+
+
Shares

गुलशन कुमारको दिनदहाडै हत्या हुँदा बलिउडमा अन्डरवर्ल्डको आतंक कस्तो थियो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते ७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १२ अगस्ट १९९७ मा अन्धेरीको मन्दिरबाट फर्कँदै गर्दा टी–सिरिजका मालिक गुलशन कुमारमाथि १५ राउन्ड गोली प्रहार गरी घटनास्थलमै हत्या गरिएको थियो।
  • आक्रमणपछि अबु सलेमको निर्देशनमा फोन खुला राखेर घटनाका गतिविधि सुनाइएको दाबी गरिएको छ, तर मुम्बई प्रहरीले यसको पुष्टि गरेको छैन।
  • टाइगर श्रॉफको कारमाथि गोलीबारीपछि लरेन्स बिश्नोई गिरोहको नाम फेरि चर्चामा आएको छ, र प्रहरीले १० शंकास्पदलाई नियन्त्रणमा लिएको छ।

१२ अगस्ट १९९७ को बिहान टी-सिरिजका मालिक गुलशन कुमार सधैँझैँ दर्शन गर्न अन्धेरीस्थित एउटा मन्दिर पुगेका पुग्छन् ।  दर्शन सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार हुन्छ ।

गोली लागेपछि ज्यान जोगाउन उनी भागे र नजिकै रहेको सार्वजनिक शौचालयभित्र पस्छन् । तर, आक्रमणकारीले उनलाई पछ्याउन छाड्दैनन् । उनीहरूले गुलशन कुमारमाथि १५ राउन्ड गोली प्रहार गर्छन् ।

गुलशन कुमारको शरीरमा कुल १६ गोली लागेको हुन्छ । घटनास्थलमै उनको मृत्यु हुन्छ ।

……….

गोलीबारी भइरहेका बेला आक्रमणकारीको मोबाइल फोन चालु थियो । फोनको अर्को छेउमा रहेको व्यक्तिले घटनाका सबै गतिविधि सुनिरहेको थियो। आक्रमणकारीलाई अर्को व्यक्तिले सबै कुरा सुनोस् भन्ने उद्देश्यले फोन खुला राख्न निर्देशन दिइएको थियो । निर्देशन दिने व्यक्ति थिए, कुख्यात ग्याङस्टर अबु सलेम।

हुसैन जैदीको पुस्तक ‘डोंगरीदेखि दुबई’ मा यस घटनाबारे विस्तृत वर्णन गरिएको छ।

१५ देखि २० मिनेटसम्म चलेको यो थ्रिलर फिल्मजस्तै घटनाले मुम्बई र फिल्म उद्योगलाई स्तब्ध बनाएको थियो । फिरौती दिन अस्वीकार गरेको भन्दै गरिएको यो हत्याले फिल्म क्षेत्रमा त्रास फैलाएको थियो ।

यसअघि पनि सन् १९९७ को मार्चमा निर्माता मुकेश दुग्गलको हत्या भएको थियो । उक्त हत्याको सम्बन्ध पनि अन्डरवर्ल्डसँग जोडिएको थियो ।

त्यो यस्तो समय थियो, जतिबेला आपराधिक गिरोहले बलिउडमा व्यावसायिक चासो देखाउन थालेका थिए । फिल्म उद्योगलाई आतंकित पार्न धम्की दिने र आक्रमण गर्ने क्रम पनि यही समयदेखि बढ्न थाल्यो ।

फिल्म उद्योगमा व्याप्त त्रासको यो समय अभिनेता टाइगर श्रॉफको कारमाथि भएको गोलीबारीपछि फेरि चर्चामा आएको छ ।

आइतबार (१८ अक्टोबर) जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रॉफको कारमाथि गोली प्रहार भएको थियो । घटनामा प्रहरीले अहिलेसम्म १० जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको वा पक्राउ गरेको छ ।

हतियारको कथित तस्करी विभिन्न राज्यमा कसरी भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। साथै, आक्रमणकारीलाई गरिएको भनिएको आर्थिक कारोबारबारे समेत प्रहरीले छानबिन गरिरहेको छ।

