News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले फ्योदर दस्तोभ्स्कीको ‘क्राइम एन्ड पनिशमेन्ट’ पढेर मानिसका निर्णय, नैतिकता र परिस्थितिलाई एउटै दृष्टिकोणबाट हेर्न नसकिने निष्कर्ष निकालेका छन्।
कहिलेकाहीँ कुनै किताब पढ्न सुरु गर्दा थाहा हुँदैन, त्यसले हामीलाई कहाँ पुर्याउँछ । हामी पढ्न थाल्छौँ एउटा कथा बुझ्न, तर पढिसक्दा आफ्नै सोच, विश्वास र वरिपरिको समाजलाई नयाँ दृष्टिकोणले हेर्न थालिसकेका हुन्छौं । फ्योदर दस्तोभ्सिकीको ‘क्राइम एन्ड पनिशमेन्ट’ पनि मेरा लागि त्यस्तै अनुभव बन्यो ।
पहिले म धेरै गैरआख्यानमै झुम्थेँ । जीवन बुझ्ने, जीवनलाई कसरी व्यवस्थित बनाउने, आफ्नो सोचलाई कसरी सुधार्ने र मानिसहरूको मनोविज्ञान बुझ्नतिर रुचि राख्थे । त्यही क्रममा एकदिन सामाजिक सञ्जाल हेर्दै गर्दा क्राइम एन्ड पनिशमेन्ट देखेँ । अपराध, मनोविज्ञान र दर्शन मिसिएको उपन्यास भन्ने थाहा पाएपछि पढ्ने इच्छा जाग्यो ।
किताब किनेँ, तर क्लासिक फिक्सन पढ्नतिर खासै बानी नपरेकोले होला त्यो समयमा धेरै पेज पल्टाउन भने सकिनँ । जसोतसो सुरु गरेको किताब करिब ३० पृष्ठपछि छोडेँ ।
झन्डै दुई वर्षपछि मेरा केही समकालीन साथीहरूसँग भेटेका बेला बारम्बार यही किताबबारे कुरा गरिरहे र मलाई पढ्न हौसला दिए । अन्ततः यही दसैंको अवसरमा फेरि सोही किताब उठाएँ । बीचमा लामो समयको ग्याप भएकाले पढ्न गाह्रो होला भन्ने लागेको थियो । तर यसपटक करिब एक हप्तामै किताब सकियो ।
किताब पूरा गर्नु आफैँमा एउटा सन्तुष्टि थियो । तर यसको वास्तविक प्रभाव कथा सकिएपछि महसुस हुन थाल्यो । पात्रहरूले गरेका निर्णय, तिनका पछाडि रहेका कारण र परिणामबारे सोच्दा किताबको कथा मेरो आफ्नै सोच र वरिपरिको समाजसँग जोडिन थाल्यो ।
उपन्यासको मुख्य पात्र रस्कोलनिकोभ केवल अपराध गर्ने व्यक्ति मात्र होइन । ऊ आफ्नो कामलाई एउटा सिद्धान्तका आधारमा उचित ठहर्याउन खोज्ने मान्छे हो । उसको विचारमा मानिसलाई सामान्य र असामान्य गरी दुई वर्गमा हेर्न सकिन्छ । सामान्य मान्छेहरू स्थापित नियमभित्र रहन्छन्, तर असाधारण मान्छेहरू इतिहास बदल्न ती नियम तोड्न सक्छन् भन्ने उसको बुझाइ छ ।
उसले इतिहास बदल्ने व्यक्तिहरूलाई हेरेर एउटा प्रश्न बनाएको हुन्छ । यदि कुनै महान् उद्देश्य प्राप्तिका लागि कसैले नियम उल्लङ्घन गर्नुपर्छ भने के त्यस्तो व्यक्तिलाई रोक्न मिल्छ ?
