड्नु थियो।
के पैसा दिएर पढ्ने बानी बसाल्न सकिन्छ?
यस योजनालाई लिएर विज्ञहरूको फरक-फरक धारणा छ। मनोवैज्ञानिक चारिसा एनजीका अनुसार, पैसाको लोभले ती मानिसहरूलाई प्रेरित गर्न सक्छ, जसमा पहिलेदेखि नै पढ्नमा अलिकति रुचि छ। तर, किताब पढ्नमा पटक्कै रुचि नभएकाहरूलाई पैसाले मात्र लामो समयसम्म पढ्ने बानी बसाल्न सक्दैन।
यद्यपि, पुस्तक विज्ञहरू भने सुरुवात गराउनका लागि सानो पुरस्कारले पनि काम गर्न सक्ने बताउँछन्। कसैले सुरुमा पैसाकै लागि पढे पनि पछि गएर उसलाई आफैँ रुचि जाग्न सक्छ।
अर्थात्, सिंगापुर सरकारको यो योजनाको मुख्य उद्देश्य केही रकम बाँड्नु मात्र होइन, बरु मानिसहरूलाई दैनिक १५ मिनेट भए पनि फोनबाट टाढा राखेर किताबको नजिक पुर्याउनु हो।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4