यस घटनाले भारतका कुख्यात ग्याङस्टरमध्ये एक लरेन्स बिश्नोईको नाम फेरि चर्चामा ल्याएको छ । आक्रमणलगत्तै सामाजिक सञ्जालमा एउटा पोस्टको स्क्रिनसट भाइरल भएको थियो। उक्त पोस्ट बिश्नोई गिरोहका कथित सहयोगीले गरेको र आक्रमणको जिम्मेवारी लिएको दाबी गरिएको थियो ।

एउटा अडियो रेकर्डिङ पनि सार्वजनिक भएको छ। त्यसमा आफूलाई अनिल पण्डित बताउने व्यक्तिले पुनः आक्रमणको जिम्मेवारी लिएका छन्। उनले अभिनेता सलमान खानसँगको सम्बन्धका कारण टाइगर श्रॉफलाई निशाना बनाइएको दाबी गरेका छन् ।

यद्यपि, मुम्बई प्रहरीले यी दाबीको पुष्टि गरेको छैन । गोलीबारीको प्रयासमा बिश्नोई गिरोहको संलग्नता थियो वा थिएन भन्ने अझै स्पष्ट भइसकेको छैन । आक्रमणको आदेश कसले दिएको थियो र त्यसको उद्देश्य के थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

टाइगर श्रॉफलाई निशाना बनाएर भएको यो घटना बलिउडका चर्चित व्यक्तिहरूमाथि भएका धम्की र आक्रमणको शृङ्खलापछि भएको हो । सन् २०२४ मा सलमान खानको घरबाहिर गोलीबारी भएको थियो भने यसै वर्षको सुरुवातमा फिल्म निर्देशक रोहित शेट्टीको घरबाहिर पनि गोली प्रहार भएको थियो ।

यी घटनाले फिल्म उद्योगमा संगठित अपराधको प्रभावबारे चिन्ता बढाएको छ। साथै, मुम्बईको आपराधिक इतिहासको एउटा अँध्यारो समयको सम्झनासमेत ताजा बनाएको छ ।

बलिउड र आपराधिक गिरोहबीचको सम्बन्ध कस्तो थियो ?

फिल्म उद्योग र अन्डरवर्ल्डबीचको निकट सम्बन्धको चर्चा हाजी मस्तानबाट सुरु भएको मानिन्छ ।

हाजी मस्तानको मुम्बई फिल्म उद्योगमा निकै चासो थियो । उनले फिल्म निर्माणसमेत गरेका थिए । संघर्षरत एक अभिनेत्रीसँग उनले विवाह पनि गरेका थिए ।

पत्रकार तथा लेखक हुसैन जैदीका अनुसार मस्तान युवावस्थामा अभिनेत्री मधुबालाका प्रशंसक थिए र उनीसँग विवाह गर्न चाहन्थे। तर, मधुबालाको असामयिक निधन भयो । उनी जीवितै रहेको भए पनि मस्तानसँग विवाह हुने सम्भावना थिएन ।

त्यतिबेला मुम्बईमा मधुबालाजस्तै देखिने वीना शर्मा अर्थात् सोना नामकी अभिनेत्री काम गर्थिन् । मस्तानले उनलाई विवाहको प्रस्ताव राखे र उनले तत्काल स्वीकार गरिन् । मस्तानले सोनाका लागि जुहूमा एउटा घर किने र उनीसँगै बस्न थाले ।

बिस्तारै मुम्बईको भीआईपी वृत्तमा मस्तानको पहुँच बढ्दै गयो । मानिसहरूले उनको तस्करीको विगत बिर्सन थाले ।

हाजी मस्तानकी पहिलो पत्नीबाट तीन छोरी थिए । पछि उनले सुन्दर शेखर नामका छोरालाई धर्मपुत्रका रूपमा स्वीकार गरेका थिए ।

सुन्दर शेखरले एकपटक भनेका थिए, ‘फिल्म उद्योगका धेरै मानिस बाबासँग नजिक थिए। राज कपूर, दिलीप कुमार र सञ्जीव कुमार त्यसमध्ये प्रमुख थिए । फिल्म ‘दीवार’ को छायांकनका बेला लेखक सलीम र अमिताभ बच्चन पनि पात्रलाई अझ गहिराइमा बुझ्न बाबालाई भेट्न आइरहन्थे । बाबा सधैँ कपाल पछाडि फर्काएर कोर्थे । कसैले उनीसँग अंग्रेजीमा कुरा गर्न थाल्यो भने उनी बारम्बार ‘या–या’ भन्थे ।’

