+
+
Shares

एक दशकपछि यसरी तयार भयो मेरो नयाँ उपन्यास

कृष्ण धरावासी कृष्ण धरावासी
२०८३ कात्तिक १४ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘भ्रान्ति पर्व’ का लेखकले महाभारतका पात्रलाई देवत्वबाट झारेर मानवीय अनुभूति, कमजोरी, पीडा र स्वतन्त्रताको धरातलमा उभ्याउने प्रयास गरेको बताएका छन्।
  • लेखकले अर्जुन, द्रौपदी, अश्वत्थामा र व्यासलाई स्थापित छविबाट बाहिर निकालेर अपूर्ण जीवन, प्रश्न र चेतनाको यात्रामा प्रस्तुत गरेको उल्लेख गरेका छन्।
  • उपन्यासमा स्वर्ग, मोक्ष र पूर्णताको खोजीमाथि प्रश्न उठाउँदै पाठकलाई आफ्नै जीवनका अर्जुन, द्रौपदी र अश्वत्थामालाई सम्झेर आफूलाई प्रश्न गर्न आग्रह गरिएको छ।

महाभारत हाम्रो साहित्यिक, सांस्कृतिक र दार्शनिक चेतनाको अत्यन्त विशाल संसार हो । हामीले महाभारतलाई पढ्यौँ, सुन्यौँ, बुझ्यौँ र त्यसका पात्रहरूलाई आ-आफ्नो आस्थाअनुसार ग्रहण गर्दै आयौँ । कृष्ण, अर्जुन, द्रौपदी, युधिष्ठिर, भीष्म, कर्ण, द्रोण र अश्वत्थामा हाम्रा सामूहिक स्मृतिका पात्र हुन्।

तर एउटा प्रश्नले मलाई लामो समयदेखि पछ्याइरहेको थियो— हामीले यी पात्रहरूलाई सधैँ एउटै कोणबाट मात्र किन हेर्ने ? उनीहरूको जीवनको अन्तिम अर्थ हामीले पहिल्यै निर्धारण गरिसकेका हौँ ? उनीहरूको नियति, उनीहरूको पीडा, उनीहरूको प्रेम र उनीहरूको चेतनाबारे प्रश्न गर्ने आँट हामीसँग छैन ?

के महाभारत युद्धको कथा मात्र हो ? के त्यसको अन्त्य कुरुक्षेत्रमा भएको १८ दिनको युद्धसँगै भएको हो ? के कुनै पनि युद्धमा विजय प्राप्त भएपछि जनता वा देशले साँच्चै शान्ति प्राप्त गर्छ ? के स्वर्ग पुग्नु नै जीवनको अन्तिम उपलब्धि हो ? र के मोक्षको खोजीमा मानिसले आफ्नो जीवनलाई नै अस्वीकार गरिरहेको त छैन ?

यिनै प्रश्नहरूको वरिपरि ‘भ्रान्ति पर्व’ को जन्म भएको हो।

मैले महाभारतको पुनर्कथन गर्ने उद्देश्य राखेको होइन । बरु महाभारतका पात्रहरूलाई उनीहरूको स्थापित छविबाट बाहिर निकालेर फेरि मानिसका रूपमा हेर्ने प्रयत्न गरेको हुँ । उनीहरूलाई देवत्वको उचाइबाट झारेर मानवीय अनुभूति, कमजोरी, पीडा, प्रेम, पश्चात्ताप र स्वतन्त्रताको धरातलमा उभ्याउने प्रयास गरेको हुँ।

हामी जीवनभर कुनै पूर्णताको खोजीमा दौडिरहेका हुन्छौँ । पूर्ण न्याय, पूर्ण विजय, पूर्ण प्रेम, पूर्ण ज्ञान र पूर्ण मुक्ति । तर के जीवनमा त्यस्तो पूर्णता सम्भव छ ?