इतिहासमा नयाँ बाटो देखाउने मान्छेहरूले पुराना मान्यता र व्यवस्थालाई चुनौती दिएका छन् । समाजले सधैं स्वीकार गरेका सबै कुरा सही हुँदैनन् । तर अन्यायपूर्ण व्यवस्थाविरुद्ध उभिनु र आफूलाई अरूभन्दा माथि राखेर अरूलाई हानि पुर्याउने अधिकार दिनु एउटै कुरा होइन ।
रस्कोलनिकोभको समस्या यही फरक नछुट्याउनुमा छ । उसले आफूलाई असाधारण मान्छे मान्ने विचारलाई केवल दार्शनिक प्रश्नका रूपमा राख्दैन, आफूले के गर्न सक्छु भन्ने प्रमाणित गर्ने माध्यम पनि बनाउँछ । उसको सिद्धान्त र इगो एक–अर्कासँग मिसिन थाल्छन् । यहाँबाट एउटा असहज प्रश्न उठ्छ– हामीले कुनै विचारलाई साँच्चै विश्वास गरेका हौं कि आफूले गर्न चाहेको कामलाई अनुमति दिन त्यो विचार रोजेका हौं ?
कहिलेकाहीँ मान्छेले निर्णय पहिल्यै लिइसकेको हुन्छ, र त्यसपछि मात्र त्यसलाई सही साबित गर्ने तर्क खोज्न थाल्छ । आफ्नो निर्णय गलत हुनसक्ने सम्भावनालाई चेक गर्नुको सट्टा आफू सही भएको प्रमाण जुटाउन व्यस्त हुन्छ । विचार सत्यको खोजी गर्ने माध्यम हुनुपर्ने हो न कि आफ्नो इच्छालाई उचित ठहर्याउने हतियार । रस्कोलनिकोभको कथा यहीँबाट जटिल बन्छ । उसको अपराध एउटा घटनामा सीमित रहँदैन, त्यसले उसले आफूबारे बनाएको धारणामाथि नै प्रश्न उठाउन थाल्छ ।
तर क्राइम एन्ड पनिशमेन्ट किताबलाई रस्कोलनिकोभको सिद्धान्तमा मात्र सीमित गरेर हेर्दा यसको अर्को महत्त्वपूर्ण पक्ष छुट्छ । उपन्यासमा गरिबी, पारिवारिक जिम्मेवारी, सामाजिक असमानता र बाँच्नका लागि गर्नुपर्ने सम्झौताहरू पनि छन् ।
मार्मिलादोभ परिवारको अवस्था र सोन्याको जीवनले मानिसका निर्णय सधैं स्वतन्त्र र सहज परिस्थितिमा हुँदैनन् भन्ने दर्शाउँछ । आर्थिक अभावले मानिसलाई कस्ता कठिन विकल्पतिर धकेल्न सक्छ भन्ने कुरा सोन्याको परिस्थितिमा देखिन्छ । उसका निर्णयलाई बुझ्न उसको जीवनको बाध्यता पनि बुझ्नुपर्छ ।
सोन्याको प्रसङ्गले मलाई मानिसको नैतिक मूल्याङ्कनबारे सोच्न बाध्य बनायो । बाहिरबाट हेर्दा कसैले गरेको कामलाई सजिलै सही वा गलत भन्न सकिएला, तर त्यसको पछाडिको परिस्थिति नबुझी सो व्यक्तिलाई पूर्णरूपमा बुझ्न सकिँदैन । सबै मानिसले समान अवसर, सुरक्षा र स्वतन्त्रताका साथ निर्णय लिँदैनन् ।
यसको अर्थ परिस्थितिका कारण भएका सबै काम सही हुन्छन् भन्ने होइन । बरू, कुनै व्यक्तिलाई बुझ्नु र उसको हरेक निर्णयलाई समर्थन गर्नु फरक कुरा हुन् । नैतिक प्रश्नहरूमा परिस्थितिले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ, तर त्यसले निर्णयको प्रभावलाई नजरअन्दाज गराउँदैन ।
