News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली साहित्यमा दलित जीवन लेखिए पनि लामो समयसम्म दलित समुदाय स्वयम् आफ्नो जीवनको कथाकार बन्नबाट वञ्चित रहेको लेखमा भनिएको छ।
- लेखले दलित साहित्यलाई विभेदको वर्णनभन्दा पनि आत्मअभिव्यक्ति, पहिचान र मुक्तिको वैचारिक प्रक्रिया भनेको छ।
- लेखमा दलित सौन्दर्यशास्त्रले श्रम, सीप र सीमान्तकृत समुदायको सांस्कृतिक अभिव्यक्तिलाई पनि सौन्दर्यको मानकमा राख्नुपर्ने तर्क गरिएको छ।
साहित्य समाजको ऐना मात्र होइन, समाजलाई हेर्ने दृष्टि पनि हो। त्यसैले साहित्यमा कसको जीवन लेखिन्छ, कसको पीडा अभिव्यक्त हुन्छ, कसको इतिहास सम्झिइन्छ र कसको कस्तो कर्मलाई सौन्दर्यका रूपमा स्वीकार गरिन्छ भन्ने आफैँमा राजनीतिक हो। नेपाली साहित्यको इतिहासमा दलित जीवन, जातीय विभेद र सामाजिक अन्यायका विषयले प्रवेश पाए पनि लामो समयसम्म दलित समुदाय स्वयम् आफ्नो जीवनको कथाकार बन्ने अवसरबाट वञ्चित रह्यो। दलित जीवन लेखियो, तर दलितकै आवाज, अनुभव र दृष्टिकोणबाट कति लेखियो ? यही प्रश्नले दलित साहित्यको अवधारणा र दलित सौन्दर्यशास्त्रको बहसलाई नयाँ उचाइतिर लगेको छ।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपाली साहित्यमा दलित समुदायका जीवन, पीडा, विभेद र मुक्तिका प्रश्न क्रमशः प्रवेश गर्न थाले। त्यसबेला दलित लेखकहरूको सङ्ख्या अत्यन्त न्यून थियो। फलस्वरूप प्रारम्भिक चरणमा गैरदलित साहित्यकारहरूले दलित जीवन र जातीय विभेदका विषयलाई साहित्यमा स्थान दिए। यसले नेपाली साहित्यमा उपेक्षित समुदायका अनुभव र सामाजिक यथार्थबारे बहसको ढोका खोल्यो। तर दलित जीवनलाई बाहिरबाट चित्रण गर्नु र त्यस जीवनलाई भोगेको मानिसले आफ्नै चेतना, अनुभूति र दृष्टिकोणबाट अभिव्यक्त गर्नु एउटै कुरा होइन।
२०११ सालमा प्रकाशित मुक्तिराम तिमिल्सिनाद्वारा लिखित ‘को अछूत ?’ उपन्यास कृतिलाई नेपाली साहित्यमा जातीय विभेदको प्रश्न उठाउने प्रारम्भिक महत्त्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ। यस्ता लेखनले अछूत मानिएका मानिसको सामाजिक अवस्थालाई साहित्यिक विमर्शमा ल्याए। तर समयक्रमसँगै दलित साहित्यको बहस चित्रण र सहानुभूतिमा मात्र सीमित रहन सकेन। यसले प्रतिनिधित्व, आत्मअभिव्यक्ति, पहिचान र मुक्तिको प्रश्नलाई केन्द्रमा राख्न थाल्यो।
दलित साहित्य अब विभेदको वर्णन मात्र रहेन; विभेद पैदा गर्ने सामाजिक संरचना, विचार, संस्कृति र सत्तासम्बन्धमाथि प्रश्न उठाउने माध्यम बन्यो। समानता र जातीय विभेदविरोधी चेतनाका ऐतिहासिक परम्परादेखि आधुनिक दलित लेखनसम्म आइपुग्दा यो यात्राले नयाँ अर्थ ग्रहण गरेको छ।
२०४८ सालमा प्रकाशित भक्तबहादुर नेपालीको ‘उज्यालो गाउँ’ कृतिले जातीय विभेद, अन्याय र सामाजिक संरचनाका प्रश्न उठाएको छ। दलितको सामाजिक–राजनीतिक योगदान र सामाजिक यथार्थका दृष्टिले यसलाई महत्त्वपूर्ण कृतिका रूपमा अध्ययन गरिएको छ। त्यस्तै, लेखक आहुतिको ‘नयाँ घर’ उपन्यास २०५० सालमा प्रकाशित छ। आहुतिको लेखन उपन्यासमा मात्र सीमित छैन।