फिल्ममा अन्डरवर्ल्डको व्यावसायिक चासो

हाजी मस्तान फिल्मको संसारबाट आकर्षित थिए । तर, सन् १९९० को दशकपछि अन्डरवर्ल्डले फिल्म क्षेत्रमा व्यावसायिक चासो देखाउन थाल्यो । यस क्षेत्रमा ठूलो पैसा रहेको र नाफा कमाउन सकिने देखेपछि धेरै ग्याङस्टर आकर्षित भए ।

सन् १९९९ मा एक स्पटब्वाई फिल्म निर्माता बने । उनले निर्माण गरेको फिल्ममा तत्कालीन सुपरस्टार सलमान खानले मुख्य भूमिका निर्वाह गरेका थिए। फिल्मको नाम थियो, ‘चोरी चोरी चुपके चुपके’।

ती स्पटब्वाई नाजिम रिज्वी थिए । उनी भारतबाट फरार ग्याङस्टर तथा दाउद इब्राहिमका निकट सहयोगी छोटा शकीलका खास मानिस थिए ।

महाराष्ट्रका पूर्व प्रहरी महानिर्देशक तथा मुम्बईका पूर्व प्रहरी आयुक्त डी. शिवानन्दनले यस घटनाको अनुसन्धान गरेका थिए । उनले आफ्नो पुस्तक ‘द ब्रह्मास्त्र अनलिस्ड’ मा यसबारे विस्तृत रूपमा लेखेका छन् ।

सन् १९९९ मा शिवानन्दनले आफ्ना एक सूचनादाताबाट महत्त्वपूर्ण जानकारी प्राप्त गरेका थिए । त्यसअनुसार शकील आतंकवादी गतिविधिबाट कमाएको पैसाले हिन्दी फिल्म बनाउन चाहन्थे । उक्त रकम हवाला कारोबारमार्फत एक करोडपति हीरा व्यापारी तथा व्यवसायीलाई हस्तान्तरण गर्ने योजना थियो । ती व्यवसायीले पैसा फिल्म निर्मातासम्म पुर्‍याउने भनिएको थियो । ती व्यवसायी थिए, भरत शाह ।

सूचना पाएपछि शिवानन्दनले तत्कालीन गृह मन्त्रालयका अतिरिक्त मुख्य सचिवसँग भेट गरे । उनले रिज्वीको फोन ट्याप गर्न अनुमति मागे । अनुमति पनि प्राप्त भयो ।

शकीलको रिज्वीसँग दैनिक सम्पर्क हुने गरेको थियो । फोन संवादबाट अन्य चकित पार्ने खुलासा पनि भए । फिरौतीको माग अस्वीकार गरेका कारण निर्माता तथा निर्देशक राकेश रोशनमाथि आक्रमण गर्ने योजना पनि उनीहरूको कुराकानीबाट खुलेको थियो ।

यसैबीच शकील र रिज्वी फिल्मको प्रचार तथा प्रदर्शन योजनाबारे पनि छलफल गरिरहेका थिए ।

यी घटनासम्बन्धी विषयमा सन् २००० मा मुम्बई क्राइम ब्रान्चले एफआईआर दर्ता गर्‍यो । नाजिम रिज्वी र अब्दुल रहीम खान पक्राउ परे । भरत शाहलाई पनि सन् २००१ को जनवरीमा पक्राउ गरियो ।

यस मुद्दामा महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन (मकोका), भारतीय दण्ड संहिता र भारतीय हतियार ऐनअन्तर्गत दुईभन्दा बढी अभियोगपत्र दर्ता गरिएका थिए ।

मुद्दाको सुनुवाइका क्रममा ७६ जना साक्षीसँग बयान लिइएको थियो । उनीहरूमध्ये १४ जना बलिउड कलाकार थिए । शिवानन्दनले आफ्नो पुस्तकमा प्रीति जिन्टाबाहेक अन्य सबै साक्षीले आपराधिक गिरोहविरुद्ध बयान दिएको उल्लेख गरेका छन् ।