दुन्याको प्रसङ्गले पनि यही संसारको अर्को पक्ष देखाउँछ । परिवारको भविष्य र आर्थिक सुरक्षाका लागि उसले आफ्नो व्यक्तिगत जीवनमा सम्झौता गर्न खोज्नुले प्रेम, जिम्मेवारी र व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्व उजागर गर्छ । परिवारका लागि त्याग गर्नु प्रशंसनीय हुन सक्छ, तर त्यो त्याग कसको चाहनाले भइरहेको छ र त्यसको मूल्य कसले चुकाइरहेको छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
मानिसको समस्या उसले सही र गलत छुट्याउन नसक्नु मात्र नभई कहिलेकाहीँ उसले सामना गरिरहेको परिस्थितिले पनि उसका विकल्पहरू सीमित बनाइरहेको हुन्छ । यी प्रसङ्गले उपन्यासको कथालाई फराकिलो बनाउँछन् ।
यससँगै रस्कोलनिकोभको सोचमा अर्को महत्त्वपूर्ण प्रश्न जोडिन्छ । एउटा गलत कामबाट भविष्यमा धेरै मानिसको भलो हुन सक्छ भने के त्यो काम उचित हुन्छ ? मानौं, कसैले एउटा अपराध गरेर प्राप्त गरेको नतिजा वा स्रोतबाट धेरै मानिसलाई सहयोग गर्न सकिन्छ भन्ने तर्क गर्छ । सम्भावित परिणाम राम्रो छ भन्दैमा गलत माध्यम अपनाउन मिल्छ ? त्यसको निर्णय गर्ने अधिकार को-कोसँग हुन्छ ? अनि भविष्यमा हुने फाइदाको अनुमान गलत साबित भयो भने त्यसको मूल्य कसले चुकाउँछ ?
रस्कोलनिकोभको सिद्धान्तलाई परिणामको हिसाबमा मात्र बुझ्न सकिँदैन । उसले भविष्यमा हुन सक्ने सम्भावित फाइदाको तर्कसँगै आफूलाई सामान्य नैतिक सीमाभन्दा बाहिर जाने अनुमति दिन खोजिरहेको हुन्छ । उसले अरू मानिसको जीवनलाई आफ्नो विचारको परीक्षणमा राख्छ । कुनै उद्देश्य महान् छ भन्दैमा त्यसलाई पूरा गर्न अपनाइने हरेक माध्यम उचित हुँदैन । राम्रो परिणामको सम्भावनाले वर्तमानमा भएको हानि स्वतः मेटाउँदैन ।
यो प्रश्न रस्कोलनिकोभमा मात्र सीमित छैन । कुनै व्यक्तिले समाजका लागि ठूलो योगदान दिएको छ भन्दैमा उसका सबै निर्णय सही हुन्छन् भन्न सकिदैन । कुनै संस्थाले धेरै मानिसलाई फाइदा पुर्याएको छ भन्दैमा त्यसले गरेका गलत कामलाई बेवास्ता गर्न मिल्दैन । उद्देश्य र माध्यम दुवैको मूल्याङ्कन गर्नुपर्छ । नत्र राम्रो उद्देश्यको दाबी गर्ने जोसुकैले आफूलाई जवाफदेहिताबाट बाहिर राख्न सक्छ । आफूले गर्ने कामको सही–गलत निर्धारण पनि आफैले गर्ने र त्यसको औचित्य पनि आफैले प्रमाणित गर्ने हो भने नैतिक सीमाहरूको अर्थ नै हराउँछ ।
उपन्यासको अर्को रोचक पक्ष पोर्फिरी पेत्रोभिच र रस्कोलनिकोभ बीचका संवाद हुन् । उनीहरूको भेटघाट अपराधको अनुसन्धानमा मात्र सीमित छैन, ती संवादमा विचार, मनोविज्ञान र मानिसको व्यवहारलाई बुझ्ने संघर्ष पनि छ । पोर्फिरीले रस्कोलनिकोभलाई केवल प्रमाणका आधारमा मात्र चुनौती दिँदैनन् । उनका प्रश्न र संवादले रस्कोलनिकोभको आत्मविश्वास, उसको सिद्धान्त र उसले आफूबारे बनाएको धारणामाथि दबाब सिर्जना गर्छन् । अपराध लुकाउन खोज्ने प्रयाससँगै आफ्नै विचारभित्रको अस्थिरता पनि सतहमा आउन थाल्छ ।
