News Summary
Generated by OK AI. Editorially reviewed.- कविताले ज्वरो, आँसु र अनुहार रातोपिरो हुनु शरीरका गम्भीर समस्याका लक्षण हुन सक्ने भन्दै तिनलाई कम नआँक्न आग्रह गरेको छ।
- कविताले शरीर र मनको सन्तुलनलाई स्वास्थ्यसँग जोड्दै हिमाल, भोटेकोसी, बेत्रावती र रसुवाका लक्षणलाई पृथ्वीको भविष्यसँग जोडी हेर्न अपिल गरेको छ।
- कविताले विश्व मानवलाई स्वस्थ, हराभरा पृथ्वी चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्न उठाउँदै भविष्यबारे सचेत हुन आग्रह गरेको छ।
ज्वरो निधारमा थियो
व्यथा टाउकाको थिएन
आँसु आँखाबाट खसिरह्यो
तर समस्या आँखाको मात्र थिएन।
ज्वरो आयो
अनुहार रातोपिरो भयो
गहबाट आँसुको भल बगिरह्यो
अनुहारको सोह्र सिङ्गार पखालियो।
कुरा यत्ति हो
तर यत्ति नठान्नु !
ज्वरो आउनु सङ्केत मात्र हो
यो त लक्षण हुन सक्छ कुनै महारोगको
कुनै कसिङ्गरले बिझाएर बगेको होइन
आँखाको पानी-
आँसुको भल बग्नु
कुनै गम्भीर समस्या हुन सक्छ
नजानिँदो गरी।
सबै–सबै अङ्ग र तन्तुको
अन्तरनिर्भरता हो शरीर,
विचारहरूको सन्तुलन
हो स्वस्थ मन !
शरीर हृष्टपुष्ट र स्वस्थ भए
मन स्वच्छ र सोच सकारात्मक भए
बाह्य प्रभावले नछोए
अनि सबका सब मिले पो हो
जीवन सन्तुलित हुने !
नत्र त यन्त्र बिग्रिए पनि
संयन्त्र खल्बलिए पनि
खर्लप्पै नढलुन्जेल
देखिने त यस्तै लक्षण न हो !
लक्षणलाई कम आँक्नु
कमजोरी हो आफ्नै,
महारोगले गाँजेपछि
निको हुने सम्भावना क्षीण बन्छ
ढलेपछि उठ्न कहाँ सजिलो छ र !
प्रिय विश्व मानव,
तिमीले हिमालको ज्वरो छामेका छौ ?
भोटेकोसीको आँसु अनुभूत गरेका छौ ?
बेत्रावतीको पखालिएको सोह्र सिङ्गार
र रसुवाको रातोपिरो अनुहार देखेका छौ ?
पृथ्वीले सङ्केत गरेका यी लक्षण बुझेका छौ ?
तिमीले यो सेतो हिमालको भविष्य देखेका छौ ?
तिमीलाई यो धर्तीमा भोलि बाँच्नु छ कि छैन ?
स्वस्थ हराभरा पृथ्वी
तिमीलाई चाहिएको छ कि छैन ?
प्रतिक्रिया 4