+
+
Shares
विश्व बाल दिवस : :

‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते २०:०६

‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’

यो विश्व बाल दिवसको नारा हो । तर, के यो नाराले सबै तप्काका बालबालिकालाई समेट्छ ?

यही प्रश्न बोकेर हामी ती बालबालिकाको खोजीमा निस्कियौँ, जसले जेनजी विद्रोहमा आफ्ना अभिभावक गुमाए ।

सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो । तीमध्ये कतिले आफ्ना अभिभावक गुमाएका थिए ?

खोज्दै जाँदा उनीहरू खुला क्यानभासमा रङ र ब्रस चलाइरहेका भेटिए । काँचो माटोबाट आफ्नो रुचिअनुसारका आकृति बनाइरहेका देखिए । गोल्यान फाउन्डेसनले यसको तारतम्य मिलाइदिएको रहेछ ।

कस्तो चित्र बनाउने ? कस्तो भाँडो बनाउने ? यसमा कुनै रोकटोक थिएन । उनीहरू स्वच्छन्द रूपमा आफ्नो कला र सीप देखाउन सक्थे । क्यानभासमा जस्तो रङ पोते पनि हुन्थ्यो, काँचो माटोमा जस्तो आकार निकाले पनि हुन्थ्यो ।

यो ती अबोध बालबालिकाका लागि एउटा सांकेतिक उत्सवजस्तै थियो । किनभने उनीहरू काँचो माटो त हुन्। उनीहरू खुला क्यानभास त हुन् ।

उनीहरूलाई खाँचो थियो अटुट माया र अविचलित मार्गदर्शनको ।

यही भूमिकामा रहेछ गोल्यान फाउन्डेसन । यी बालबालिकाका लागि ‘धाईआमा’ जस्तै बनेर शिक्षादीक्षा र स्याहारसुसार गरिरहेको छ ।

फाउन्डेसनकी सीईओ ज्योति गैरे भन्दै थिइन्, ‘उनीहरूलाई माया, सुरक्षा र मार्गदर्शनको खाँचो छ। त्यो कुरामा हामीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छौँ ।’

यी बालबालिकालाई आफूलाई पायक पर्ने र सहज विद्यालयमा शिक्षादीक्षाको व्यवस्था गरिएको छ । उनीहरूको नियमित रेखदेख गरिएको छ । उनीहरूको दुःखमा मात्र होइन, सुखमा पनि साथ दिइएको छ । जन्मोत्सवजस्ता अवसरमा फाउन्डेसनकै तर्फबाट उत्सव मनाइदिने व्यवस्था गरिएको छ ।

कक्षा १२ सम्म उनीहरूलाई यसरी नै सम्पूर्ण रूपमा शिक्षादीक्षा दिइरहेको उनले बताइन् । शैक्षिक प्रमाणपत्र मात्र उनीहरूका लागि काफी छैन । त्यससँगै सीप र दक्षता बढाउने कार्यक्रममा पनि उनीहरूलाई सहभागी गराइन्छ ।

आज विश्व बाल दिवसको अवसरमा गोल्यान फाउन्डेसनले नै ती बालबालिकालाई यसरी खुला क्यानभास र काँचो माटो दियो। त्यसमा स्वच्छन्द रमाउन दियो ।

कोही क्यानभासमा सप्तरङ्गी चित्र बनाउँदै थिए, कोही भाँडाकुँडामा आफ्नो कला देखाउँदै थिए ।

पृष्ठभूमिमा राखिएको ब्यानरमा लेखिएको थियो, ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?