मलाई लाग्छ, कुनै पनि महान् पात्रको महानता उसलाई प्रश्न गर्न नसकिने बनाउनुमा होइन, प्रश्नका बीचमा पनि उसको मानवीय अर्थ खोजिरहनुमा हुन्छ।

महाभारतमा अर्जुन महान् धनुर्धर हुन् । उनले संसारकै ठूलो युद्ध लडे, विजय प्राप्त गरे र आफ्नो पराक्रमको इतिहास बनाए । तर त्यसपछि उनको जीवनमा के भयो ? विजयले उनलाई के दियो ? उनले प्राप्त गरेको राज्य, प्रतिष्ठा र पराक्रमले उनको अन्तरात्मालाई शान्ति दिन सक्यो ?

मैले अर्जुनलाई महाप्रस्थानको यात्रामा ढलेको एउटा पराजित योद्धाका रूपमा मात्र हेरेको छैन । उनीभित्रको एउटा मानिसलाई खोज्ने प्रयास गरेको छु। गाण्डीव बिसाइसकेपछि पनि उनको जीवन बाँकी हुन्छ । युद्ध सकिएपछि पनि उनका प्रश्नहरू सकिँदैनन् ।

द्रौपदी यस उपन्यासकी अर्को महत्त्वपूर्ण चेतना हुन् । महाभारतमा उनले अपमान भोगिन्, न्याय मागिन् र प्रतिशोधको आगोमा जीवन बिताइन् । तर न्याय प्राप्त भएपछि उनको जीवनको सम्पूर्ण पीडा समाप्त भयो त ? युद्धमा मारिएका मानिसहरू फर्किए ? बितेका वर्षहरू फर्किए ? अपमानले च्यातिएको मन फेरि पहिलेको जस्तै भयो ?

द्रौपदीलाई मैले केवल प्रतिशोधको प्रतीकका रूपमा होइन, आफ्नै जीवनको अर्थ खोज्ने स्वतन्त्र नारी चेतनाका रूपमा उभ्याउने प्रयास गरेको छु।

अर्जुन र द्रौपदीको सम्बन्ध पनि यहाँ केवल पति–पत्नीको सम्बन्ध होइन । यो दुईवटा अपूर्ण जीवनबीचको संवाद हो । उनीहरूले स्वर्गको सुनिश्चित गन्तव्यभन्दा जीवनको अनिश्चित सम्भावनालाई स्वीकार गर्छन् । उनीहरूका लागि जीवनबाट पलायन हुनुभन्दा जीवनका अपूर्णता, स्मृति र पीडासहित बाँच्नु महत्त्वपूर्ण हुन्छ ।

मलाई लाग्छ, मानिसको सबैभन्दा ठूलो उपलब्धि दुःखबाट मुक्त हुनु मात्र होइन, दुःखका बीचमा पनि जीवनलाई प्रेम गर्न सक्नु हो ।

अश्वत्थामा महाभारतका सबैभन्दा विचित्र नियतिका पात्रमध्ये एक हुन्। उनी मर्न पाउँदैनन्, तर बाँच्न पनि पाउँदैनन्। उनीमाथि रहेको अनन्त श्राप केवल शारीरिक पीडा होइन, एउटा अन्त्यहीन मानसिक र अस्तित्वगत यातना हो।

तर मैले अश्वत्थामाको कथालाई श्रापको वर्णनमा मात्र सीमित राख्न चाहिनँ । उनको जीवनमा एउटा प्रश्न प्रवेश गराएँ— के मानिस आफ्नो विगतको अपराध र पीडाको बन्दी भएर सधैँ बाँचिरहनुपर्छ ? के पश्चात्तापले मानिसलाई नयाँ चेतनासम्म पुर्‍याउन सक्दैन ?