यसले अपराधको एउटा मनोवैज्ञानिक पक्ष देखाउँछ । मानिसले अरूलाई विश्वास दिलाउन कथा बनाउन सक्छ, आफ्नो कामको औचित्य प्रस्तुत गर्न सक्छ, तर आफूले बनाएको तर्कमाथि नै प्रश्न उठ्न थालेपछि परिस्थिति फरक हुन्छ । यहाँ पनिशमेन्टको अर्थ कानुनी दण्डमा मात्र सीमित रहँदैन । डर, बेचैनी र आफ्नै निर्णयसँगको संघर्षले पनि मानिसको जीवनलाई प्रभावित गर्न सक्छ ।
तर मानसिक पीडा भोग्नु नै पर्याप्त सजाय हो भन्ने निष्कर्षमा पुग्नु उचित हुँदैन । पछुतोले गल्तीको असर मेटाउँदैन, न त त्यसले प्रभावित व्यक्तिलाई न्याय दिन्छ ।
स्विद्रिगाइलोभको प्रसङ्गले पनि उपन्यासमा नैतिक सीमाको अर्को रूप देखाउँछ । दुन्या प्रति उसको व्यवहार र उसले आफ्नो चाहनालाई अगाडि बढाउने तरिकाले शक्ति र व्यक्तिगत इच्छाको प्रश्न उठाउँछ । अरू मानिसलाई आफ्ना चाहना पूरा गर्ने माध्यमका रूपमा हेर्दा उनीहरूको स्वतन्त्रता र सहमतिलाई बेवास्ता गर्ने खतरा हुन्छ ।
यी पात्रहरू रस्कोलनिकोभजस्तै सोच्दैनन्, न त उनीहरूका निर्णयका कारण एउटै छन् । तर उनीहरूका कथाले उपन्यासमा मानिसको नैतिकता एउटै सिद्धान्त वा एउटै प्रकारको गल्तीबाट मात्र परिभाषित हुँदैन भन्ने देखाउँछन् ।
यो उपन्यास पढ्दै गर्दा नेपालमा देखिने केही सामाजिक र राजनीतिक प्रवृत्तिबारे पनि सोच्न मन लाग्यो । हाम्रो समाजमा कहिलेकाहीँ कुनै व्यक्तिको पद, प्रभाव, योगदान वा राम्रो उद्देश्यका आधारमा उसको गलत कामलाई व्याख्या गरिन्छ । सामान्य मानिसले गरेको त्यही कामलाई भने फरक ढङ्गले हेरिन सक्छ ।
राजनीतिमा पनि कुनै व्यक्तिले गरेका राम्रा कामका आधारमा उसका विवादास्पद निर्णयलाई बेवास्ता गर्ने वा आफ्नो पक्षको व्यक्तिले गल्ती गर्दा त्यसको बचाउ गर्ने प्रवृत्ति देखिन्छ । अर्कोतर्फ, आफूलाई मन नपर्ने व्यक्तिले गरेको राम्रो कामसमेत स्वीकार गर्न कठिन मान्ने अवस्था पनि हुन्छ । यस्तो बेला हामी कामको मूल्याङ्कन गरिरहेका हुन्छौं कि व्यक्तिप्रतिको आफ्नो निष्ठाको बचाउ गरिरहेका हुन्छौं भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ । कुनै व्यक्तिको योगदान वास्तविक हुन सक्छ, तर त्यसले उसलाई सबै नियमभन्दा माथि राख्दैन।
समाजमा जवाफदेहिता बलियो हुनका लागि नियम सामान्य मानिसका लागि मात्र होइन, प्रभावशाली मानिसका लागि पनि समान रूपमा लागू हुनुपर्छ । राम्रो कामको प्रशंसा गर्न सकिन्छ, तर गलत काममाथि प्रश्न उठाउने अधिकार पनि सुरक्षित रहनुपर्छ ।