दुई वर्षसम्म चलेको मुद्दामा विशेष अदालतका न्यायाधीश एपी बंगलले भरत शाहलाई दोषी ठहर गरे । नाजिम रिज्वी र अब्दुल रहीमलाई ६ वर्षको कैद सजाय सुनाइयो ।

गुलशन कुमारको हत्या र बलिउडका अन्य व्यक्तिमाथि आक्रमण

यस कथाको सुरुवातमा उल्लेख गरिएको गुलशन कुमारको हत्या फिल्म उद्योगमा आतंक फैलाउने एउटा चरम घटना थियो ।

यस घटनामा जोडिएको नाम थियो, अबु सलेम ।

उत्तर प्रदेशको आजमगढमा जन्मिएका सलेमले सन् १९९३ को बम विस्फोट हुनुअघि दाउद इब्राहिमका भाइ अनीस इब्राहिमका लागि चालक तथा सामान ओसारपसार गर्ने काम गर्थे ।

अनीसले कहिलेकाहीँ फोनमार्फत अबु सलेमलाई सल्लाह दिने गर्थे । दाउदसँग उनको प्रत्यक्ष सम्पर्क थिएन । तर, अबु सलेम अब पहिलेभन्दा समझदार भएको अनीसलाई लाग्न थालेको थियो ।

हुसैन जैदीका अनुसार सन् १९९३ मा अभिनेता सञ्जय दत्तले अनीसलाई फोन गरेर आफूलाई धम्की आइरहेको र सुरक्षाका लागि केही बन्दुक आवश्यक परेको बताएका थिए ।

त्यसपछि अनीसले अबु सलेमलाई बोलाएर भने, ‘जाऊ, मेसिन गन सञ्जुलाई दिएर आऊ ।’

अबु सलेमको जीवनमा कुनै फिल्म अभिनेतासँग भेट भएको यो पहिलो अवसर थियो ।

मुम्बई बम विस्फोटपछि दर्ता गरिएको बयानमा अबु सलेमले सञ्जय दत्तलाई पहिलोपटक प्रत्यक्ष देख्दा आफू स्तब्ध भएको बताएका थिए । उनले सञ्जय दत्तलाई कम्तीमा तीनपटक अँगालो हालेका थिए ।

तर, पछि सञ्जय दत्तले आफूलाई त्यति धेरै बन्दुक आवश्यक नभएको र एउटा भए पुग्ने बताए । त्यसपछि सलेम बन्दुक लिएर फर्कनुपरेको थियो ।

मिडियाले उनलाई ‘डन’ भन्न थालेको थियो। तर, त्यतिबेलासम्म उनीविरुद्ध कुनै ठूलो अपराध दर्ता भएको थिएन। उनको सबैभन्दा ठूलो अपराध हतियार आपूर्ति गर्नु थियो ।

तर, दुबई गएपछि अनीसको मातहतमा काम गर्दै उनले फोनमार्फत मानिसहरूलाई धम्क्याउन थाले। यही कारण मानिसहरूले उनलाई डनका रूपमा बुझ्न थाले ।

त्यसपछि अबु सलेमले फिल्म निर्माता गुलशन कुमारको हत्याको योजना बनाए र त्यसलाई कार्यान्वयन गरे। यो घटनापछि उनी कुख्यात बने ।

वरिष्ठ पत्रकार चन्द्रमोहन पुप्पालाले गुलशन कुमारको हत्याको समाचार लेखेका थिए ।

बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले यसबारे भनेका थिए, ‘मुम्बई प्रहरीलाई यसअघि नै यस्तो घटना हुन सक्ने सूचना प्राप्त भएको थियो। त्यतिबेला गुण्डाहरू अखबारका कार्यालयमा फोन गर्थे। पत्रकारमार्फत सर्वसाधारणसम्म आफ्नो पक्ष वा भनाइ पुर्‍याउने प्रयास गर्थे ।’

पुप्पालाका अनुसार अपराधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूको प्रहरी अधिकारी र आपराधिक गिरोहका सूचनादातासँग सम्पर्क हुन्थ्यो। उनीहरू विभिन्न स्रोतबाट प्राप्त सूचनाका आधारमा समाचार लेख्थे।

गुलशन कुमारको हत्याबारे चर्चा गर्दै पुप्पालाले उनलाई धम्की आइरहेको सूचना सार्वजनिक भएको बताएका थिए।

‘त्यतिबेला केही मानिसले ती धम्कीलाई गम्भीर रूपमा लिए र आफ्नो सुरक्षाका लागि व्यवस्था गरे। गुण्डाहरू कसैलाई आक्रमण गरेर आफ्नो आतंक र दबदबा कायम गर्न चाहन्थे ।.