यहाँ एउटा आधारभूत प्रश्न उठ्छ— दलित साहित्य भनेको दलित पात्र, पीडा र विभेदलाई विषय बनाइएको साहित्य मात्र हो ? अथवा दलित समुदायले आफ्नै जीवन, अनुभव, इतिहास, भाषा, चेतना, सङ्घर्ष र मुक्तिको दृष्टिकोणबाट आफूलाई अभिव्यक्त गर्ने साहित्यिक तथा वैचारिक प्रक्रिया पनि हो ? दोस्रो अर्थलाई आत्मसात् नगरेसम्म दलित साहित्यको वास्तविक मर्म बुझ्न सकिँदैन।
दलित साहित्यको यही चेतनाले दलित सौन्दर्यशास्त्रको बहसलाई जन्म दिन्छ। परम्परागत सौन्दर्य चिन्तनले सुन्दरता, कला र सिर्जनाका निश्चित मानक निर्माण गरेको छ। तर ती मानक कसले बनायो ? कसको जीवन, श्रम, भाषा र अनुभूतिलाई सुन्दर मानियो ? कसको सिर्जनालाई कला भनियो र कसको सीपलाई सामान्य श्रम ठानेर अवमूल्यन गरियो ? यी प्रश्नको उत्तर खोज्नु दलित सौन्दर्यशास्त्रको महत्त्वपूर्ण पक्ष हो।
दलित साहित्यको सौन्दर्य केवल दुःखको गहिराइमा खोजिनु हुँदैन। दुःखलाई भाषामा बदल्ने क्षमता, मौनतालाई प्रतिरोधमा रूपान्तरण गर्ने चेतना र व्यक्तिगत भोगाइलाई सामूहिक मुक्तिको प्रश्न बनाउने सिर्जनात्मकतामा पनि यसको सौन्दर्य छ। यसले पीडाको चित्रण मात्र गर्दैन, पीडा उत्पादन गर्ने संरचनालाई नै कठघरामा उभ्याउँछ। त्यसैले दलित साहित्य करुणाको याचना होइन, समानताको दाबी हो; सहानुभूतिको अपेक्षा होइन, आत्मसम्मानको उद्घोष हो।
यसको एउटा महत्त्वपूर्ण पक्ष श्रमको सौन्दर्य हो। नेपाली समाजको दैनिक जीवनमा पुस्तौँदेखि दलित समुदायले गर्दै आएका श्रम र सीपलाई हेरौँ। आरनमा फलाम पिट्ने काम, छाला प्रशोधन गर्ने सीप, जुत्ता बनाउने कला, बाँस, माटो र काठबाट उपयोगी सामग्री निर्माण गर्ने दक्षता, कपडा बुन्ने सीप तथा कृषि श्रम- यी सबै मानव सभ्यताका महत्त्वपूर्ण ज्ञान र प्रविधिका रूप हुन्। यी केवल जीविकोपार्जनका माध्यम होइनन्, सांस्कृतिक स्मृति, पुस्तान्तरण हुँदै आएको ज्ञान र सिर्जनात्मकताको निरन्तरता पनि हुन्।
विडम्बना के छ भने जात व्यवस्थाले श्रमलाई आवश्यक ठान्यो, तर श्रमिकलाई सम्मान दिएन। श्रमबाट निर्मित वस्तु समाजले उपयोग गर्यो, तर त्यसलाई सिर्जना गर्ने हातलाई तुच्छ ठान्यो। आरनमा तयार भएको औजारको उपयोगिता स्वीकार गरियो, तर औजार बनाउने व्यक्तिको ज्ञान र सीपको उचित मूल्याङ्कन भएन। जुत्ता बनाउने कालिगढको दक्षता उपभोग गरियो, तर उसको श्रमलाई सम्मानको दृष्टिले हेरिएन। यही विरोधाभास जात व्यवस्थाको एउटा क्रूर चरित्र हो।
त्यसैले दलित सौन्दर्यशास्त्रले श्रमलाई केवल आर्थिक उत्पादनको विषयका रूपमा होइन, ज्ञान, कला, प्रविधि र सिर्जनाको स्रोतका रूपमा पुनः स्थापित गर्न खोज्छ। आरनमा बज्ने हथौडाको लयमा सौन्दर्य छैन ? छाला प्रशोधन गर्ने पुस्तौँदेखिको सीपमा ज्ञान छैन ? जुत्ता बनाउने कालिगढको डिजाइनमा कला छैन ? बाँस र माटोबाट जीवनोपयोगी सामग्री निर्माण गर्ने सिर्जनशीलता संस्कृति होइन ? प्रश्न यी काममा सौन्दर्य छ कि छैन भन्ने होइन; प्रश्न हाम्रो सामाजिक दृष्टिले त्यसलाई सौन्दर्यका रूपमा स्वीकार गर्न किन सकेन भन्ने हो।
