+
+
Shares

इजरायलमा नेतान्याहुको चर्को आलोचना

निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताहरूले चर्को आलोचना गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि राजनीतिक विवाद चर्किएको छ ।
  • अरब नेतृत्वका जोइन्ट लिस्ट र रामले १२० सदस्यीय नेसेटमा कीर्तिमानी १९ सिट जित्दै सरकार गठनमा निर्णायक भूमिका पाएका छन् ।
  • नेतान्याहुको लिकुडले अरब दलमाथि भोट ‘चोरी’ र कतारबाट अवैध सहयोगको आरोप लगाएपछि शिन बेटले अनुसन्धान थालेको छ ।

१३ कात्तिक, काठमाडौं । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप विवादित बनेको छ ।

निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताहरूले चर्को आलोचना गरेका छन् ।

नेतान्याहुको पार्टी लिकुडले इजरायलका अरब नेतृत्वका दलहरूले निर्वाचनमा भोट ‘चोरी’ गरेको आरोप लगाएको छ । ती दलले कतार र टर्कीबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको हुन सक्ने आशंकामा इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेटले अनुसन्धान थालेको छ ।

तर, कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई ‘हास्यास्पद र खतरनाक’ भन्दै अस्वीकार गरेको छ । उसले कतारविरुद्ध इजरायली राजनीतिज्ञहरूले दुष्प्रचार अभियान चलाएको आरोपसमेत लगाएको छ ।

इजरायलका प्रमुख विपक्षी नेता गादी आइजेनकोटले पनि निर्वाचनपछि राजनीतिक वातावरण प्रभावित पार्ने प्रयास गरेको भन्दै नेतान्याहुको आलोचना गरेका छन् ।

नेतान्याहुका आलोचकहरूले विदेशी हस्तक्षेपको आरोपलाई अरब नेतृत्वका राजनीतिक दलहरूको वैधता कमजोर पार्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

यसले विपक्षी नेता आइजेनकोटलाई अरब दलसँग मिलेर सरकार बनाउने राजनीतिक बाटोसमेत बन्द गर्न सक्ने उनीहरूको भनाइ छ । अहिले आइजेनकोट गठबन्धनका लागि सत्तामा पुग्ने सम्भावित बाटो यही मात्रै देखिएको छ ।

सरकार गठनमा निर्णायक अरब दल

निर्वाचनको अन्तिम परिणामअनुसार नेतान्याहुको गठबन्धन र यहुदी विपक्षी गठबन्धन दुवैले संसदमा बहुमत प्राप्त गर्न सकेनन् ।

अरब समुदायको उल्लेख्य मतदानका कारण दुई अरब नेतृत्वका राजनीतिक समूह—जोइन्ट लिस्ट र रामले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै संसदमा कीर्तिमानी १९ सिट जितेका छन् । इजरायलको १२० सदस्यीय संसद् नेसेटमा उनीहरूले प्राप्त गरेको यो अहिलेसम्मकै ठूलो प्रतिनिधित्व हो ।

निर्वाचन परिणामअनुसार नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ भने उनका प्रतिस्पर्धी गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट जितेको छ ।

अरब दलले १९ सिट जितेपछि सरकार गठनमा उनीहरूको भूमिका निर्णायक हुन सक्ने देखिएको छ । कुनै पनि गठबन्धनले स्पष्ट बहुमत नल्याएकाले उनीहरू सम्भावित सत्ता समीकरणका निर्णायक शक्ति बनेका छन् ।

निर्वाचनमा अनियमितताको आरोप खारेज

बिहीबार लिकुडले अरब दललाई मतदान गर्न मतदातालाई घुस दिइएको आरोप लगाएको थियो । यसअघि केन्द्रीय निर्वाचन समितिका प्रमुखले विदेशी हस्तक्षेप भएको गम्भीर आशंकासहित अनुसन्धान गर्न शिन बेटलाई आग्रह गरेका थिए ।

तर, दुवै अरब दलले आरोप अस्वीकार गरेका छन् । अरब समुदायको बहुमत रहेको जोइन्ट लिस्ट गठबन्धनले आरोप निराधार भएको बताएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार केन्द्रीय निर्वाचन समितिसमक्ष कतारले अरब समुदायको मतदान सहभागिता बढाउने उद्देश्यले आर्थिक सहयोग गरेको दाबी प्रस्तुत गरिएको थियो । तर, कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।

त्यस्तै, केन्द्रीय निर्वाचन समितिका कार्यवाहक महानिर्देशक डिन लिभ्नेले पनि निर्वाचनमा अनियमितता भएको भन्ने आरोपमा कुनै आधार नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?