+
+
Shares

भारतले पनि माग्यो बागडोग्रा एयरपोर्टका लागि नेपाली आकाश

नेपाली पक्षले भैरहवा एयर रुटको अडान दोहोर्‍याएपछि भारतीय पक्षले प्याकेजमा सहमति गरौं भनी प्रस्ताव गर्‍यो, जसमा बागडोग्राको नाम थियो ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८३ कात्तिक २९ गते २०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणअघि भैरहवा एयर रुटका लागि भारतीय आकाश प्रयोगबारे नेपाली र भारतीय पक्षबीच सहमतिको प्रयास नयाँ मोडमा पुगेको छ।
  • नेपाली पक्षले बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न सहमत हुन सक्ने संकेत दिएको छ भने रक्सौलबारे अध्ययन गर्न समय मागेको छ।
  • पर्यटन मन्त्रालयले जनकपुर र भैरहवाको आन्तरिक उडान र भारतीय पर्यटकलाई नेपाली बजारमा ल्याउने विषयमा बुद्ध एयरसँग पनि कुरा गरेको छ।

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा भैरहवा एयर रुटका लागि भारतीय आकाश प्रयोगको अनुमति प्राप्त गर्न नेपाली पक्षले थालेका प्रयासले नयाँ मोड लिएका छन् ।

पूर्वी नेपाल र भुटानसँग नजिक रहेको भारतको बागडोग्रा विमानस्थलबाट उड्ने र ओर्लने अन्तर्राष्ट्रिय उडानका लागि पूर्वी भागको आकाश प्रयोग गर्न नेपाली पक्षले सहमति दिने तयारी गरेको छ ।

दुई दिनअघि नयाँ दिल्लीमा नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल सहितको सरकारी टिमले यसको गृहकार्य गरेको हो ।

उच्च सरकारी स्रोतका अनुसार, भारतीय पक्षसँग नेपाली टोलीले भैरहवा एयररुटका लागि यसअघिदेखि नै माग गर्दै आएकामा कूटनीतिक संवाद क्रममा बागडोग्रा र रक्सौलका उडानका लागि नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने भारतीय प्रस्ताव थियो ।

त्यसमा नेपाली पक्षले हाललाई बागडोग्राका लागि सहमत हुन सकिने संकेत गरेको छ । मंगलबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल भारत गएपछि यसबारे थप कुरा हुन सक्ने सम्भावना छ । प्रधानमन्त्री बालेन शाहको एक सातापछि हुने भनिएको नयाँ दिल्ली भ्रमणमा यसबारे सहमति हुन सक्ने छ ।

‘रक्सौलबारे चाहिँ हामीले केही समय अध्ययनका लागि लाग्न सक्ने जवाफ दिएका छौं,’ सरकारी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हाललाई बागडोग्राका लागि हामी ओपन भयौं भनेर मान्दा हुन्छ ।’

भारतीय पक्षले आग्रह गरे बमोजिम जनकपुर र भैरहवाको आन्तरिक उडानका लागि बुद्ध एयरसँग आज आइतबार पर्यटन मन्त्रालयले कुरा गरेको छ । भारतीय पर्यटकलाई नेपाली बजारमा ल्याउनका लागि बुद्ध एयरले भूमिका खेल्न सक्ने जवाफ पाएको सूचना अनलाइनखबरलाई प्राप्त छ ।

पोखरा विमानस्थलका लागि भने हालसम्म स्पष्ट जवाफ भारतीय पक्षले दिएको छैन । तर भैरहवा पोखरा फास्टट्र्याक निर्माण र मुक्तिनाथसम्मको सहज यात्राका लागि आवश्यक निर्णयहरू हुन सक्नेछन् ।

प्याकेजमा सहमति खोज्दा नेपाली आकाश प्रयोग गर्न दिन सकिने कुरा भएको एक उच्च तहका अधिकारीले भने ।

‘एसिया प्रशान्त क्षेत्रका लागि उड्ने केही जहाजहरू बागडोग्रा हुँदै आउने र तिनको संख्या पनि धेरै नभएकाले यो अनुमति दिन करिब सम्भव देखिन्छ,’ सरकारी स्रोतले भन्यो, ‘तर नेपाली हिमालको छेउबाट धेरै उडान नगराउनका लागि भारतको समेत हामीलाई साथ चाहिन्छ । त्यसैले भैरहवा एयररुटका लागि हाम्रो जोड हो ।’

महेन्द्रनगर हुँदै यसअघि ३९ हजार फिटमाथिबाट जहाज आउनुपर्ने भनिए पनि व्यावहारिक हिसाबले टर्किस र पाकिस्तानी एयरलाइन्सहरुबाहेक अरु २९ हजारदेखि ३५ हजार फिटसम्म मात्रै उडिरहेको नेपाली पक्षले बताएको छ । त्यसलाई देखाउँदै भारतीय पक्षले सुरक्षा कारण दिने गरेको छ । प्रधानमन्त्री बालेनको भ्रमणमा एयररुटको समस्या स्थायी रुपमा समाधानको प्रयास गरिने सरकारी पक्षले बताएको छ ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?