+
+
Shares

कुहिरोमा ‘पिरती’

समाजका प्रतिनिधि पात्रहरू बनेर सबैजसो पुरुषहरू देखिएका छन्, लैंगिक अल्पसंख्यकलाई दुर्व्यवहार गर्नेदेखि प्रेम गरेर दिल्ली लान्छु भन्नेसम्मका ।

उज्वल ढुंगाना उज्वल ढुंगाना
२०८३ असोज ५ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किन्नर समुदायको कथामा बनेको ‘एलिफेन्ट्स इन द फग’मा मुख्य पात्र पिरतीले लैंगिक पहिचान, विभेदकारी समाज र समुदायभित्रका धार्मिक नियमसँग संघर्ष गरेकी छन्।

‘व्यक्तिविशेषप्रति मेरो कुनै गुनासो छैन… मेरो गुनासो छ त त्यो सामाजिक संरचनासँग छ, जसले मानिसबाट उसको मानवीयता खोसिदिन्छ । अनि स्वार्थका खातिर भाइलाई पराई र मित्रलाई शत्रुमा परिणत गरिदिन्छ । मलाई त्यो सोच र त्यो संस्कृतिप्रति आपत्ति छ, जहाँ मृतकको पूजा गरिन्छ, तर बाँचेकाहरूलाई भने कुल्चिइन्छ । जहाँ कसैको पीडामा आँसु झार्नुलाई कायरता मानिन्छ र नम्रतापूर्वक निहुरिनुलाई कमजोरी ठानिन्छ ।’

यो संवाद सन् १९५७ मा आएको गुरु दत्त निर्देशित हिन्दी फिल्म ‘प्यासा’ को हो । उनी आफैं मुख्य भूमिकामा ‘विजय’ भएर अभिनय गरेका छन् र संवाद पनि आफ्नै हो । सन् २००५ मा टाइम म्यागजिनको ‘सर्वकालीन उत्कृष्ट १०० चलचित्र’ को सूचीमा परेको यो फिल्म र यसको सन्देश ६९ वर्षपछि हेर्दा पनि उत्तिकै सान्दर्भिक र समयानुकूल छ । आउने अर्को समयमा पनि सायद यसको सान्दर्भिकता नमर्न सक्छ ।

ठ्याक्कै ‘विजय’ जस्तो नभए पनि अहिले नेपालमा लागिरहेको सिनेमा ‘एलिफेन्ट्स इन द फग’ अर्थात ‘तिनीहरू’ की पात्र ‘पिरती’ को लडाइँ पनि यो समाज र यसले बनाएका मानकहरूसँगै छ । विवाह, जन्मकर्म वा अन्य कुनै शुभकार्यमा किन्नर समुदायले गीत गाउने, आशीर्वाद दिने चलन दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा छ । ‘एलिफेन्ट्स इन द फग’ यही किन्नर समुदायभित्रको कथामा बनेको सिनेमा हो ।

अहिलेसम्म सायद लैंगिक अल्पसंख्यक र समाजलाई जोडेर यसरी कथा भनिएको थिएन होला । अझ जसको कथा हो, उनीहरू नै सो चरित्रमा उभिएको त कमै देख्न पाइएको थियो । मुख्य पात्र पिरती आफ्नै लैंगिक पहिचानका लागि आफैंसँगको अन्तर्द्वन्द्व, विभेदकारी समाजसँगको लडाइँ र आफ्नै किन्नर समुदायभित्रको धार्मिक नियमहरूसँग जुधिरहेकी छन् । मुख्य कलाकारहरू वास्तविकतामा नै तेस्रोलिङ्गी भएर पनि होला, उनीहरूले बोल्ने संवाद, निभाएको चरित्र केही पनि असहज र बनावटी लाग्दैनन् ।

७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार जितेको यस सिनेमाले प्रदर्शन सकिएपछि हलमा ७ मिनेटभन्दा लामो समयसम्म तालीको गड्‍गडाहट पाएको थियो । कान्समा चर्चा बटुलेको सिनेमालाई काठमाडौंमा बसेर दोषी चस्मा लगाएर त हेर्न अलिक अप्ठ्यारै होला, त्यै पनि फिल्म हेरेपछि दर्शकको आँखाले देखेका कुराहरू भन्न मन लाग्यो ।

मातृत्व

झट्ट ‘एलिफेन्ट्स इन द फग’ नाम सुन्दा, जनावर र मान्छे कथामा कसरी जोडिएला भन्ने भाव फिल्मको ट्रेलर हेर्दादेखि नआएको हैन । फिल्ममा यो नाम कसरी सार्थक होला भन्ने खुल्दुली पनि थियो । तर फिल्म हेरेपछि थाहा भयो, हात्ती बिम्बको रूपमा मात्र नभएर कथामा पनि सँगसँगै नै छ ।

हात्तीहरूको बथान पूर्णरूपमा पोथी हात्तीको नेतृत्वमा हुन्छ । माउ हात्तीले आफ्ना छावा सामूहिक मातृत्व र स्याहारमा हुर्काउँछ । माउ हात्ती नहुँदा अरू पोथी हात्तीहरूले छावाको रेखदेख गरिरहेका हुन्छन् । यसको ठ्याक्कै समानता किन्नर समुदायमा भेट्टाएका छन् निर्देशकले ।

