News Summary
Generated by OK AI. Editorially reviewed.- जेन–जीमा ‘माइक्रो–लेबलिङ’ प्रवृत्ति बढेको छ, जसले भावना, सम्बन्ध र व्यवहारका बीचका अवस्थालाई छुट्टाछुट्टै नाम दिएको छ।
- थेरापी टक, सामाजिक सञ्जालका एल्गोरिदम र नियन्त्रणको चाहनाले यस्ता नयाँ लेबल प्रचलनमा आएको लेखले बताएको छ।
- लेखले यी लेबलले आफूलाई बुझ्न र अभिव्यक्त गर्न मद्दत गरे पनि आफैँलाई सीमित गर्ने पिँजरा बनाउन नहुने चेतावनी दिएको छ।
यदि तपाईंले कसैलाई ‘म अन्तर्मुखी होइन, ओम्निभर्ट हुँ’ वा ‘म अल्छी होइन, बेड रोटिङ गरिरहेको छु’ अथवा ‘मलाई एन्जाइटी होइन, हाई फङ्सनिङ एन्जाइटी छ’ भनेको सुन्नुभएको छ भने तपाईं नयाँ पुस्ता अर्थात् जेन–जीको एउटा प्रमुख प्रवृत्ति ‘माइक्रो–लेबलिङ’सँग परिचित भइसक्नुभएको छ।
…..
पहिलेको संसार निकै सरल थियो । मानिस कि खुसी हुन्थ्यो कि दुःखी । कि प्रेममा हुन्थ्यो कि हुँदैनथ्यो । कोही अन्तर्मुखी हुन्थ्यो कि बहिर्मुखी । तर जेन–जीले यो सरल संसारलाई केही जटिल बनाइदिएको छ । उसले बीचका सबै अवस्थालाई छुट्टाछुट्टै नाम दिएको छ। यही प्रवृत्तिलाई ‘माइक्रो–लेबलिङ’ भनिन्छ ।
अब दुःखी हुनु मात्र पर्याप्त छैन । तपाईंले आफू ‘स्याड गर्ल अटम’को अवस्थामा हुनुहुन्छ कि ‘मेन क्यारेक्टर इनर्जी’बाट बर्नआउटमा पुग्नुभएको छ भन्ने पनि बताउनुपर्ने भएको छ । अहिले सम्बन्ध भनेको प्रेमी–प्रेमिका मात्र होइन। सम्बन्धको सुरुवाती अनिश्चित अवस्था (टकिङ स्टेज), स्पष्ट नाम नदिइएको सम्बन्ध (सिचुएसनसिप), शारीरिक सम्बन्धमा सीमित मित्रता (फ्रेन्ड्स विद बेनिफिट्स) वा बिस्तारै गहिरिँदै जाने प्रेम (स्लो बर्न) जस्ता अनेक नाम प्रचलनमा छन्। त्यसैगरी, काम नगर्नुलाई पनि अब अल्छीपन मात्र भनिँदैन। त्यसलाई ‘बेड रोटिङ’ वा ‘गोब्लिन मोड’ भनिन्छ ।
अब प्रश्न उठ्छ, भावनाका यी नयाँ परिभाषा कहाँबाट आए? यसका तीन प्रमुख कारण छन् ।
पहिलो कारण हो, थेरापी टक
जेन–जी पहिलो पुस्ता हो, जसले मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्छ। टिकटक र इन्स्टाग्राममा मनोचिकित्सक तथा मानसिक स्वास्थ्यसम्बन्धी सामग्री निर्माताहरूले ग्यासलाइटिङ, लभ बम्बिङ, बाउन्ड्रीज र अट्याचमेन्ट स्टाइलजस्ता शब्दबारे नियमित रूपमा जानकारी दिइरहेका हुन्छन् । त्यसैले पहिले सामान्य रूपमा मन खराब भएको भनिने अवस्थालाई अहिले ‘एन्जाइटी अट्याचमेन्ट’ जस्ता विशिष्ट नामले चिनाउन थालिएको छ ।
दोस्रो कारण हो, एल्गोरिदम
इन्स्टाग्राम र टिकटकले तपाईं को हुनुहुन्छ भन्ने कुरा नै बताउन थालेका छन् । यदि तपाईं दिनभरि ओछ्यानमै बिताउनुहुन्छ भने एल्गोरिदमले तपाईंलाई ‘क्लिन गर्ल’ होइन, ‘बेड रोटिङ’ गरिरहेको व्यक्ति भनेर चिनाउन सक्छ । यदि सबैको सहयोग गर्दागर्दै तपाईं थाक्नुभएको छ भने तपाईं ‘पिपल प्लिजर’ हुन सक्नुहुन्छ । यसरी एल्गोरिदमले हरेक बानी र व्यवहारलाई एउटा छुट्टै पहिचान र जीवनशैलीका रूपमा प्रस्तुत गर्न थालेको छ ।
तेस्रो र सबैभन्दा ठूलो कारण हो, नियन्त्रणको चाहना
संसार अनिश्चित हुँदै गएको छ । रोजगारीको सुनिश्चितता छैन, जलवायु परिवर्तनको चिन्ता छ र कृत्रिम बौद्धिकता (एआई) ले रोजगारी खोस्न सक्ने डर छ । बाहिरी संसारमा केही पनि आफ्नो नियन्त्रणमा नभएको महसुस हुँदा कम्तीमा आफ्नै भित्री भावना र अवस्थालाई नाम दिएर नियन्त्रण गर्न सकिन्छ भन्ने लाग्छ । आफ्नो अवस्थाको नाम थाहा पाएपछि ‘हो, म मात्र यस्तो होइन रहेछु, मजस्तै अरू पनि रहेछन्’ भन्ने अनुभूति हुन्छ ।
यसका फाइदा पनि छन् र बेफाइदा पनि । फाइदा के हो भने अहिले आफ्ना भावना र अवस्था व्यक्त गर्न सजिलो भएको छ । पहिले ‘मलाई के भइरहेको छ, थाहै छैन’ भनिन्थ्यो । अहिले ‘मेरो सोसल ब्याट्री सकियो’ भन्दा अर्को व्यक्तिले तत्कालै कुरा बुझ्न सक्छ ।
तर यसको बेफाइदा पनि छ । कहिलेकाहीँ हामी आफैँले बनाएका लेबलभित्र कैद हुन पुग्छौँ। हरेक अल्छीपन प्रोक्रास्टिनेसन हुँदैन र हरेक रिस ट्रमा रेस्पोन्स हुँदैन । कहिलेकाहीँ हामी केवल थाकेका हुन्छौँ । त्यसैले यस्ता लेबललाई आफूलाई बुझ्न र आफ्ना भावना व्यक्त गर्न सहयोगी माध्यमका रूपमा प्रयोग गर्नुपर्छ, आफैँलाई सीमित गर्ने पिँजरा बनाउन होइन ।
वास्तवमा जेन–जीले हामीलाई सिकाएको कुरा के हो भने मानिस केवल कालो र सेतो अर्थात् दुईवटा अवस्थामा मात्र हुँदैन । यी दुई अवस्थाबीच अरू पनि अनेकौँ रङ र छायाहरू हुन्छन् । ती प्रत्येक छायाको आफ्नै नाम हुनु आवश्यक छ, ताकि त्यसलाई देख्न सकियोस्, बुझ्न सकियोस् र त्यसको अस्तित्वलाई पनि स्वीकार गर्न सकियोस् ।
सरिताबाट
प्रतिक्रिया 4