राकेश रोशन र राजीव रायमाथि आक्रमण

निर्माता तथा निर्देशक राकेश रोशनमाथि २१ जनवरी २००० मा आक्रमण भएको थियो । उनी अभिनेता ऋतिक रोशनका पिता हुन् । एक ग्याङस्टरको फिरौती माग अस्वीकार गरेपछि उनीमाथि आक्रमण गरिएको थियो ।

‘गुप्त’ जस्ता सफल फिल्मका निर्देशक राजीव रायमाथि पनि सन् १९९७ मा आक्रमण भएको थियो । मध्य मुम्बईमा अबु सलेम गिरोहसँग कथित रूपमा जोडिएका पाँच जना आक्रमणकारीले उनीमाथि हमला गरेका थिए ।

राजीव राय कार्यालयबाट बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार गरिएको थियो । यसअघि पनि उनलाई धम्की आएको थियो ।

त्यसैले उनलाई सुरक्षा र अंगरक्षक उपलब्ध गराइएको थियो । अंगरक्षकहरूले आक्रमणकारीलाई रोक्न सफल भएका थिए। मुठभेडका क्रममा एक आक्रमणकारी घाइते भएको पनि बताइन्छ ।

ग्याङस्टरहरू फिल्म उद्योगमा किन चासो राख्थे ?

फिल्म उद्योगमा अन्डरवर्ल्डबाट भएको भनिएको आर्थिक कारोबार र लगानीबारे पत्रकार चन्द्रमोहन पुप्पालाले फिल्म व्यवसायबाट पैसा कमाउन सकिने सम्भावना देखेपछि ग्याङस्टरहरूले नगद लगानी गरेर नाफा कमाउने सोच बनाएको बताएका छन् ।

फिल्मका कलाकारसँग सम्बन्ध स्थापित गर्नु पनि उनीहरूका लागि आकर्षणको विषय थियो ।

कुनै चर्चित सेलिब्रिटीसँग निकट सम्बन्ध रहेको देखाउन सके आफ्नो पहिचान बढ्ने र आपराधिक संसारमा प्रभाव तथा दबदबा बलियो हुने उनीहरूको विश्वास थियो ।

पुप्पालाका अनुसार केही गुण्डाहरू फिल्म कलाकारलाई पार्टी तथा कार्यक्रममा बोलाउँथे । उनीहरूले फिल्ममा लगानी गर्ने प्रयास पनि गर्थे ।

अबु सलेमको उदाहरण दिँदै पुप्पालाले त्यसबेला फिल्म उद्योगमा लगानी गर्ने, कथित संरक्षण दिने र विभिन्न मागमार्फत आफ्नो प्रभाव स्थापित गर्ने प्रयास भएको बताएका छन् ।

उनका अनुसार केही गुण्डाहरू फिल्म उद्योगमा लगानी र सुरक्षासम्बन्धी विषय आफूहरूले मिलाउन सक्ने दाबी गर्थे । यस्ता दाबी र आरोपमार्फत आफ्नो दबदबा देखाउने उनीहरूको प्रयास हुन्थ्यो ।

फेरि अन्डरवर्ल्डको आतंकमा बलिउड ?