दलित सौन्दर्यशास्त्रले यही स्थापित दृष्टिमाथि हस्तक्षेप गर्छ। यसले सौन्दर्यलाई दरबार, मन्दिर, अभिजात संस्कृति र निश्चित कलात्मक मान्यताभित्र मात्र खोज्ने प्रवृत्तिलाई चुनौती दिन्छ। श्रम गर्ने हात, जीवन निर्माण गर्ने सीप र सीमान्तकृत समुदायका सांस्कृतिक अभिव्यक्तिलाई पनि सौन्दर्यको विमर्शमा स्थापित गर्नुपर्ने तर्क गर्छ। यस अर्थमा दलित सौन्दर्यशास्त्र सौन्दर्यको परिभाषा विस्तार गर्ने मात्र होइन, त्यसको सामाजिक र राजनीतिक आधारमाथि पुनर्विचार गर्ने दृष्टिकोण हो।
यसरी हेर्दा दलित साहित्यलाई नेपाली साहित्यको एउटा छुट्टै विधा वा सीमित विषयगत कोटिमा राखेर बुझ्नु पर्याप्त हुँदैन। यो नेपाली समाजको इतिहास, संस्कृति, भाषा, श्रम र सत्तासम्बन्धलाई पुनः पढ्ने दृष्टि हो। यसले साहित्यमा स्थापित ‘केन्द्र’ र ‘सीमान्त’ को विभाजनमाथि प्रश्न गर्छ। कसको आवाज मूलधार हो र कसको आवाज किनारमा पारियो भन्ने प्रश्न उठाउँछ। यसले साहित्यिक मूल्याङ्कनका प्रचलित मानकलाई समेत लोकतान्त्रिक र समावेशी बनाउन आग्रह गर्छ।
कुनै समाज कति मानवीय छ भन्ने कुरा त्यसले आफ्नो सबैभन्दा पिँधमा पारिएको समुदायलाई कस्तो व्यवहार गर्छ भन्नेबाट मापन गर्न सकिन्छ। त्यस्तै, कुनै साहित्य कति लोकतान्त्रिक छ भन्ने कुरा त्यसले कति विविध जीवन, अनुभव र आवाजलाई सम्मानपूर्वक स्थान दिन्छ भन्नेबाट पनि मापन हुन्छ। दलित समुदायलाई समान मानिसका रूपमा स्वीकार नगर्ने समाजको साहित्यिक चेतना पनि पूर्ण लोकतान्त्रिक हुन सक्दैन।
त्यसैले आजको बहस केवल ‘दलित साहित्य के हो ?’ भन्ने प्रश्नमा सीमित छैन। प्रश्न यो पनि हो- जात व्यवस्थालाई स्वीकार गरेर हामी कस्तो साहित्य लेखिरहेका छौँ ? जातीय विभेदलाई सामान्य सामाजिक यथार्थ मानेर त्यसको सौन्दर्यीकरण गरिरहेका त छैनौँ ? श्रम गर्ने मानिसलाई सम्मान नगरी कस्तो सौन्दर्यको निर्माण गर्न खोजिरहेका छौँ ? अनि दलितलाई बराबर मानिसका रूपमा स्वीकार नगरी आफूलाई लोकतान्त्रिक समाज कसरी भनिरहेका छौँ ?
अन्ततः दलित साहित्यको लक्ष्य यस्तो समाज निर्माण गर्नु हो, जहाँ मानिसको मूल्य उसको जन्म, जात वा वंशले होइन, उसको मानवता, क्षमता र कर्मले निर्धारण गरोस्। जबसम्म यस्तो समाज निर्माण हुँदैन, तबसम्म दलित साहित्यको आवश्यकता र त्यसले उठाउने प्रश्न पनि जीवित रहनेछन्। निष्कर्षका रूपमा भन्नुपर्दा दलित साहित्य समग्र जात व्यवस्थाविरोधी साहित्य हो, यसलाई दलित वा गैरदलित कसले सिर्जना गर्यो भन्ने प्रश्न मुख्य होइन र हुनु हुँदैन।
(सामाजिक न्यायका अभियन्ता दर्नाल ‘दलित अनलाइन डटकम’ का सम्पादक हुन्।)
प्रतिक्रिया 4