त्यसैले अश्वत्थामाको यात्रालाई श्रापबाट साक्षी बन्ने यात्राका रूपमा हेरेको छु । उनको उपस्थितिलाई मैले आधुनिक काठमाडौंसम्म ल्याएको छु । एउटा चिया पसल, एउटा युवा, उसको ल्यापटप र अश्वत्थामाको कथामाथि चलचित्र बनाउने उसको कल्पना । यसरी हजारौँ वर्ष पुरानो मिथक आधुनिक प्रविधि र नयाँ पुस्ताको चेतनासँग संवाद गर्न आइपुग्छ ।

मलाई लाग्छ, समय फेरिन्छ, प्रविधि फेरिन्छ, मानिसका अभिव्यक्तिका माध्यम फेरिन्छन्, तर मानिसभित्रको हिंसा, अहङ्कार, प्रतिशोध र पीडाको स्वरूप केन्द्र पूर्णतः फेरिएको छैन।

कुरुक्षेत्र आज पनि छ । फरक यति हो, त्यसका मैदानहरू बदलिएका छन् । युद्धका हतियारहरू बदलिएका छन् । मानिसले आफ्ना हिंसाहरूलाई नयाँ नाम दिएका छन् । कहिले राष्ट्रका नाममा, कहिले धर्मका नाममा, कहिले विचारका नाममा र कहिले विजयका नाममा मानिसले मानिसलाई पराजित गरिरहेको छ । त्यसैले मलाई महाभारत केवल विगतको कथा लागेन । यो हाम्रो वर्तमानलाई हेर्ने एउटा ऐना पनि लाग्यो ।

हामी जीवनभर कुनै पूर्णताको खोजीमा दौडिरहेका हुन्छौँ । पूर्ण न्याय, पूर्ण विजय, पूर्ण प्रेम, पूर्ण ज्ञान र पूर्ण मुक्ति । तर के जीवनमा त्यस्तो पूर्णता सम्भव छ ?

भीष्मको प्रतिज्ञाले उनको जीवन अपूर्ण बनायो । द्रोणको गुरुत्वले उनको पितृत्वको पीडा मेटाउन सकेन । कर्णको पराक्रमले उनलाई सामाजिक स्वीकृति दिन सकेन । युधिष्ठिरको धर्मले उनलाई सबै प्रश्नबाट मुक्त गर्न सकेन । अर्जुनको विजयले उनको रिक्तता समाप्त गरेन । द्रौपदीको क्षमाले उनको विगत मेटाउन सकेन । अर्थात्, मानिस जति ठूलो उपलब्धिको नजिक पुग्छ, कहिलेकाहीँ त्यति नै नयाँ प्रश्नको नजिक पनि पुगिरहेको हुन्छ।

मैले यस उपन्यासमा स्वर्गलाई एउटा भौगोलिक गन्तव्यका रूपमा मात्र हेरेको छैन । मानिसको दुःखरहित पूर्णताको कल्पनाका रूपमा पनि हेरेको छु। तर दुःखबाट मुक्त हुने चाहनामा मानिसले आफ्ना स्मृति, सम्बन्ध, अनुभूति र मानवीय अपूर्णतालाई नै त्याग्नुपर्ने हो भने त्यस्तो मुक्तिको अर्थ के हुन्छ ?

मलाई लाग्छ, मानिस स्वर्ग पुगेर मुक्त हुँदैन, बरु स्वर्गको आवश्यकता समाप्त भएपछि मुक्त हुन्छ। यो मेरो उपन्यासले उठाएको एउटा दार्शनिक सम्भावना हो । यसको अन्तिम निर्णय पाठकको चेतनामा छोड्न चाहन्छु ।

वेदव्यास महाभारतका स्रष्टा हुन् । उनी कथा लेख्छन्, पात्रहरू निर्माण गर्छन् र उनीहरूको नियतिलाई शब्दमा उतार्छन् । तर ‘भ्रान्ति पर्व’ मा मैले व्यासलाई सर्वज्ञ र अन्तिम सत्यका अधिकारीका रूपमा मात्र हैन, उनलाई आफ्नै सिर्जनाका पात्रहरूबाट प्रश्न गरिरहेको एउटा थकित स्रष्टाका रूपमा उभ्याएको छु।