टाइगर श्रॉफमाथि भएको आक्रमणपछि बलिउडमा फेरि त्रासको वातावरण बन्न थालेको हो कि भन्ने प्रश्न उठिरहेको छ।

बीबीसी हिन्दीले चन्द्रमोहन पुप्पालालाई पनि यही प्रश्न सोधेको थियो। उनले भने, “यसलाई पुनरागमन भन्नु उचित हुँदैन। यस्ता घटना हामी निश्चित अन्तरालमा देख्दै आएका छौँ।”

सन् २०२६ को फेब्रुअरीमा निर्देशक रोहित शेट्टीको घरनजिकै जुहूमा गोलीबारी भएको थियो।

प्रहरीका अनुसार उक्त आक्रमण शुभम लोणकर गिरोहले गरेको थियो। फिरौती असुल्ने र आतंक फैलाउने उद्देश्यले आक्रमण गरिएको प्रहरीको भनाइ थियो।

सन् २०२५ को सेप्टेम्बरमा उत्तर प्रदेशको बरेलीमा अभिनेत्री दिशा पटानीका पिता जगदीश पटानीको घरबाहिर अज्ञात व्यक्तिहरूले गोलीबारी गरेका थिए।

उक्त आक्रमणको जिम्मेवारी गोल्डी बरार र रोहित गोदाराको गिरोहले सामाजिक सञ्जालमार्फत लिएको थियो।

डी. शिवानन्दन भने आतंकका ती पुराना दिन फर्किएका छैनन् भन्ने मान्यता राख्छन्। उनका अनुसार उनले दाउद इब्राहिम, छोटा शकील, अरुण गवलीलगायत अपराधीहरूको खोजी गरेका थिए। ती अपराधीका नाइके विदेशबाटै गतिविधि सञ्चालन गर्थे। तर, उनीहरूका सहयोगी मुम्बईका आपराधिक गिरोहमा गहिरोसँग जोडिएका थिए।

उनी भन्छन्, ‘यी हामीले पछिल्ला ६० वर्षमा मुम्बईमा देखेका माफियाजस्ता होइनन्। यिनीहरू फरक छन् ।’

लरेन्स बिश्नोई र नयाँ आपराधिक गिरोह

लरेन्स बिश्नोईको नाम नयाँ आपराधिक संसारसँग जोडिएको छ। उत्तर भारतको एउटा गाउँसँग सम्बन्ध राख्ने बिश्नोई धेरै वर्षदेखि जेलमा छन्। उनको छवि लोककथाका खलनायकजस्तै बनेको छ।

उनी जेलबाटै विभिन्न देशमा रहेका आक्रमणकारीलाई निर्देशन दिने गरेको भनिन्छ। धम्की र आक्रमणको जिम्मेवारी लिने दाबीहरूमा उनको नाम बारम्बार आउने गरेको छ। यस्ता दाबी सामाजिक सञ्जालमा फैलिने गरेका छन् ।

लरेन्स बिश्नोईले कालो हरिणको शिकार प्रकरणलाई लिएर सलमान खानलाई सार्वजनिक रूपमै धम्की दिएका थिए। सन् १९९८ को उक्त घटनामा खानमाथि हरिणको शिकार गरेको आरोप लागेको थियो। हरिण प्रजातिको चिङ्कारालाई बिश्नोई समुदायले पवित्र मान्ने गर्छ।

अप्रिल २०२४ मा सलमान खानको मुम्बईस्थित घरबाहिर पाँच राउन्ड गोली प्रहार गरिएको थियो। त्यसको छ महिनापछि सलमान खान र अन्य फिल्म कलाकारसँग निकट सम्बन्ध भएका मानिने राजनीतिज्ञ बाबा सिद्दिकीको हत्या भयो।

मुम्बई प्रहरीले यी दुवै घटनालाई बिश्नोई गिरोहसँग जोडेको छ। यद्यपि, सिद्दिकीको हत्यामा लरेन्स बिश्नोईको व्यक्तिगत संलग्नता अहिलेसम्म प्रमाणित भएको छैन।

बिश्नोई गिरोहसँग सम्बन्धित केही आरोप प्रहरी अनुसन्धानमा आधारित छन् भने केहीको पुष्टि हुन बाँकी छ। तर, उक्त गिरोहले वास्तवमै गरेका अपराध र त्यसको नाममा गरिएका दाबीबीचको भिन्नता सर्वसाधारणले छुट्याउन नसक्ने अवस्था छ।

यही कारण नयाँ आपराधिक गिरोहको त्रास दिनप्रतिदिन बढ्दै गएको छ।

बिबिसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?