१४ कात्तिक, सिरहा । ‘बाबु–बाजेको जीवन माटामै बित्यो । मैले पनि जीवन माटासँगै बिताउँदैछु । छोराछोरी पनि माटासँगै जोडिएका छन् ।’ सिरहाको धनगढीमाई नगरपालिका–७ कसहामा पुग्दा स्थानीय ५५ वर्षीय राजेन्द्र पण्डित भावुक हुँदै भन्दैथिए ।
उनको भनाइमा कुम्हाल समुदायको जीवन माटो नै हो । ‘हाम्रो जीवन नै माटो हो । पितापुर्खादेखि नै हाम्रो जीवनपद्धति माटासँगै जोडिएको छ,’ राजेन्द्र अगाडि भन्छन् ।
राजेन्द्रको परिवारलाई अहिले दीपावली र छठ पर्वका लागि माटाका भाँडा तथा पूजासामग्री बनाउन भ्याइनभ्याइ छ ।
बिहानदेखि बेलुकासम्म परिवारका सबै सदस्य माटोका सामग्री बनाउन व्यस्त छन् । परिवारका कसैले माटो खन्ने र तयार पार्ने काम गरिरहेका छन् भने कसैले मेसिन र हातको सहायताले भाँडा बनाउने गरिरहेका छन् । यही अवस्था अन्य कुम्हाल परिवारको छ ।
व्यस्त सिजन चलिरहँदा कुम्हाल समुदायमा बनाएका सामग्रीले उचित मूल्य नपाउने चिन्ता पनि छ । चिन्ता उचित मूल्यको मात्र छैन, भविष्यको पनि छ ।

बजारमा रेडिमेड सामग्रीको प्रयोग बढ्दै जाँदा माटाका भाँडाको बिक्री घटेको छ । जसले कुम्हाल समुदायको पेसा नै संकटमा पर्न थालेको छ ।
राजेन्द्रका अनुसार पछिल्लो समय माटोको मूल्यदेखि दैनिक उपभोग्य वस्तुसम्मको भाउ बढेको छ । तर, मेहनत गरेर बनाएका माटाका भाँडाको मूल्य भने बढ्न सकेको छैन ।
‘हामीले सामग्री बनाउन माटोसमेत किन्नुपर्छ । माटोको मूल्य बढेको छ, तर माटोबाट बनाएका सामग्रीको मूल्य बजारमा बढेको छैन,’ उनी भन्छन् ।

सबै समाग्री मिलाएर एक सेटको १ सयदेखि १५० सम्ममा बिक्री हुने गरेको उनी बताउँछन् । ‘त्यसमा लागत नै ६० देखि ७० रुपैया लागेको हुन्छ,’ उनी थप्छन् ।
यही पेसाबाट परिवार चलाइरहेका कुम्हाल समुदायका लागि मेहनतअनुसार मूल्य नपाएको पीडाभन्दा बढी सुदूर भविष्यको चिन्ता छ ।
‘रेडिमेड सामग्रीको प्रयोग बढ्दै जाँदा हाम्रो पेसा संकटमा परेको छ, तर सरकारले हाम्रो समस्याप्रति चासो दिएको छैन,’ स्थानीय उपेन्द्र पण्डित गुनासो गर्छन् । मेहनतअनुसार आम्दानी नहुँदा परिवार पाल्न र आर्थिक अवस्था सुधार्न कठिन भइरहेको उनी बताउँछन् ।

‘पितापुर्खाले यही काम सिकाए । अर्को पेसामा जाने सीप र अवसर पनि छैन । पहिला बुवा–बाजेले माटाका भाँडा बनाएर पहिलो सिजनमै खेत किन्न सक्नुहुन्थ्यो,’ उपेन्द्र भन्छन्, ‘अहिले हामी वर्षभरि मेहनत गर्दा पनि एक कठ्ठा जग्गा किन्न सक्ने अवस्था छैन ।’
कुम्हाल समुदायको पेसा र चाडपर्वको सम्बन्ध बालबालिकासँग पनि जोडिएको छ । चाडपर्वका बेला विद्यालय बिदा हुँदा कतिपय बालबालिकाले आफ्ना बुवा–आमालाई माटाका सामग्री बनाउन सघाउने गरेका छन् । स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत अनिशकुमार पण्डित पनि बिदाको समयमा अभिभावकलाई सघाइरहेका छन् ।
स्थानीय अर्जुन पण्डितले माटाका सामग्रीको उचित मूल्य निर्धारण हुनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार उत्पादकबीच एकता र बजार व्यवस्थापनको अभावले पनि पेसा संकटमा परेको छ ।

यद्यपि, दैनिक प्रयोग हुने भाँडाकुँडामा आधुनिक सामग्रीको प्रयोग बढेपनि धार्मिक तथा सांस्कृतिक परम्परामा माटाका भाँडाको महत्त्व अझै कायम छ । जसले कुम्हाल समुदायको परम्परागत सीपबाट उत्पादित सामग्रीले आंशिक भएपनि बजार प्रदान गर्दैआएको छ ।
सिरहा नपा–११ का ब्रह्मदेव पण्डितले दीपावली र छठजस्ता पर्वले आफ्नो समुदायको पेसा बचाइदिएको टिप्पणी गर्छन् । ‘दीपावली र छठमा माटाका सामग्रीको विशेष महत्त्व हुन्छ । भक्तजनले पूजामा प्रयोग गर्ने सामग्री छनोट गर्दा परम्परागत माटाका भाँडालाई प्राथमिकता दिने गर्छन्,’ उनी भन्छन् ।






प्रतिक्रिया 4