व्यासले अर्जुनलाई स्वर्ग पठाएका थिए। द्रौपदीलाई पनि स्वर्गारोहणको यात्रामा पुर्‍याएका थिए। तर जब ती पात्रहरू जीवनतर्फ फर्किन्छन्, तब व्यासको स्थापित कथ्यमा प्रश्न उठ्छ। उनीले बुझ्न थाल्छन्— लेखकले पात्रको जीवन लेख्न सक्छ, तर पात्रको सम्पूर्ण सम्भावनालाई नियन्त्रण गर्न सक्दैन । यहीँ आएर मेरो लेखकीय चिन्तन पनि यस उपन्याससँग जोडिन्छ।

मलाई लाग्छ, लेखक पात्रको मालिक होइन। लेखक एउटा सम्भावनाको अन्वेषक हो। उसले पात्रलाई जन्म दिन्छ, तर पात्रको चेतना लेखकले सोचेभन्दा धेरै परसम्म फैलिन सक्छ। कुनै पात्र एकपटक पाठकको मनमा प्रवेश गरेपछि ऊ लेखकको कल्पनाभन्दा पनि ठूलो हुन सक्छ । त्यसैले उपन्यासको अन्त्यमा व्यासले कलम राख्छन्।

उनी अन्तिम सत्य घोषणा गर्दैनन्। एउटा पाना खाली छोड्छन्। त्यो खाली पाना कमजोरी होइन। त्यो अरू सम्भावनाहरूका लागि छोडिएको ठाउँ हो। त्यो पाठकको स्वतन्त्रता हो। त्यो जीवनको निरन्तरता हो। मलाई लाग्छ, साहित्यको सबैभन्दा सुन्दर पक्ष पनि यही हो—उसले उत्तर दिएर होइन, प्रश्न गर्न सिकाएर पात्रलाई स्वतन्त्र बनाउँछ।

आज हामी सूचना र प्रविधिको अत्यन्त विकसित युगमा छौँ। मानिससँग ज्ञानका असङ्ख्य स्रोत छन्। संसारको एउटा कुनामा भएको घटना अर्को कुनामा तत्काल देख्न सक्छौँ। हामीसँग दृश्य छ, ध्वनि छ, तथ्याङ्क छ, प्रमाण छ। तर के हामीसँग त्यति नै गहिरो मानवीय संवेदना पनि छ ?

हामीले युद्धका दृश्यहरू प्रत्यक्ष देखिरहेका छौँ। विनाश, विस्थापन र निर्दोष मानिसहरूको मृत्यु हेरिरहेका छौँ। तर के ती दृश्यहरूले हाम्रो चेतनालाई बदलिरहेका छन् ? कि हामी विनाशलाई पनि एउटा सामान्य सूचनाका रूपमा ग्रहण गर्न अभ्यस्त भइरहेका छौँ ?

महाभारतमा सञ्जयले दिव्यदृष्टिबाट युद्ध देखेका थिए। आज हामी सबैसँग आफ्नै प्रकारको दिव्यदृष्टि छ। तर देख्नु र बुझ्नु एउटै कुरा होइन। दृश्य प्राप्त हुनु र त्यसको पीडा महसुस गर्नु पनि एउटै कुरा होइन। यहीँ नेर मलाई लाग्छ, हाम्रो समयको सबैभन्दा ठूलो आवश्यकता मानवीय चेतना हो। मानिसले आफ्नो विजयभन्दा अर्को मानिसको जीवनलाई महत्त्व दिन सिक्नुपर्छ।

‘भ्रान्ति पर्व’ कुनै राजनीतिक घोषणा होइन, कुनै धार्मिक निष्कर्ष पनि होइन। यो मानिसले आफैँभित्र फर्केर हेर्नुपर्ने एउटा आग्रह हो।
प्रिय पाठकहरू, म एउटा कुरा स्पष्ट भन्न चाहन्छु। यो उपन्यासका सबै पात्रसँग म सहमत छु भन्ने होइन। मैले यहाँ कुनै पात्रलाई अन्तिम सत्यको प्रतिनिधि बनाएर उभ्याएको पनि छैन। अर्जुनका प्रश्नहरू छन्, द्रौपदीका प्रश्नहरू छन्, अश्वत्थामाका प्रश्नहरू छन् र व्यासका पनि आफ्नै सीमाहरू छन्।
साहित्यको काम पात्रलाई निर्दोष प्रमाणित गर्नु होइन। उनीहरूको जीवनभित्र लुकेका विरोधाभासहरूलाई उजागर गर्नु हो।