किन्नर समुदायकी गुरुआमाले दिएको ‘आमा’ को पदमा बसेकी पिरतीले आफ्ना किन्नर छोरीहरू त्यसैगरी स्नेहसाथ हुर्काएकी छिन् । केही समस्या पर्दा उनीहरूलाई नेतृत्व दिएकी छिन् । परिवारको सदस्य गुमाउँदा जैविक रूपमा आमा नभए पनि भावनात्मक रूपमा आमाको जस्तै गरी शोकको आँसु बगाएकी छ । आफ्नो फरक लैंगिक पहिचानलाई समाजले नस्वीकारेपछि समाज छोडेर आएकाहरूलाई आश्रय दिएकी छ, अभिभावकत्व लिएकी छिन्।

यसरी मातृत्वको माध्यमबाट हात्ती र पिरतीलाई मिहिन ढंगले जोड्नु कथाको उत्कृष्टता हो भन्दा फरक नपर्ला, र त्यसलाई न धेरै न थोरै, ठिक्क मात्रामा पस्किने निर्देशकीय क्षमता मान्नैपर्छ ।

समाज

समाजका केहीले आफ्नो शारीरिक भोगका लागि प्रयोग गर्ने, तर जब त्यसले उनीहरूको जीवनमा अप्ठ्यारो पार्ने परिस्थिति आउँछ, तब उल्टै लैंगिक अल्पसंख्यकहरूको उठिबास लगाइदिने हाम्रो समाजको चरित्रलाई राम्रैसँग उदाङ्गो पारिदिएको छ सिनेमाले ।

समाजका प्रतिनिधि पात्रहरू बनेर सबैजसो पुरुषहरू देखिएका छन्, लैंगिक अल्पसंख्यकलाई दुर्व्यवहार गर्नेदेखि प्रेम गरेर दिल्ली लान्छु भन्नेसम्मका । राज्यका हरेक तहले फरक लिङ्गीलाई समाज भाँड्ने, बिगार्ने कारकको रूपमा मानिदिँदा उनीहरू कसरी आफ्नो अधिकारबाट वञ्चित भएका छन्, समाजमा आफ्नो भूमिका नहुँदा उनीहरूमा के बितिरहेको छ भन्ने कुरालाई निर्देशकले सटिक ढंगबाट प्रस्तुत गरेका छन् ।

किन्नर समाजको एक किसिमको कथा भनिरहँदा त्यसमा नकारात्मक र सकारात्मक दुवै पाटो हुन सक्छन् । तर तिनीहरूको पीडा, रीतिरिवाज, सामाजिक द्वन्द्व र आफ्नो लैंगिक पहिचान फेरेर आएकाहरू फेरि पुरानै परिचयमा पुरुष नाममा फर्किएको देखाइनुमा सत्यता भए पनि नकारात्मक पाटो चाहिँ अलि धेरै भयो कि भन्ने लाग्न सक्छ ।

जंगल, किन्नर परिवार र कथित समाज– यी तीनवटैबीच हुने अन्तर्द्वन्द्वलाई कलात्मक ढंगले भने निर्देशकले प्रस्तुत गरेका छन् । फिल्मले फरक लैंगिक पहिचानलाई समाजले हेर्ने आँखालाई थिएटरको स्क्रिनमा मात्र बोकेको छैन, अहिले हलमा देखिएको दर्शकको संख्याले पनि हाम्रै समाजको चरित्रलाई सचित्र व्याख्या गरिदिएको छ ।

विद्रोह

समाजले गरेको थिचोमिचो र अन्यायले गर्दा जब मान्छे विस्फोटको अवस्थामा पुग्छ, तब हुने भनेको विद्रोह नै हो । र यो सिनेमाले पनि अन्तिममा विद्रोह नै गर्छ । यहाँको विद्रोहमा पिरतीको मातृत्वको आगो मिसिएको छ, त्यस्तो आगो जसले उनलाई हरेक अवस्थाको सामना गर्न सक्ने साहस दिएको देखिन्छ ।

सिनेमा अन्त्यमा झुलुक्क हेर्दा दर्शकलाई छोडिएको खुला अन्त्य जस्तो देखिए पनि, कल्पनै गर्न नसकिने स्थितिमा भने निर्देशकले छोडेका छैनन् ।

कान्समै होला, कतै भिडियोमा अनुराग कश्यपले भन्दै थिए, कान्स फिल्म फेस्टिभलमा अहिलेसम्म हेरेकोमध्ये सबैभन्दा सशक्त अन्तिम दृश्य । फिल्मको अन्त्य छ पनि त्यस्तै, अकल्पनीय, अद्‍भूत । अन्तिम दृश्य हेरेपछि थाहा हुन्छ कि कान्समा किन ७ मिनेटसम्म उभिएर दर्शकले ताली बजाएका थिए भन्ने कुरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?