News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको सातुंगलमा सशस्त्र प्रहरी बल अस्पतालनजिकै आराम गरिरहेको सडक कुकुरलाई एक व्यक्तिले रडले प्रहार गरी मरणासन्न बनाएको सीसीटीभी फुटेज सार्वजनिक भएको छ।
- भिडियोमा हेल्मेट लगाएका र ब्याग बोकेका ती व्यक्तिले कुकुरमाथि पछाडिबाट प्रहार गरेर रडले घोचेको देखिन्छ।
- पशु अधिकारकर्मी र टीएफसी नेपालले ती व्यक्तिको पहिचान गर्न सर्वसाधारणसँग सहयोग माग्दै कारबाहीको पहल भइरहेको बताएका छन्।
मानिसहरू पशुप्राणीप्रति कति क्रूर एवं निर्दयी बनिरहेका छन् ? बोल्न नसक्ने, कमजोर, निरीह र एक्लो प्राणीमाथि मानिसहरू कति घृणित व्यवहार गरिरहेका छन् ?
पछिल्लो समय पशुसंहारदेखि विभिन्न हिंसात्मक घटनाहरूको सिलसिलाले मानिसको यही कुरूप पक्ष देखाइरहेको छ ।
केही दिनअघि काठमाडौंमा भएको यस्तै घटनाको सीसीटीभी फुटेज अहिले सर्वत्र फैलिएको छ । एउटा अबोध र निर्दोष कुकुरमाथि गरिएको उक्त कृत्यको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।
सीसीटीभी फुटेजमा एक व्यक्ति देखिन्छन् । उक्त व्यक्तिले हेल्मेट लगाएका छन् । पछिल्तिर ब्याग भिरेका छन् । ती व्यक्तिको हातमा एउटा रड देखिन्छ । उनी रड बोकेर सुस्तरी अगाडि बढ्छन् । केही पर कालो–खैरो रङको सडक कुकुर सुस्ताइरहेको देखिन्छ ।
उक्त व्यक्तिले सोही कुकुरलाई पछाडिबाट रडले प्रहार गर्छन् । हेर्नसमेत नसकिने उक्त भिडियोमा कुकुर छटपटाउँदै उत्तानो परेको देखिन्छ ।
यो घटना काठमाडौंको सातुंगलमा भएको बताइन्छ । त्यहाँस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालनजिकै सडकमा आराम गरिरहेको उक्त कुकुरलाई उनले अन्धाधुन्ध रड प्रहार गरी मरणासन्न अवस्थामा पुर्याएको देखिन्छ । त्यसपछि पनि ती व्यक्तिले कुकुरलाई रडले घोचेको देखिन्छ ।
उक्त व्यक्ति को हुन् ? उनले निर्दोष कुकुरमाथि किन आक्रमण गरे ? यसबारे पशु अधिकारकर्मीहरूले सोधीखोजी गरिरहेको बताएका छन् । कुकुरलाई त्यसरी मरणासन्न हुने गरी कुटपिट गर्ने व्यक्तिको पहिचान गरी कारबाही गराउन पहल भइरहेको उनीहरूको भनाइ छ ।
पशु संरक्षणकै क्षेत्रमा काम गरिरहेको टीएफसी नेपालले भिडियोमा देखिएका व्यक्तिको पहिचान गर्न सर्वसाधारणसँग सहयोग मागेको छ । संस्थाले लेखेको छ, ‘पशुमाथि हुने क्रूरता गम्भीर चिन्ताको विषय हो । यस्ता घटनाले निरीह तथा असहाय पशुको सुरक्षा र संरक्षणका लागि आवाज उठाउनुका साथै पशुमाथि हुने दुर्व्यवहार देखेमा सम्बन्धित निकायमा जानकारी गराउन आवश्यक छ ।’
प्रतिक्रिया 4