+

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

२०८३ मंसिर  ४ गते २०:०० २०८३ मंसिर ४ गते २०:००

अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माणदेखि राष्ट्रिय टोली र युवा खेलाडीलाई उच्चस्तरीय प्रशिक्षणको अवसर उपलब्ध गराउनेसम्मका विषय नेपालले भारतसँग विगतदेखि उठाउँदै आएको छ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा नेपालले क्रिकेट पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा भारतीय सहयोगको विषय उठाउन सक्ने देखिएको छ।
  • नेपालले सन् २०१४ देखि पोखरा र फाप्ला रंगशाला निर्माणका लागि भारतसँग प्रस्ताव राख्दै आए पनि ठोस सम्झौता हुन सकेको छैन।
  • सन् २०२४ मा नेपाली टोलीले बेंगलुरु राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण पाएको थियो भने सन् २०२५ मा तीन यू–१९ खेलाडीले भोपालमा प्रशिक्षण लिएका थिए।

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा क्रिकेट पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा भारतीय सहयोगको विषयले प्राथमिकता पाउन सक्ने देखिएको छ।

अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माणदेखि राष्ट्रिय टोली र युवा खेलाडीलाई उच्चस्तरीय प्रशिक्षणको अवसर उपलब्ध गराउनेसम्मका विषय नेपालले भारतसँग विगतदेखि उठाउँदै आएको छ।

नेपाल र भारतबीच क्रिकेट तथा खेलकुद सहकार्यका विषय नयाँ भने होइनन्। सन् २०१४ देखि नै दुई देशबीचका उच्चस्तरीय बैठकमा क्रिकेट पूर्वाधार विकासको विषय उठ्दै आएको छ।

तर रंगशाला निर्माणका लागि ठोस सम्झौता हुन सकेको छैन। पछिल्ला वर्षमा भने खेलाडीको प्रशिक्षण र क्षमता अभिवृद्धिमा सहकार्य अघि बढेको छ।

नेपाल र भारतबीच सन् २०१४ नोभेम्बर २५ मा युवा मामिला तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको उक्त समझदारीले युवा तथा खेलकुद क्षेत्रमा अनुभव, सीप र ज्ञान आदानप्रदानको आधार तयार गरेको थियो।

यद्यपि उक्त समझदारी क्रिकेट रंगशाला निर्माणका लागि भएको थिएन। यसले खेलकुद क्षेत्रमा सहकार्यको सामान्य ढाँचा उपलब्ध गराएको थियो। अब त्यसलाई क्रिकेट केन्द्रित कार्यक्रममार्फत थप प्रभावकारी बनाउने सम्भावना छ।

पोखरा र फाप्ला रंगशालाका पुराना प्रस्ताव

नेपालले सन् २०१४ जुलाई २६ मा काठमाडौँमा भएको नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको विषय उठाएको थियो।

बैठकपछि जारी संयुक्त वक्तव्यमा पोखरामा रंगशाला निर्माणबारे छलफल भएको उल्लेख छ। तर त्यसबेला भारतसँग निर्माणसम्बन्धी छुट्टै सम्झौता भएको थिएन।

त्यसको करिब नौ वर्षपछि सन् २०२३ जुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा फाप्ला क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणका लागि नेपालले भारतसँग अनुदान सहयोग मागेको थियो।

कैलालीको धनगढीस्थित फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने नेपालको प्रस्ताव भारतसमक्ष औपचारिक रूपमा पुगेको थियो।

तर फाप्ला परियोजना निर्माणका लागि भारतले जिम्मेवारी लिने गरी कुनै द्विपक्षीय सम्झौता भएको थिएन। त्यसैले पोखरा र फाप्ला दुवै परियोजना भारतसँग छलफल तथा सहयोगको अनुरोधका रूपमा अघि बढेका हुन्, निर्माणको प्रतिबद्धताका रूपमा होइनन्।

प्रशिक्षण र क्षमता अभिवृद्धिमा सहयोग

रंगशाला निर्माणमा ठोस सहमति हुन नसके पनि खेलाडीको प्रशिक्षणमा भने भारतसँग सहकार्य भएको छ। सन् २०२४ अगस्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षणको अवसर पाएको थियो।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सहजीकरणमा भएको उक्त प्रशिक्षणले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा सहयोग पुर्‍याएको थियो।

नेपाली क्रिकेट टोली भारतको सेन्टर अफ एक्सिेन्समा

त्यस्तै, भारतीय दूतावासले सन् २०२५ मा ‘एम्बेसडर क्रिकेट फेलोसिप’ कार्यक्रममार्फत तीन नेपाली युवा खेलाडीलाई प्रशिक्षणको अवसर उपलब्ध गराएको थियो।

उक्त कार्यक्रमअन्तर्गत तीन नेपाली यू–१९ खेलाडीले भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा एक महिना प्रशिक्षण लिने अवसर पाएका थिए।

यी कार्यक्रमले दुई देशबीच क्रिकेट क्षेत्रमा सहकार्य सम्भव रहेको देखाएका छन्। तर यस्ता अवसरलाई नियमित र संस्थागत बनाउने विषय अझै महत्त्वपूर्ण छ।

यसपटकका सम्भावित एजेन्डा

नेपालको क्रिकेटले पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय स्तरमा प्रगति गरेको छ। राष्ट्रिय टोलीले विश्वकप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। तर अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार, खेलाडीको नियमित उच्चस्तरीय प्रशिक्षण, प्रशिक्षक उत्पादन र प्राविधिक क्षमताको विकासमा अझै चुनौती छन्।

त्यसैले प्रधानमन्त्री शाहको भारत भ्रमणमा क्रिकेट पूर्वाधार निर्माणका लागि सहयोग, राष्ट्रिय टोली तथा उमेर समूहका खेलाडीको प्रशिक्षण, प्रशिक्षक र प्राविधिक जनशक्ति आदानप्रदान तथा क्रिकेट संस्थाबीच दीर्घकालीन सहकार्यका विषय उठाउन सकिनेछ।

विशेषगरी पोखरा र फाप्लामा प्रस्तावित रंगशाला निर्माणका लागि भारतको प्राविधिक तथा आर्थिक सहयोग जुटाउने विषय नेपालका लागि महत्त्वपूर्ण हुन सक्छ। त्यससँगै बेंगलुरुको राष्ट्रिय क्रिकेट एकेडेमीमा नेपाली खेलाडीको प्रशिक्षणलाई नियमित बनाउने र युवा खेलाडीका लागि फेलोसिप कार्यक्रम विस्तार गर्ने विषय पनि प्राथमिकतामा पर्न सक्छ।

नेपालले भारतसँग क्रिकेट पूर्वाधार निर्माणका लागि एक दशकभन्दा लामो समयदेखि विभिन्न तहमा प्रस्ताव राख्दै आएको छ। तर अहिलेसम्म रंगशाला निर्माणमा ठोस द्विपक्षीय सहकार्य हुन सकेको छैन।

यसपटकको भ्रमणमा पुराना प्रस्तावले मूर्त रूप पाउँछन् वा प्रशिक्षण र क्षमता अभिवृद्धिमा भइरहेको सहकार्य थप विस्तार हुन्छ भन्ने विषय चासोका साथ हेरिएको छ।

नेपाली क्रिकेट प्रधानमन्त्री बालेन भारत भ्रमण
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय