+
+
Shares

मगनी मरिक : एक खलबलिएको मस्तिष्क

मगनीको मस्तिष्कमा बेचैनीका हरफहरू मात्र दौडिएका छैनन्, सचेतनाका संवाहकहरूले समेत प्रशस्त ठाउँ ओगटेको देखिन्छ ।

बीएन जोशी बीएन जोशी
२०८३ कात्तिक १४ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मगनी मरिक उपन्यासमा जिउँदो मान्छेलाई मरेको भन्दै पत्र आउँदा मगनी सरकारी प्रमाण जुटाउन काठमाडौँ धाउँछ।
  • विप्रेषणले अर्थतन्त्र बलियो भए पनि परदेशी श्रमिकका परिवारले सरकारी कार्यालय, श्रम शोषण र कफिन फर्काइमा सास्ती भोग्नुपरेको लेखमा उल्लेख छ।

‘ती अभिभावक, जो सुखको खोजीमा परदेशमा पसिना बगाउँछन् तर तिनकै छोराछोरी ठूला भएपछि बाआमाजस्तै परदेश पस्ने सपना देख्दै विद्यालय धाउँछन् ।’

‘प्रत्येक दिन काठमाण्डुको विमानघाटमा जिउँदा मान्छेसँगै केही कफिन बोकेर विदेशी वायुयान अवतरण गर्छन् ।’

माथिका हरफहरू मैले सातसाल अगाडि, जनकराज सापकोटाको कहर (२०७३) नामक किताबमा पढेको थिएँ । त्यसमा उल्लिखित विषयहरूले आजको दिनसम्म पनि विश्राम पाएको देखिँदैन । यस्तै प्रकारको अनुभव हजारौँ नेपाली परिवारसँग छ । तिनै लाखौँ आप्रवासीहरूले पठाएको विप्रेषणले मुलुकको आर्थिक मेरुदण्ड बलियो बनेको छ ।

घरको चुलो बलेको छ । विडम्बना, तिनै परिश्रमी परिवारका सदस्यहरूले कुनै समस्या आइपरेमा दैननदिन जाँतोमा सातु पिसिएसरी पिल्सिनु पर्दछ । सरकारी कार्यालयका अड्डाहरूमा पाइलैपिच्छे अनेकन् हण्डर ठक्कर खानुपर्छ । परदेशमा श्रम शोषणमा पर्ने मात्र हैन, कतिपयले कफिनमा फर्कंदा समेत सास्ती पाउन छोड्दैनन् । दुःख, बिमार र समस्याको बखान गरिसाध्य छैन । यस्तै एउटा प्रतिनिधि कथाको पुलिन्दा उपन्यास रहेछ, मगनी मरिक । छरितो ज्यानको किताब भए पनि यसको विषयवस्तु निकै गम्भीर प्रवृत्तिको रहेको छ ।

तराईको सौठा, सनकपुरका जोगिन्दर मरिकको नाममा आएको एउटा चिठ्ठीले छोरा मगनीको मस्तिष्क बेहद खलबलाइदिएको छ । डोम समुदायको झुपड बस्तीमा रहेको सानो खरको घर भए पनि ती आफ्नै दुनियाँमा खुसी थिए । मरिसकेको बुबा जोगिन्दरको नाममा पत्र आउनु र छोरा मगनी जसले पत्र बुझेको छ, त्यसमा स्वयं मरेको व्यहोरा हुनु अकल्पनीय लाग्छ ।

के आर्यघाटमा बाकसमा राखेको त्यो लास मगनी मरिककै नाममा थियो त ? के त्यसैको आडमा बसेर पछ्यौरा ओढेर रोइरहेकी मनमाया नै थिइन् त ?

साइकलवाला हुलाकीमार्फत उक्त पत्र बुझेपछि ऊ जिउँदो भएर पनि मरेतुल्य बन्छ । आफू जीवित भएको प्रमाण जुटाउन गरेको संघर्ष र एकपछि अर्को तनावको लर्को नै मगनी मरिकको असली सार हो । उपन्यासभित्र पसेपछि पाठक बाहिर निस्कन सक्दैन, मन लाग्दैन ।

विम्बात्मक रूपमा बकैनाको बूढो बोटमुनिबाट बित्थामा आइलागेको समस्याको समाधान नभए चर्को मूल्य चुकाउनुपर्ने त्रासबाट नराम्रोसँग पिल्सिएको छ । मानसिक विचलनले मगनीको दैनिकीको लय नै भंग गरिदिएको छ । साहु महाजन, दलाल र मेनेजर जस्ता निम्नवर्गीय समाजका नाइकेहरूले सोझा र अनाडीहरूलाई कसरी रिँगाउँछन् भन्ने यो एउटा गतिलो दृष्टान्त हो ।

