१४ कात्तिक, अस्ट्रेलिया । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले अस्ट्रेलियाको गोल्ड कोस्टमा शुक्रबार (अक्टोबर ३०) आयोजित १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा सफलता हासिल गरेको छ। चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले उत्कृष्ट अभिनय विधाको अवार्ड जितेकी छन्।
एसिया प्रशान्त क्षेत्रका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गरिने यस अवार्डमा पुष्पाको जितले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाएको छ।
अविनाशविक्रम शाहको निर्देशनमा बनेको यस चलचित्र तीन विधामा मनोनयनमा परेको थियो। चलचित्र उत्कृष्ट फिल्म, निर्देशक शाह उत्कृष्ट निर्देशक र अभिनेत्री पुष्पा उत्कृष्ट अभिनय विधामा मनोनयनमा परेका थिए।
चलचित्रको टोलीले अनलाइनखबरसँग कुरा गर्दै अवार्ड समारोहमा सहभागी हुन अस्ट्रेलिया आउने योजना बनाए पनि अन्तिम समयमा रद्द गर्नुपरेको जनाएको छ। त्यसैले समारोहमा चलचित्र टोलीको प्रत्यक्ष उपस्थिति हुन सकेन।
अवार्ड जितेपछि अभिनेत्री पुष्पा थिङ लामाले एसिया प्यासिफिक स्क्रिन अवार्डप्रति आभार व्यक्त गरेकी छन्। उनले यो सम्मान आफ्नो लागि विशेष रहेको बताउँदै निर्देशक अविनाशविक्रम शाह र निर्माता अनुप पौडेललाई धन्यवाद दिएकी छन्।
आफूमाथि विश्वास गरेर ‘पिरती’ पात्रलाई जीवन्त बनाउने अवसर दिएकोमा उनले निर्देशक र निर्माताप्रति कृतज्ञता व्यक्त गरेकी छन्। यो सम्मान आफ्नो अभिनय यात्राको सुन्दर उपलब्धि भएको र सधैँ विशेष सम्झनाका रूपमा सँगालेर राख्ने पनि उनले बताएकी छन्।
नेपाली समाज, संस्कृति र सीमान्तकृत समुदायको कथा समेटिएको ‘एलिफेन्ट्स इन द फग’ यसअघि सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको थियो। उक्त विधामा चलचित्रले जुरी पुरस्कारसमेत प्राप्त गरेको थियो।
कान्समा सफलता पाएपछि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चर्चा बटुलिरहेको यस चलचित्रले अस्ट्रेलियामा प्राप्त गरेको अवार्डलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्राको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
प्रतिक्रिया 4