मानिस एउटै समयमा सही पनि हुन सक्छ, गलत पनि हुन सक्छ। प्रेम गर्न सक्छ, घृणा गर्न सक्छ। सत्य खोज्न सक्छ, तर आफ्नै भ्रमको बन्दी पनि हुन सक्छ। मानिसको यही जटिलता नै साहित्यको विषय हो।

यस पुस्तकको शीर्षक ‘भ्रान्ति पर्व’ पनि त्यही मानवीय जटिलताबाट आएको हो। हामीले सत्य ठानेका कतिपय कुरा भ्रम हुन सक्छन्। हामीले भ्रम ठानेका कतिपय अनुभूतिभित्र पनि सत्यको कुनै अंश लुकेको हुन सक्छ। त्यसैले सत्यको खोजी भनेको स्थापित उत्तरहरूको पुनरावृत्ति होइन, आफ्नै विश्वासमाथि प्रश्न गर्न सक्ने साहस पनि हो।

यो पुस्तक लेख्ने क्रममा मैले एउटा कुरा फेरि महसुस गरेको छु—लेखकले आफ्नो कृतिबाट सबै प्रश्नको उत्तर दिन सक्दैन। बरु कुनै प्रश्नलाई यति गहिरोसँग पाठकको मनमा छोड्न सक्छ, पुस्तक बन्द गरेपछि पनि त्यो प्रश्न उसको साथमा रहिरहोस्।

म चाहन्छु, ‘भ्रान्ति पर्व’ पढिसकेपछि पाठकले केवल अर्जुन, द्रौपदी, अश्वत्थामा र व्यासलाई मात्र सम्झेर नबसून्। आफ्नै जीवनका अर्जुनहरूलाई सम्झून्, आफ्नै जीवनका द्रौपदीहरूलाई सम्झून्, आफ्नै मनभित्र बाँचेका अश्वत्थामाहरूलाई खोजून् र आफ्नै निर्णयहरूका व्यास बनेर आफूलाई प्रश्न गरून्।

हामी सबैले जीवनमा कुनै न कुनै युद्ध लडेका छौँ । कसैले जितेका छौँ, कसैले हारेका छौँ । कसैले प्रतिशोध पाएका छौँ, कसैले पश्चात्ताप बोकेका छौँ। तर ती सबैभन्दा पर एउटा प्रश्न सधैँ बाँकी रहन्छ—हामीले यति लामो यात्रा आखिर केका लागि गर्‍यौँ ?

सायद जीवनको अर्थ कुनै अन्तिम विजयमा छैन। बरू जीवनको अर्थ आफ्ना अपूर्णताहरूलाई चिन्नु, अरूको स्वतन्त्रतालाई स्वीकार गर्नु र आफूले बाँकी पाएको जीवनलाई प्रेम गर्न सक्नुमा छ। मेरा लागि ‘भ्रान्ति पर्व’ को लेखनयात्राले दिएको सबैभन्दा ठूलो सन्तुष्टि यही हो।

म चाहन्छु, यो पुस्तक पढिसकेपछि तपाईंहरूलाई एउटा उत्तरभन्दा एउटा प्रश्नले बढी पछ्याओस् ।

यदि हामीलाई आफ्नो जीवन फेरि एकपटक बाँच्ने अवसर मिल्यो भने, हामी अर्को जीवन खोज्नेछौँ कि यही अपूर्ण जीवनलाई पहिलोपटक आफ्नै भनेर स्वीकार गर्नेछौँ ? यही प्रश्नसँगै यो ‘भ्रान्ति पर्व’ तपाईंहरूको हातमा सुम्पेको छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?