मगनीले नजिकका साथीभाइ, गाउँका टाठाबाठा सबैलाई सम्झियो, कसैले यस समस्याको समाधान गरिदिन सक्छन् कि भनेर । भरपर्दा कोही लागेनन् । अन्त्यमा उही अविश्वासिलो सरकारी झ्यालमै चियाउन बाध्य बनेको छ । उसले सकीनसकी आफ्नो पीडा कहँदा, सरकार आफैंले मृत्युको पत्र पठाउने अनि सोही पत्र कर्मचारीले बुझ्दा भने हँसीमजाकको विषय बन्छ । यसले हाम्रो राज्यसत्ता कतिसम्म निकम्मा छ भन्ने उदांगो पार्छ ।

जिउँदो मान्छेलाई मरेको भन्दै पत्र आउनु, प्रशासनमा जाँदा बाटोमा कालो बिरालोले बाटो काट्नु र सुँगुरको पाठाको खुट्टा च्यापिनुलाई उसले एउटै शृंखलामा उनेर हेरेको छ । एकपछि अर्को दशाको लस्कर आएको अनुभूतिले उसलाई थप बेचैन बनाएको छ ।

यसै पनि उपल्लो समुदायबाट अपहेलित र पिँधमा रहेको मरिकको सानो परिवार रकम र राजधानीदेखि निकै दूर छ । तिनका आफ्नै सीमित संसार छन् । त्यतिमै खुसी छन् । तिनमा कुनै ठूलो सपना छैन । मात्र केही थान सँगुरको स्याहारसुसार र दैनिकी चलाउने आर्थिक जोहो । गाँसबास र कपास ।

एकाध मिल्ने मित्रहरू छन् मगनी मरिकको । बिटिया, महकलाल, कमलैया पात्रहरूले गरिब बस्तीको मुहार मात्र प्रस्तुत गरेका छैनन्, सकसमा आफ्नो साथीलाई साथ समेत दिएको देखिन्छ । अझ कमलैयाले त एक कदम अघि बढेर गाउँकै चतुर मानिने मेनेजरको योजनालाई समेत विफल पारिदिएको छ । जिउँदो मगनी मरिकलाई मरेकै हालतमा राखेर एकाध महिना भारततिर पठाएर त्यसको सरकारी लाभ आफूले लिने र थप रहस्यको पोल खुल्नुबाट बँच्ने उसको दाउ तुहाइदिएको छ ।

गाउँलेहरू भन्छन्– मेनेजर उसको बुबाजस्तै हरामी छ ! उसलाई जसरी पनि आफ्नो धन्दा चलाउनु छ । आफ्नो रवाफ देखाउनु छ । कोही मरोस् वा बाँचोस् । छु मतलब । त्यसैले त उसले अरू कसैलाई टिक्न दिँदैनन् । उसकाविरुद्ध बोल्यो कि त्यो सकियो भन्ने दृष्टान्त दलित नेता बब्लुरामको रहस्यमय हत्याको घटनाले उजागर गरेको देखिन्छ ।

जसलाई मेनेजरलाई टक्कर दिनसक्ने विकल्पका रुपमा मानिएको थियो ।

मगनी उनीकहाँ सुझाव लिन गएकै दिनको राति अचानक बब्लुको हत्या भएपछि गाउँलेहरू त्रासमा देखिन्छन् । । कतै म समस्या लिएर बब्लुको घर पुगेको मेनेजरले चाल पायो कि ? भनेर मगनी थप चिन्तित बन्छ । किनकि मेनेजरका सुराकीहरू गाउँमा छ्यापछ्याप्ती छन् भन्ने उनीहरूले बुझेका थिए । उसको बर्खिलाप जाँदा कस्तो हालत हुन सक्छ भन्ने यो एउटा सांकेतिक सूचक थियो सायद ।

वैदेशिक विभागका कर्मचारीले सान्त्वना दिँदै भनेको सम्झन्छ, अब ढुक्क भए हुन्छ, तपाईं ज्युँदै हुनुहुन्छ । कागजमा पनि, जीवनमा पनि ।

जसोतसो कमलैयाको कमालले भारत हैन, काठमाण्डु जाने मगनीको मार्ग खुलाइदिएको छ । गाविसका पियनलाई ५०० रुपैयाँ दिएर, मस्तले मदिरा पिलाएर जोगिन्दर मरिकको २१ वर्षे छोरा जिउँदै रहेको प्रमाणपत्र बनाएर ल्याइदिएका छन् । जसको किनारा साक्षीमा कमलैया डोम, बिटिया डोम र महकलाल डोमको औंठाछाप समेत लागेको छ । यी चार भाइको सचेतपूर्ण विचार र संवाद रोचक लाग्छन् ।

मगनीको पहिलो पटकको काठमाण्डु यात्राले छोटो समयमा सर्सर्ती यथास्थानका सिनारियो खुलेको प्रसंगहरू आएका छन् । सहर बजारका व्यस्त र विभेदरहित व्यवहारले कताकता उसको मन लोभ्याएको महसुस हुन्छ । यस्तो लाग्छ, उसलाई पहिलो पटक मानिस हुनुको पूर्ण पहिचान मिलेको छ । बाटोमा चिया पिउँदा होस् या वैदेशिक रोजगार विभागको कन्सुलर शाखामा मान्छेको लाइनमा बस्दा, कतै छुवाछुत र अपमान सहनु परेको छैन । यस्तो परिवेशको कल्पना उनीहरूले सायदै गर्थे ।

मगनीको मस्तिष्कमा बेचैनीका हरफहरू मात्र दौडिएका छैनन्, सचेतनाका संवाहकहरूले समेत प्रशस्त ठाउँ ओगटेको देखिन्छ । जस्तै उसले भनेको छ, ‘म जिउँदो मान्छेलाई मरेको दर्ज गराइदिने सरकारी मान्छे नै हुन् ।’ ‘जीवन हर्न सक्नेसँग जीवन फिर्ता दिनसक्ने तागत पनि त होला ।’

यस्ता विचारहरूको संगोष्ठीले उसलाई एउटा पिछडिएको दलित बस्तीभित्रको झिल्को भन्न सकिन्छ । किनकि आपतमा समेत उसका हरेक कदमहरू सुझबुझपूर्ण नै देखिन्छन् ।

मेनेजरको षडयन्त्रबाट बँच्न अब ऊ पहिले राजधानी जाँदा जस्तो सुँगुरका दुईटा पाठा बेचेर होइन, खोरै रित्तो पारेर निस्कने तयारी गरेको छ । मेनेजरले भनेजस्तो दोजिया रहेकी आफ्नी श्रीमती फुलनियालाई विधवा स्वरुपमा एक्लै घर छाडेर लुधियाना जाने होइन, सँगै लिएर सम्साँझै काठमाण्डुतिर सोझिएको छ । राजमार्गको उबडखाबड बाटोको लामो बसयात्राले श्रीमतीको स्वास्थ्यमा गम्भीर समस्या आएपछि जसोतसो कलंकीमा बसबाट ओर्लेर मनकारीहरूको सहयोगमा वीर अस्पताल पुर्‍याउन सफल भयो । तर माउलाई बचाए पनि पेटभित्रको बच्चालाई हानि पुग्यो । यसले पाठकलाई थप भावुक बनाउँछ ।

वैदेशिक रोजगार विभागको लामो लाइनमा बस्दाखेरि सँगै भेटिएकी मनमाया खड्कासँगको सामान्य संवादले धेरैथोकको संकेत दिन्छ । जसले गर्दा कथाले रोमाञ्चकता पैदा गराउँछ । तर त्यतिबेला २१ वर्ष भएको मगनी मरिकको राहदानीमा २९ वर्षीया मनमायाका श्रीमानको फोटो चिप्काएर साउदी गएको विषयले भने सोचमग्न तुल्याउँछ । मेरो विचारमा देहात र पहाडी समुदायको स्वरुप फरक भएजस्तै उमेरमा समेत लामो दूरी देखिँदा आम पाठकलाई यस्तो कसरी सम्भव भयो होला र भन्ने लाग्नसक्छ ।

हुन त यस्तै कल्पनालोकबाट उब्जिएर कथालोकमा प्रवेश गरेपछि आख्यानले आफ्नो आसन जमाउँदो हो । अत्यधिक देहाती भाषाको प्रयोगले किताब सत्यकथाको पीँधमा पुगेको भान हुन्छ । एउटाको राहदानीको फोटो उप्काएर अर्कैको टास्ने र विदेश पठाउने प्रचलन सन् नब्बेको दशकमा व्यापक थियो । बिस्तारै हस्तलिखितको सट्टामा आधुनिक राहदानी उपलब्ध हुन थालेसँगै यसमा कमी आएको हो । उपकथाहरूको कमी, सटिक संवाद र सुललित भाषाले पुस्तकलाई पठनीय बनाएको छ ।

के आर्यघाटमा बाकसमा राखेको त्यो लास मगनी मरिककै नाममा थियो त ? के त्यसैको आडमा बसेर पछ्यौरा ओढेर रोइरहेकी मनमाया नै थिइन् त ? आखिर, मेनेजरले भनेको मान्छेलाई पासपोर्ट र पैसा दिएपछि बाबुले किन मेनेजरलाई केरकार गरेन ?

बाग्मती किनारको बान्नाछेउमा टुसुक्क बसेर सोचमग्न देखिन्छ मगनी मरिक । वैदेशिक विभागका कर्मचारीले सान्त्वना दिँदै भनेको सम्झन्छ, अब ढुक्क भए हुन्छ, तपाईं ज्युँदै हुनुहुन्छ । कागजमा पनि, जीवनमा पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?