उपन्यासको अन्त्यतिर पुग्दा अपराध, स्वीकारोक्ति र सजायको अर्थ फेरि फरक रूपमा देखिन्छ । रस्कोलनिकोभको कथा कानुनी दण्डमा मात्र टुङ्गिँदैन । साइबेरियामा बित्ने समय, सोन्याको साथ र एपिलगले परिवर्तनको सम्भावनातर्फ संकेत गर्छन्, तर त्यो परिवर्तन तुरुन्तै पूरा हुने कुरा होइन ।
गल्ती स्वीकार गर्नु र आफूभित्र वास्तविक परिवर्तन आउनु एकै क्षणका कुरा नहुन सक्छन् । मानिसले आफूले गरेको कामको जिम्मेवारी स्वीकार गर्न सक्छ, तर त्यसको नैतिक अर्थ बुझ्न र आफ्नै सोच बदल्न समय लाग्न सक्छ । सोन्याको साथले यहाँ मानवीय सम्बन्धको भूमिका देखाउँछ । मानिसलाई उसको गल्तीले मात्र परिभाषित नगर्ने, कठिन अवस्थामा पनि उसको मानवतालाई नत्याग्ने सम्बन्धको महत्त्व उपन्यासमा देखिन्छ । तर करुणा भनेको जिम्मेवारीबाट छुट दिनु होइन। कसैलाई परिवर्तन गर्न सक्ने सम्भावना दिनु र उसले गरेको कामको असरलाई नकार्नु फरक कुरा हुन् ।
यसले सजायको उद्देश्यबारे पनि सोच्न लगाउँछ । के सजायको अर्थ केवल पीडा दिनु हो कि त्यसले व्यक्तिलाई आफ्नो कामको सामना गर्ने र परिवर्तनको सम्भावना बुझ्ने अवसर पनि दिनुपर्छ ? उपन्यासले यसको सरल उत्तर दिँदैन, प्रश्न उल्टो पाठकसामु छोड्छ।
क्राइम एन्ड पनिशमेन्ट पढेर मैले जीवनका सबै नैतिक प्रश्नको उत्तर पाएको भने होइन । बरु, मानिसका निर्णयलाई एउटै दृष्टिकोणबाट हेर्न नसकिने कुरा अझ स्पष्ट भयो । रस्कोलनिकोभले आफ्ना विचारलाई सही ठहर्याउने प्रयास गर्छ, सोन्या र मार्मेलादोभ परिवारको कथा परिस्थितिको बाध्यता देखाउँछ, दुन्याको प्रसङ्गले व्यक्तिगत स्वतन्त्रता र पारिवारिक जिम्मेवारीबीचको द्वन्द्व दर्साउँछ, पोर्रिफिरीका संवादले मानिसको सोचमाथि प्रश्न उठाउँछन् । अनि स्विद्रिगाइलोभको कथा इच्छाशक्ति र नैतिक सीमाको अर्को पक्ष देखाउँछ ।
यी सबै प्रसङ्गले एउटै निष्कर्ष दोहोर्याउँदैनन् । बरु, मानिसलाई बुझ्न उसको विचार, परिस्थिति, व्यवहार र त्यसको परिणाम सबै हेर्नुपर्छ भन्ने देखाउँछन्।
सुरुमा म एउटा कथा पढ्न चाहन्थेँ । अन्त्यमा आइपुग्दा म अपराधको रहस्यभन्दा पनि मानिसको मनोविज्ञान, नैतिकता र आफूले गरेका निर्णयलाई हेर्ने तरिकाबारे सोचिरहेको थिएँ । यही कारणले गर्दा यो किताब मेरा लागि उपन्यास मात्र रहेन ।
२ वर्षअघि ३० पेजमै छोडेको किताब अन्ततः सकियो । तर त्यसले उठाएका प्रश्नहरू भने बाँकी नै छन् । आफूले विश्वास गरेको विचार सही छ कि छैन भनेर जाँच्नु, अरूको परिस्थिति बुझ्नु र आफ्नै निर्णयको जिम्मेवारी लिनु, यी कुरा किताब पढेर एकैपटक सिकिने पाठ होइनन् ।
प्रतिक्रिया 4