१३ कात्तिक, काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार यो तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका नेपालका २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ।
यो नेपालमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत भएको टिकटकले जनाएको छ । प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएका भिडियोको दर ९९.५ प्रतिशत छ ।
गाइडलाइन्स उल्लङ्घन गरेका ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको थियो । थप समीक्षा गरेपछि ३३ हजार ५०३ वटा भिडियो पुनर्स्थापना गरिएका छन्।
यो अवधिमा टिकटकले विश्वव्यापी रूपमा १८ करोड, ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ । जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो।
तीमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा भिडियो अटोमेटेड डिटेक्सन टेक्नोलोजीको प्रयोगबाट हटाइएको टिकटकले जनाएको छ ।
टिकटकले यस अवधिमा १४ करोड ६८ लाख ७ हजार ४०० वटा फेक एकाउन्ट हटाइएको छ। यसका अतिरिक्त, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशंका गरिएका २ करोड ६८ लाख ४० हजार ७६७ वटा एकाउन्ट पनि हटाइएका छन् । कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार ४६३ वटा कमेन्टसमेत हटाइएको छ।
प्रकाशित सामग्रीमध्ये २.४ प्रतिशत लाइभ कन्टेन्ट पेन्डिङमा राखिएको छ । कारबाहीस्वरूप टिकटकले ७६ करोड ७२ लाख १ हजा ०९३ वटा लाइभ सेसन र २६ करोड ७८ लाख १ हजार १३५ जना लाइभ क्रिएटरलाई चेतावनी दिएको वा उनीहरूबाट आम्दानी गर्ने सुविधा हटाएको छ।
प्रतिक्रिया 4