News Summary
Generated by OK AI. Editorially reviewed.- भुटानको गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोटको आशंकासँगै गएराति आएको बाढीले छाचु क्षेत्र बगाएको छ र मो छू नदीका संरचनामा क्षति पुर्याएको छ।
- बाढीले पुनाखा–गासा राजमार्गको एक खण्ड र लाया गेओगको टोङचुद्राक सडक बगाएपछि लाया क्षेत्र देशका अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ।
- जोखिम देखिएपछि सेना, कर्मचारी र स्थानीयलाई अग्लो स्थानमा सारिएको छ, नदीको जलस्तर निगरानी भइरहेको छ, र तल्लो तटीय क्षेत्रमा साइरन सक्रिय गरिएको छ।
१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति एक्कासी ठूलो बाढी आएकाले हिमताल विष्फोटको आशंका गरिएको छ ।
गएरातिको बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ । मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा पनि क्षति पुर्याएको छ ।
आकस्मिक बाढीसँगै बगेर आएको गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ ।
बाढीले लाया गेओगको सडकअन्तर्गत टोङचुद्राक खण्डको केही भाग बगाएको र सडक अवरुद्ध भएपछि लाया क्षेत्र देशका अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) बीबीएसले जनाएको छ ।
बाढीका कारण मानवीय क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको बीबीएसले उल्लेख गरेको छ । रातिको समयमा बाढी आएकाले तत्काल क्षतिको पूर्ण विवरण संकलन गर्न नसकिएको अधिकारीहरूले जनाएका छन् ।
सुरक्षाकर्मी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था र नदीको जलस्तर निरन्तर निगरानी गरिरहेको जनाएका छन् ।
सिन्ताफु हिमताल विष्फोटको आशंका
यो बाढी गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएर आएको आशंका गरिएको छ ।

सिन्ताफु हिमताल भुटानको गासा जिल्लास्थित लाया गेओगको लुंगो क्षेत्रमा वाकिला हिमालको फेदीमा पर्दछ ।
भुटानको सिन्ताफु हिमताल देशका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो । यो ताल मो छू नदीको मुहान क्षेत्रमा पर्छ । बाढी पनि मो छू नदीमा आएकाले ताल विष्फोटको आशंका गरिएको हो ।
सामाजिक सन्जालमा सार्वजनिक केही तस्वीरहरुमा हिमतालबाट पानी बाहिरिएको जस्तो देखिन्छ । तर त्यसको आधिकारिकता पुष्टि हुन बाँकी छ ।
जोखिम क्षेत्रमा रहेकालाई अग्लो स्थानमा सारियो
बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सेना, कर्मचारी र स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
ताक्त्सिमाखाङमा खटिएका सैनिक, परियोजना कार्यालयका कर्मचारी तथा गासा छाचु क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।
गासा छाचुको तातोपानी कुण्डमा रहेका कर्मचारी र आगन्तुकलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।
त्यस्तै, पुनाखाको येबिसा क्षेत्रमा पनि बाढीको पानी पुगेको छ । पुनाखा सेन्ट्रल स्कुलले आफ्ना सबै आवासीय विद्यार्थीलाई सुरक्षित रूपमा अग्लो स्थानमा सारिएको पुष्टि गरेको छ ।
नदीको जलस्तर निगरानी, साइरन सक्रिय
यद्यपि, हिमताल वास्तवमै विस्फोट भएको हो वा होइन भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
घटनाको वास्तविक अवस्था, बाढीको परिमाण र त्यसबाट भएको क्षतिको विस्तृत विवरण पनि सार्वजनिक भएको छैन ।

भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्र (एनसीएचएम)ले मो छू नदीको तासिथाङ र येबेसा क्षेत्रमा पानीको सतह निगरानी गरिरहेको जनाएको छ ।
मो छू नदी र पुनात्साङछु नदीको तल्लो तटीय क्षेत्रमा जडान गरिएका साइरन प्रणाली सक्रिय पारिएको छ । सम्भावित जोखिममा रहेका छिमेकी जिल्लालाई पनि सतर्क गराइएको छ ।
बाढीको बहावसँगै ढुंगा, माटो र अन्य गेग्रान बगेर आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै पुनात्साङछु–२ जलविद्युत् आयोजनाले आफ्ना विद्युत् उत्पादन गर्ने युनिट बन्द गरेको छ ।
आयोजनाले बाँधका ढोका खोलेर जलाशयको पानीको सतह घटाएको छ । बाढीको पानी र त्यससँगै बगेर आउने गेग्रानलाई सहज रूपमा निकास दिन यस्तो सावधानी अपनाइएको हो ।
प्रतिक्रिया 4